प्रदेश १ मा आज ३३ जनामा कोरोना संक्रमण,२ को मृ त्यु
विराटनगर, १६ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३३ जनामा कोरोना संक्रमण भएको छ । ३३२ जनाको पीसीआर परीक्षण गर्दा ३० र २२९ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १६, झापामा ९, सुनसरीमा ४ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा १४, उर्लाबारीमा २, झापाको मेचीनगरमा ७, दमक र शिवसताक्षी १–१, सुनसरीको धरानमा २, भोक्राहानरसिंह र स्थानीय तह नखुलेका १–१ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २४ महिला र ३८ पूरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा एक महिला र एक पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कांग्रेस लुम्बिनी प्रदेशको अधिवेशन सुरु
बुटवल, १६ मंसिर/नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको अधिवेशन बिहीबारदेखि रुपन्देहीको भैरहवामा सुरु भएको छ । अधिवेशनको नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाणले उद्घाटन गरेका छन् ।उनले मुलुकको नेतृत्व कांग्रेस बाहेक अरू कसैले गर्न नसक्ने बताए । उनले लोकतन्त्रको रक्षाका लागि पनि कांग्रेसको नेतृत्व मुलुकका लागि अपरिहार्य रहेको भन्दै कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने दाबी गरे ।
कांग्रेसले जस्तोसुकै कठिन परिस्थितिका बाबजुद पनि मुलुक र नागरिकप्रतिको आफ्नो दायित्व निर्वाह गरेको भन्दै गृहमन्त्री खाणले लोकतान्त्रिक मूल्य र मान्यताको विरुद्धमा कांग्रेसले कहिल्यै घुँडा नटेक्ने पनि बताए । उनले जनताको इच्छा र आकांक्षा पूरा गर्ने दायित्व सरकारको रहेको भन्दै त्यो दायित्व पूरा गरेरै छाड्ने बताए । गृहमन्त्री खाणले मुलुकको शान्ति सुव्यवस्था कायम गर्ने कुरामा सरकारले कुनै कसर बाँकी नराखेको पनि बताए ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पुराना पुस्ताबाट पार्टी नचल्ने बताए । पुराना नेता म्याद सकिएको औषधी जस्तै भएकाले अव पुरानाबाट पार्टी चल्न नसक्ने उनको भनाई छ । नेता भण्डारीले देश बनाउन अव नयाँ पुस्ताले नेतृत्व गर्नुपर्ने बेला आएको बताए ।
‘पुरानाले लामो समय नेतृत्व गरे, अबको विज्ञान र प्रविधिको युगमा पुरानो पुस्ताले नेतृत्व गर्न सक्दैन, मुलुकलाई अगाडि बढाउन नयाँ नेतृत्वको आवश्यकता छ,’ उनले भने । उनले गाउँदेखि केन्द्रसम्म कांग्रेसले नेतृत्व बदल्न जरुरी रहेको पनि बताए ।
कांग्रेसको लुम्बिनी प्रदेश सभापतिका लागि शुक्रबार मनोनयन दर्ता र शनिबार मतदान हुने छ । नयाँ नेतृत्वका लागि दुई पक्षबीच चुनावी भिडन्त हुने भएको छ । सभापतिका लागि संस्थापन र संस्थापनइतर समूहबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो । लुम्बिनी प्रदेशका जिल्ला अधिवेशनमा भने पौडेल पक्षले अधिकांश सभापति जितेको छ ।
नवलपरासी पश्चिम, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, दाङ, प्युठान, रोल्पा र रुकुम पूर्वमा पौडेल पक्षले सभापति जितेको थियो । रुपन्देही र बर्दियामा भने संस्थापन पक्षले सभापति जितेको थियो । बाँकेमा अझै अधिवेशन भएको छैन ।
कांग्रेसको लुम्बिनी प्रदेश सभापतिका लागि प्रतिनिधिसभाका सांसद समेत रहेका भरतकुमार शाह र संविधानसभा सदस्य अमर पुनले मनोनयन दर्ता गर्ने तयारी गरेका छन् । संसद्को सार्वजनिक लेखा समितिका सभापति रहेका शाह देउवा पक्षबाट र पुन रामचन्द्र पौडेल पक्षबाट सभापतिमा उम्मेदवारी दिन लागेका हुन् ।
प्रदेशको महामन्त्री पदमा भने भुवन श्रेष्ठ र विष्णु मुस्कानले उम्मेदवारी दिने तयारी गरेका छन् । श्रेष्ठ गुल्मी कांग्रेसका निवर्तमान सभापति हुन् भने मुस्कान अर्घाखाँचीका निवर्तमान सभापति हुन् ।


