अरुण तेस्रो आयोजनामा पावर हाउसमा कार्यरत मजदुरको मृ’त्यु
संखुवासभा, १६ मंसिर/संखुवासभामा निर्मार्णाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको मृ’त्यु भएको छ ।मृ”’त्यु हुनेमा चिचिला गाउँपालिका-३ सोलाखानीस्थित अडिट ३ मा कार्यरत भारतको मध्य प्रदेशका ४५ वर्षीय मुगेरीलाल सिंह रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले जानकारी दिए ।
बुधबार राति ८ बजे चिचिला-३ सोलाखानीमा रहेको अडिट ३ को सुरुङभित्र काम गर्ने क्रममा माथिबाट खसेको ढुंगाले लागेर सिंह घाइते भएका थिए । उनकाे बुधबार राति उपचारको क्रममा जिल्ला अस्पताल संखुवासभामा मृ’त्यु भएको प्रहरी प्रमुख सुवेदीले बताए । सिंहको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभामा राखिएको छ ।
हालसम्म अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक दर्जन भारतीय र नेपाली मजदुरले ज्यान गुमाइसकेका छन् । घटनाको वास्तविकता पत्ता लगाउन प्रहरी घटनास्थलमा खटिसकेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए । दुर्घटनाका कारणसहितको प्रतिवेदन ल्याउन प्रहरीलाई निर्देशन दिइसकेको खतिवडाले जानकारी दिए । सुरुङभित्र काम गर्न मजदुरलाई निकै जोखिम भए पनि आयोजनाले सुरक्षा सामग्री नदिएको मजदुरको गुनासो छ ।
मुख्यमन्त्रीले विश्वासको मत लिएपछि कर्णाली प्रदेशसभाको बैठक अन्त्य
सुर्खेत, १६ मंसिर/कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिएपछि प्रदेशसभाको बैठक अन्त्य गरिएको छ । मुख्यमन्त्री शाहीले विश्वासको मत लिएपछि कर्णाली प्रदेशसभाको नवौं अधिवेशन अन्त्य भएको हो ।
मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि १४ मंसिरमा आह्वान गरिएको हिउँदे अधिवेशन १५ मंसिर मध्यराति १२ बजेबाट अन्त्य गरिएको छ । मुख्यमन्त्री शाहीले १४ गते संसदमा विश्वासको मत मागेका थिए । उनले १५ गते विश्वासको मत लिएका थिए । हिउँदे अधिवेशनका दुईवटा अधिवेशनमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) सहभागी भएन ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।


