महाधिवेशनको अवसरमा रक्तदान
काठमाडौँ, २४ मङ्सिर। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको अवसरमा महाधिवेशनस्थल भृकुटीमण्डपमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ । नेविसङ्घ के यु मेडिकल कमिटीको समन्वयमा नेविसङ्घ क्षेत्र नं ५ धनगढी कैलालीले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । ‘रक्तदान जीवन दान’ भएकाले महाधिवेशनमा सहभागीले चाहेको अवस्थामा रक्तदान गर्न सकून् र कसैलाई तत्काल रगतको आवश्यकता भएमा त्यसको परिपूर्ति गर्न सकियोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम सञ्चालन गरिएको नेविसङ्घ क्षेत्र नं ५ धनगढीका अध्यक्ष गजेन्द्र शाहीले बताउनुभयो । महाधिवेशन उद्घाटनको अवसरमा आज एक दिनका लागि भनिए पनि रक्तदान गर्न इच्छुकको सङ्ख्या बढ्न गएमा भोलि–पर्सि पनि कार्यक्रम सञ्चालन गर्न सकिने उहाँँको भनाइ छ । यसैगरी महाधिवेशनस्थलमा निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको छ । सांसद जिपछिरिङ लामाको सक्रियतामा महाधिवेशनमा आएका प्रतिनिधिका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको बताइएको छ ।
शिविरमा सामान्य ज्वरो आएका, टाउको दुखेकालाई निःशुल्क औषधिको पनि व्यवस्था गरिएको सांसद लामाले जानकारी दिनुभयो । शिविरमा डा राजेन्द्र श्रेष्ठ नेतृत्वको टोली खटाइएको छ ।
सुविधासम्पन्न होटल सञ्चालनमा
गोरखा, २४, मङ्सिर ।गोरखामा करिब रु ५० करोडको लागतमा सुविधासम्पन्न होटल सञ्चालनमा आएको छ । सदरमुकामस्थित गोरखा नगरपालिका–६, अर्घलेमा सुविधा सम्पन्न होटल गोरखा गार्डेन सञ्चालनमा ल्याइएको हो । तीनतारे स्तरको सुविधा भएको उक्त होटलमा गोरखा र चितवनका व्यवसायीको संयुक्त लगानी रहेको होटल सञ्चालक समितिका अध्यक्ष ऋषिराम पौडेलले जानकारी दिनुभयो ।कूल १५ रोपनी क्षेत्रफलमा फैलिएको होटल गोरखा गार्डेन जिल्लाकै पहिलो सुविधासम्पन्न र स्तरीय होटल हो । होटलमा गोष्ठी तथा कार्यक्रमहरु आयोजना गर्नका लागि सुविधासम्पन्न चारवटा हलसमेत निर्माण गरिएको उहाँले बताउनुभयो । “होटलभित्र निर्माण गरिएका सेमिनार हलको नाम गोरखकाली हल, मनकामना हल, लिगलिग हल र गोरखानाथ हल नाम दिइएको छ”, अध्यक्ष पौडेलले भन्नुभयो, “जिल्लाको पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागिसमेत टेवा पु¥याउने उद्देश्यले हलको नामसमेत पर्यटकीयस्थलका नामबाट नामकरण गरिएको हो ।”
त्यस्तै, होटलमा सुविधासम्म ४६ स्तरीय कोठाहरु निर्माण गरिएको अध्यक्ष पौडेलले बताउनुभयो । “हामीले ग्राहकको सुविधालाई ध्यानमा राखेर दुईवटा स्विट रुम, १० वटा सुपर डिलक्स, ३४ वटा डिलक्स रुम सञ्चालनमा ल्याएका छौँ,” उहाँले भन्नुभयो, “ग्राहककै सुविधाका लागि होटलको छैटौँ तलामा बच्चा र वयस्कका लागि सुविधासम्पन्न पौडी पोखरीसमेत निर्माण गरिएको छ ।”होटलमा बस्न आउनेहरुले स्वादिष्ट तथा स्थानीय उत्पादन भएका अग्र्यानिक तथा उच्च गुणस्तर एवं स्वस्थ्यकर खाना खान पाउने व्यवस्था मिलाइएको अध्यक्ष पौडेलको भनाइ छ । जिल्लाको आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी होटल निर्माण गरिएको सञ्चालक समितिका सदस्य केशव देवकोटाले जानकारी दिनुभयो । अहिले आंशिक रुपमा सञ्चालनमा आएको र यही पुस महिनाभित्रमा होटल पूर्ण सञ्चालनमा ल्याउने तयारी भइरहेको उहाँको भनाइ छ ।होटलमा एकै पटकमा ६०० जनासम्म अटाउने क्षमताको हल पनि रहेको उहाँको भनाइ छ ।


