प्रेस चौतारी मोरङको अधिवेशन पुस २९ गते हुने
विराटनगर, ३ पुस । प्रेस चौतारी मोरङको ८ औं जिल्ला अधिवेशन आगामी पुस २९ गते हुने भएको छ । आज विराटनगरमा बसेको जिल्ला कार्यसमितिको बैठकले पुस २९ गते विराटनगरमा अधिवेशन गर्ने निर्णय गरेको हो । सम्मेलन सम्पन्न गर्नका लागि संयोजक सुदीप कोइरालाको अध्यक्षतामा ३५ सदस्यीय आयोजक कमिटि गठन गरिएको छ ।
बैठकले आगामी पुस १५ गते सम्म सदस्यता नविकरण गरि सक्ने निर्णय गरेको संयोजक कोइरालाले जानकारी दिनुभयो । यस्तै जिल्ला अधिवेशनका दिन वितरण गर्ने गरि जनार्दन मैनाली पत्रकारिता पुरस्कारका लागि सल्लाहकार महेन्द्र विष्टको संयोजकत्वमा छनौट समिति पनि निर्माण गरिएको छ । प्रेस चौतारी नेपालले राष्ट्रिय अधिवेशनका लागि जिल्ला तथा प्रदेश कमिटीको अधिवेशन २ महिना भित्र सम्पन्न गर्न मंसिर २० गते सर्कुलर जारी गरेको थियो ।
वैदेसिक रोजगारबाट फर्किएर गाउँमा स्वरोजगार बनेकालाई सम्मान
खोटाङ, ३ पुस /वैदेसिक रोजगारबाट फर्किएर गाउँमै स्वरोजगार बनेका खोटाङका पाँच जनालाई सम्मान गरिएको छ । विभिन्न देशमा गरेको काम र सिकेको सीपलाई गाउँमा उपयोग गर्दै स्वरोजगार बनेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका दुर्गाबहादुर राई, कासकुमार राई, भोजकुमार श्रेष्ठ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका रोशन राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका दिपेन्द्र उदास/दिलीप शाक्यलाई सम्मान गरिएको हो ।
अन्तर्राष्ट्रिय आप्रवासी दिवस २०२१ को अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उनीहरूलाई शनिबार जनही १५ हजार रुपैयाँका साथमा ५-५ हजारको ड्रिल र ग्रेन्डर प्रदान गरेको हो । उनीहरूलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाल र उपमेयर वीणादेवी राईले चेक तथा सम्मान–पत्र हस्तान्तरण गरेका हुन् ।
वैदेसिक रोजगारको क्रममा आर्जन गरेको सिपलाई स्वदेश फर्किएर निरन्तरता दिँदै स्वरोजगार बनेर उदाहरणीय काम गरेकाेमा प्रोत्साहन स्वरुप सम्मान गरिएको वाल सेजा समाज नेपाल अन्तर्गतको सुरक्षित आप्रवासन परियोजना (सामी)का कार्यक्रम संयोजक सन्तोष राईले बताए ।
दुवई र कतारमा आठ वर्ष बसेर फर्किएका दुर्गाबहादुरले इलेक्ट्रिसयन र प्लम्विङको काम गरिरहेका छन् । यस्तै, मलेसियामा तीन वर्ष र साउदी अरबमा १२ वर्ष विताएका रोशनले रोशन ग्रिल उद्योग सञ्चालन गरीरहेका छन् । मलेसियाबाट फर्किएका कासकुमारले प्लम्बिङ र मेसनको काम गर्दैआएका छन् ।
मलेशियाबाट फर्किएका दिपेन्द्र/दिलीपले गाउँमा बंगुर फर्म सञ्चालन गरिरहेका छन् । कतार र साउदीमा पाँच वर्ष बिताएका भोजकुमार गाउँमा इलेक्ट्रिसियन र प्लम्बिङको काम गर्दै स्वरोजगार बनेका छन् ।


