बेलायतमा मङ्गलबार ओमिक्रोनका १०० भन्दा बढी सङ्क्रमित
लन्डन,२२ मङ्सिर ।बेलायतमा मङ्गलबार कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका १०० भन्दा बढी सङ्क्रमित भेटिएको बताइएको छ ।यहाँका स्वास्थ्य अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार यो भाइरसका १०० जना भन्दा बढी सङ्क्रमित बेलायतमा देखिएका छन् ।बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले यस विषयमा मङ्गलबार यहाँको मन्त्रिपरिषदको बैठकमा जानकारी गराउनुभएको थियो ।साथै प्रधानमन्त्री जोन्सनले यो समेत गरी बेलायतमा ओमिक्रोनका ४३७ जना सङ्क्रमित भेटिएका जानकारी पनि दिनुभएको थियो ।
उहाँले बेलायतका स्वास्थ्य अधिकारीहरुले अनुसन्धानलाई जारी राखेका र अहिलेको प्रारम्भिक तथ्यांकले यो भाइरस यस अघिको डेल्टा भाइरसभन्दा निकै रफ्तारमा फैलिने खालको रहेको आफूलाई जानकारी गराएका बताउनुभएको थियो । हालै अफ्रिकामा देखिएर विश्वका अरु देशसम्म पुगेको भनिएको कोरोना भाइरसको यो भेरियन्ट बेलायतमा पनि केही दिनमात्र अघि देखिएको थियो। प्रधानमन्त्री जोन्सनले देशव्यापी रुपमा नागरिकहरुलाई अघिल्लो डेल्टा भन्दा यो भा,इरस निकै ख,तरनाक रहेको भन्दै सतर्कता अपनाउन आग्रह गर्नुभएको थियो ।
कांग्रेस सहमहामन्त्रीमा सीता गुरुङको उम्मेद्वारी घोषणा
काठमाडौँ, २२ मङ्सिर ।नेपाली कांग्रेस नेत्री एवं पूर्वराज्यमन्त्री सीता गुरुङले पार्टीको शुक्रबारदेखि सुरु हुने १४औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।उहाँले आदिवासी÷जनजाति क्लष्टरतर्फको सहमहामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो । उहाँ हाल कांग्रेसको केन्द्रीय आदिवासी जनजाति विभागको प्रमुखसमेत हुनुहुन्छ । कांग्रेस विधानमा समावेशीका विभिन्न क्लष्टरसहितका आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ ।पार्टीको पदाधिकारीमा महिलाको सङ्ख्या बढ्नुपर्ने बताउँदै उहाँले आफूले लामो समयदेखि पार्टीमा काम गर्दै आएको भूमिकाका आधारमा उम्मेद्वारी घोषणा गरेको बताउनुभयो ।
तेह्रथुमको आठराईमा जन्मिनुभएकी नेत्री गुरुङसँग नेविसङ्घको जिल्ला तहको नेतृत्वमा रहेर काम गरेको अनुभव छ । उहाँले नेपाल महिला सङ्घको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य र केन्द्रीय महासचिव भएर काम गर्नुभएको थियो । पार्टीको १२औँ र १३आँै महाधिवेशन पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित उहाँ २०७४ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ उम्मेद्वार हुनुहुन्थ्यो । दुवै संविधानसभामा सदस्य रहेकी नेत्री गुरुङ २०७४ सालको नेका नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री हुनुभएको थियो ।


