भारतमा ओमिक्रोनका २१ संक्रमित भेटिए
नयाँ दिल्ल,२० मङ्सिर। भारतमा ओमिक्रोन भाइरसका कम्तीमा पनि २१ जना नयाँ संक्रमित देखिएका छन् । हालै अफ्रिकामा देखिएर विश्वका अरु देशसम्म पुगेको भनिएको कोरोना भाइरसको यो भेरियन्ट भारतमा केही दिनमात्र अघि देखिएको थियो ।यहाँ आइतबार बिहान सम्म पाँच जनामात्र संक्रमित रहेकामा त्यसमा बृद्धि भएर साँझसम्ममा २१ जना पुगेका हुन् ।
यीमध्ये जयपुरबत्राट नौ जना संक्रमित भेटिएको बताइएको छ । त्यसैगरी सात जना महाराष्ट्रबाट भेटिएका पनि बताइएको छ ।अरु संक्रमितहरु नयाँ दिल्लीमा नै भेटिएका छन् । आइतबार एकै दिन १७ जना संक्रमित भेटिएपछि भारतमा ओमिक्रोनबाट सतर्क रहन सरकारले देशव्यापी रुपमा सूचना जारी गरेको बताइएको छ । नयाँ दिल्लीबाहेक अरु थप २ जना कर्नाटकबाट पनि भेटिएका बताइएको छ । पहिलो संक्रमण केही दिनमात्र अघि दक्षिण अफ्रिकाबाट आएकामा देखिएको थियो ।
म्यानमारकी नेतृ सुकीलाई चार वर्षे जेल सजायको फैसला
याङ्गुन,२० मङ्सिर । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ्साङ् सुकीलाई म्यानमारको सैनिक सरकारले चार वर्ष जेल सजाय गराइने भएको छ । सैनिक सरकारको आदेश अवज्ञा गरेको, आन्दोलन र हिंसा भड्काउन मुख्य भूमिका खेलेको र कोरोनाभाइरस विरुद्धको नियमहरु उलंघन गरेको आरोपमा उहाँलाई चार वर्षे जेल सजाय गर्न लागिएको हो। सुकीसँगै पूर्व राष्ट्रपति विन मिन्तलाई पनि चार वर्षे जेल सजाय तोकिएको हो । दुवै जनालाई एउटै आरोप लगाइएको छ । नोबेल पुरस्कार विजेता ७६ बर्षिय नेतृ सुकीलाई म्यानमारको सैनिकले सत्ता कब्जा गरेसँगै आफ्नै निवासमा नजरबन्दमा राखेको छ । उहाँलाई कारागार चलान गर्नु पर्ने फैसला सोमबार गरिएको भएपनि नजरबन्दबाट कारागार कहिले लैजान्छ भन्ने यकिन भने नभएको समाचारमा जनाइएको छ ।
कतिपयले नजरबन्दबाट कारागार लैजानकै लागि सैनिक सरकारले अनावश्यक मुद्धा लगाएर दोषी देखाएको आरोप पनि लगाएका छन् । नेतृ सुकीलाई यो बाहेक अर्थिक अनियमितता गरेको, शक्ति र श्रोत साधनको दुरुपयोग गरेको लगायतका दर्जनौ मुद्धा सैनिक सरकारले लगाएको छ । ती मुद्धाहरुमा दोषी ठहर भएमा उहाँलाई आजिवन जेल सजाय हुनेछ । ती मुद्धाहरुमा अहिले सुनुवाई भइरहेको छ । तर सुकी र उहाँका समर्थकहरुले भने राजनीतिक पुर्वाग्रहका आधारमा सरकारले झुटा आरोप र मुद्धाहरु लगाएको दाबी गरेका छन् । निर्वाचित सरकार र संसदलाई समेत विघटन गरिएको घोषणा गर्दै सैनिक नेतृत्वले गत फेब्रुअरी १ मा सत्ता हातमा लिएको हो ।
सैनिक नेतृत्वले सत्ता कब्जा गरेपछि म्यानमारमा लामो समय आन्दोलन भएको थियो । आन्दोलनका क्रममा १३ सयभन्दा बढीको मृत्यु भएको थियो भने अरु कैयौ घाइते भएका थिए । त्यसैगरी आन्दोलनमा सहभागी भएका मध्ये हजारौँलाई प्रहरीले गिरफ्तार गरेको छ ।
तत्कालिन नवगठित संसदको निर्वाचनमा धाँधली भएको भन्दै असन्तुष्ट गरेको सेनाले फेरि निर्वाचन गराउने र निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने दावी गरेको छ । तर अहिलेसम्म निर्वाचनका लागि ठोस कार्य भएको देखिएको छैन भने निर्वाचन हुने वातावरण पनि बन्न सकेको छैन । सैनिकले निर्वाचित सरकार र संसदलाई विघटन गरी आफू खुशी सत्ता हातमा लिएपछि विश्वभरीबाट विरोध भएको छ भने कतिपयले सहकार्य र सहयोग पनि रोकेका छन् ।


