जहाँ सामुदायिक र निजी विद्यालय एकापसमा गाभिए

पाँचथर,सामुदायिक र निजी विद्यालय एकापसमा गाभिए, दुवै विद्यालयका शिक्षक र विद्यार्थी एकै विद्यालयमा पढाउन र पढ्न गए भन्दा विश्वास नलाग्न सक्छ। तर, पाँचथरको मिक्लाजुङ गाउँपालिकामा नजिक–नजिकै रहेको सामुदायिक र निजी विद्यालय एकापसमा गाभिएका छन् । दुई विद्यालय एकै भएपछि शैक्षिक गुणस्तरमा सुधार आउनुका साथै शिक्षक, विद्यार्थी र अभिभावकहरुमा उत्साह थपिएको छ।

मिक्लाजुङ गाउँपालिका–६ कन्याटारमा विगतमा दुईवटा विद्यालय थिए । ज्ञानज्योती आधारभूत विद्यालय र बालज्योती इंग्लिस बोर्डिङ स्कूल । करीब १२० घर परिवारको बसोबास रहेको यो गाउँमा एक सामुदायिक र एक निजी विद्यालय सञ्चालनमा हुँदा दुवैतर्फ विद्यार्थी संख्या निकै न्यून भयो । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरको प्रश्न उठ्थ्यो, निजीमा विद्यार्थी संख्या र नियमित सञ्चालनको । अप्ठ्यारोमा परेपछि अन्ततः दुवै विद्यालय एकै निष्कर्षमा पुगे –निजी विद्यालयलाई सरकारीमा गाभ्ने ।

‘नजिकै रहेको बोर्डिङमा पनि कम विद्यार्थी, हाम्रोमा पनि कम नै । दुवै संस्था मास्न नहुने जस्तो लागेको थियो,’ ज्ञानज्योती आधारभूत विद्यालयका प्रधानाध्यापक उमेशकुमार राईले भने, ‘तर, बाध्यात्मक अवस्था आएपछि सरकारी विद्यालयमै केही गरेर जाऔँ भनेर सल्लाह गर्‍यौँ ।’ नभन्दै निजी विद्यालयका विद्यार्थी सामुदायिक विद्यालय ज्ञानज्योतीमा अध्ययन गर्न थाले । निजी विद्यालयका एक शिक्षक पनि निजी स्रोतबाट तलब खाने गरी सामुदायिक विद्यालयको शिक्षक बने ।

तर, ज्ञानज्योती आधारभूत विद्यालयका शिक्षक अब विद्यालयको नियमित सञ्चालनमा मात्रै सिमित भएनन् । निजी विद्यालय बन्द भएपनि अभिभावकहरुमा रहेको अंग्रेजी माध्यमप्रतिको मोह उनीहरुले बुझेका थिए । यसपछि विद्यालयसँग सम्वद्ध सबैजना अंग्रेजी माध्यमबाट पठन–पाठनको व्यवस्था गर्नतर्फ लागे । ‘सुरुमा देश विदेशमा रहेका अभिभावकहरु सल्लाह गर्‍यौँ । अंग्रेजी माध्यमबाट अगाडि जानुपर्छ भन्ने सबैको सल्लाह प्राप्त भयो,’ प्रधानाध्यापक राई सम्झन्छन्, ‘अंग्रेजी माध्यमबाट पठन–पाठनको प्रवन्ध गर्न अक्षयकोष बनाउने निष्कर्षमा पुग्यौँ ।’

शिक्षकहरु, विद्यालय व्यवस्थापन समिति र अभिभावकहरु प्रत्येक अभिभावकका घरमा पुगे र अंग्रेजी माध्यममा पठन–पाठनका लागि अक्षयकोष स्थापना गर्ने विषय जानकारी गराउन थाले । सबै अभिभावकहरुले अक्षयकोषमा सक्दो रकम जम्मा गरे । विशेषतः दक्षिण कोरिया र बेलायत पुगेका विद्यालय सेवा क्षेत्रका मानिसहरुले अक्षयकोषमा रकम जम्मा गर्न थाले । ‘अहिले अक्षयकोषमा रु. १८ लाख रकम पुगेको छ,’ प्रधानाध्यापक राईले भने, ‘अक्षयकोषको सुरुआत मात्रै गरेका छौँ । व्यवस्थित बनाउन बाँकी नै छ ।’ विद्यालयले अक्षयकोषको रकमको ब्याँजले अहिले तीन जना शिक्षकलाई निजी स्रोतमा राखी तलब खुवाइरहेको छ । जसकारण यस विद्यालयमा अहिले कक्षा ५ सम्म अंग्रेजी माध्यममा पठन–पाठन सम्भव भएको छ ।

विद्यालयका शिक्षक जितकुमार थापा अभिभावकहरुमा रहेको अंग्रेजीप्रतिको मोहलाई बुझेर आफूहरु अगाडि बढेको बताउँछन् । ‘सबै अभिभावक अंग्रेजीप्रति लालायीत रहेकाले अंग्रेजी माध्यममा पढाउन सकियो भने अवश्य सुधार आउला भन्ने अठोटले काम थालेका थियौँ,’ थापाले भने। ७३ जना विद्यार्थी भर्ना भएको यो विद्यालयमा दैनिक ६५ जनाभन्दा बढी विद्यार्थी हाजिर हुने गरेका छन् । शिक्षक, पूर्वप्राथमिक तहका सहयोगी कार्यकर्ता र विद्यालय सहयोगी गरी अहिले विद्यालयमा नौ जना कार्यरत छन् । विद्यालयले कक्षा ८ सम्म नै अंग्रेजी माध्यमबाट पठन–पाठन गराउने तयारीस्वरुप कामहरु अगाडि बढाइरहेको प्रधानाध्यापक राईको भनाइ छ ।

तर, बेमौसमी वर्षापछि पहिरो झर्दा यो विद्यालयको एउटा दुई कोठे भवन क्षतिग्रस्त बनेको छ । उक्त भवनमा हुने गरेका कक्षाहरुलाई अहिले अन्य कक्षाकोठालाई बारेर पढ्ने व्यवस्था मिलाइएको छ । काठ र टिनले कक्षा छुट्ट्याएर पढाउँदा एकातिरको अर्कोतिर सुनिदा पठन–पाठन प्रभावकारी हुन नसकेको शिक्षकहरुको गुनासो छ । ‘हामीलाई व्यवस्थित भवनको आवश्यकता खड्किएको छ । सरकारी तथा दातृ निकायबाट चाँडो सुनुवाइ भए हुन्थ्यो’, शिक्षक थापाले भने ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।