नक्कली पीसीआर रिपोर्ट बनाउने एक व्यक्तिलाई विभिन्न उपकरणसहित प्रहरीले प,क्राउ
झापा, १ पुस । मेचीनगर नगरपालिका–६ बाट नक्कली पीसीआर रिपोर्ट बनाउने एक व्यक्तिलाई विभिन्न उपकरणसहित प्रहरीले प,क्राउ गरेको छ । पक्राउपर्नेमा मेचीनगर–६ काँकरभिट्टाका रिङ्जी टुर एण्ड ट्राभल्सका सञ्चालक पेमा तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले बताउनुभयो । प्रहरीले कार्यालयबाट नक्कली रिपोर्ट बनाउने दुई थान ल्यापटप, एक थान प्रिन्टरसमेत बरामद गरेको छ । सञ्चालक तामाङले प्रयोग गरेको ल्यापटपमा इमेल जाँच गर्दा मेची प्रादेशिक अस्पताल भद्रपुर, कनकाई पिसिआर ल्याब, विएण्डसी अस्पताल, नेसनल पब्लिक हेल्थ ल्याब टेकु काठमाडौँलगायतका अफिसियल लेटर प्याडलाई डिजिटल स्क्यान गरी पीसीआर रिपोर्टमा कोरोना नेगेटिभ लेखेर राखिएको फायलसमेत फेला परेको प्रवक्ता पाठकले बताउनुभयो ।
त्यसैगरी अनुसन्धानका क्रममा तामाङले नेपालको निशाना छाप एवं विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय (नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक राजश्व कार्यालय भद्रपुरलगायतको छापलाई डिजिटल स्क्यान गरी सम्पादन गरेर राखिएको पाइएको उहाँको भनाइ छ । सो डकुमेन्ट अस्पतालले तयार नगरेको र रङ्जी टुर एण्ड ट्राभल्सले कीर्ते गरेको खुल्ल आएकाले उनलाई विशेष सूचनाका आधारमा पक्राउ गरी जिल्ला अदालत झापाबाट बुधबार सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखेर अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । उनले सो रिपोर्ट भारतलगायत तेस्रो मुलुकका विभिन्न स्थानमा कामका लागि जाने नेपाली, लामो समय नेपाल रहेर घर फर्किने भारतीयसँग रु एक हजार ५०० देखि लिएर पाँच हजारसम्म लिने गरेको पाइएको छ।
नदीमा एक सय गोही छोड्ने तयारी
चितवन, १ पुस ।चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक सय घडियाल गोही नदीमा छोड्ने तयारी गरिएको छ । केही दिनअघि १० गोही राप्ती नदीमा छाडिसकिएको छ । गोही प्रजनन केन्द्रका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार यस आर्थिक वर्षमा गोही नदीमा छाड्ने तयारी गरिएको छ । प्रजनन केन्द्रमा हाल ८५० गोही छन् । हुर्किएका चार÷पाँच वर्षका गोही छाडिने छ । गतवर्ष नदीमा गोही छाडिएन । गोहीको सङ्ख्या बढ्दै जाँदा खर्चिलो भएकाले यसवर्ष १०० हाराहारी गोही छोड्ने तयारी गरिएको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार राप्ती, नारायणी र रिउको तल्लो भागमा गोही छोड्ने विषयमा छलफल भइरहेको छ । पछिल्ला वर्षमा राप्ती नदीमा मात्र गोही छाडिदै आएको छ । हालसम्म विभिन्न नदीमा एक हजार ५८५ गोही छाडिसकिएको छ । राप्ती, नारायणी, कालीगण्डकी, सप्तकोशी, कमला र बबई नदीमा गोही छोड्ने गरिन्छ । सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । ठूलो सङ्ख्यामा हुर्काएका छाडिने भए पनि नदीमा सङ्ख्या विस्तार भने हुनसकेको छैन ।
नेपालका नदीमा छाडिएका गोही पानीसँग भारत पुग्ने गरेका छन् । गण्डक ब्यारेजका कारण गोही भारततर्फ जान सक्छन् भने फर्किन सक्दैनन् । जसका कारण नेपालमा हुर्काएर नदीमा छाडेका गोही भारत पुग्ने गरेका हुन् । नदी प्रदूषण बन्दै जाँदा पनि सङ्कटापन्न अवस्थामा रहेको घडियाल संरक्षणमा चुनौती थपिँदै गएको छ । हरेक वर्ष गोही भएका नदी किनारबाट अण्डा सङ्कलन गरी प्रजनन केन्द्रमा कोरलेर हुर्काउने गरिन्छ । हुर्किएका ती र प्रजनन केन्द्रमा पारेका अण्डाबाट कोरलेका गोही नदीमा छाड्ने गरिन्छ ।


