आज कहाँ कहाँ वर्षा र हिमपातकाे सम्भावना ?
काठमाडौं, ३ पुस/हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । शनिबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आइतबार पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । राति प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
फेरि तीन डिग्रीमा झर्यो काठमाडौंको तापक्रम, जुम्लामा माइनस ६ डिग्री
काठमाडौं, ३ पुस/काठमाडौं उपत्यकाको तापक्रम फेरि तीन डिग्रीसेल्सियसमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार ३.४ डिग्री मापन भएको न्यूनतम तापक्रम शनिबार बिहान तीन डिग्रीमा झरेको हो ।
यो वर्ष सबैभन्दा कम तापक्रम बिहीबार ३ डिग्री मापन भएको थियो । शुक्रबार अधिकतम तापक्रम १९ डिग्री थियो, आजको अधिकत तापक्रम दिउँसो मात्र थाहा हुन्छ । मौसमविदहरुका अनुसार न्यूनतम र अधितम दुवै तापक्रम घट्न थालेपछि रातिसँगै दिउँसो पनि चिसो बढ्न थालेको छ ।
नेपालमा सबैभन्दा बढी चिसो जुम्लामा रहेको छ । त्यहाँ बिहान न्यूनतम तापक्रम माइनस ६ डिग्री पुगेको छ । शुक्रबार जुम्लाको तापक्रम माइनस ५.८ डिग्री थियो ।उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातका कारण पनि तापक्रम घटिरहेको मौसमविद्ले बताएका छन् ।


