किरातहरुको महान चाड उधौली तथा नेवार समुदायको यःमरि पुन्हिको अवसरमा मुख्यमन्त्री राईले यसरी दिए शुभकामना

विराटनगर । किरातहरुको महान चाड उधौली तथा नेवार समुदायको यःमरि पुन्हिको अवसरमा प्रदेश १ मुख्यमन्त्री राजेन्द्र कुमार राईले शुभकामना दिएका छन् ।

शुभकामना सन्देशमा भनिएको छ – हरेक वर्षको मार्ग शुक्ल पूर्णिमाका दिन मनाइने किराँतहरूको महान पर्व उधौली र नेवारहरूको महत्वपूर्ण पर्व यःमरि पुन्हि यो वर्ष आज २०७८ पौष ४ गते आइतबार पर्न गएकाले यी दुवै पर्वहरूको सुखद अवसरमा प्रदेश नं. १ सहित देश, विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । साथै उहाँहरू सबैको सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दछु ।

किराँत मान्यताअनुसार मार्ग शुक्ल पूर्णिमाको दिनदेखि हिउँद(जाडो) शुरु हुन्छ र यसै दिनदेखि न्यानोको खोजीमा पशुपन्छी, विभिन्न जीवजन्तु लेकबाट बेसीतिर उँधो झर्ने गर्छन् । त्यसै भएकाले यस दिन मनाइने पर्व(साकेला)लाई उधौली भनिएको हो ।

उधौली पर्व अन्नबाली भित्र्याएपछि अथवा अन्नबाली भित्र्याएको खुशीयालीमा मनाइन्छ । यस पर्वमा मूलतः प्रकृति, भूमि, पितृहरू आदिको पूजा गरिन्छ । त्यसैगरी यो पर्वमा आफ्नो मौलिक भेषभूषा लगाउने, ढोल, झ्याम्टा बजाएर साकेला(चण्डी) गीत गाउने, नाच्ने गरिन्छ ।

नेवारहरूले मनाउने यःमरि पुन्हि पर्वका दिन चामलको पिठोभित्र चाकु, तिल, खुवा आदि राखेर विशेष प्रकारको रोटी बनाएर खाने गरिन्छ । यस्तो रोटीलाई नेवारी भाषामा ‘यःमरि’ भनिन्छ । यही यःमरि खाएर मनाइने पर्व भएकाले यःमरि पुन्हि भनिएको हो भन्ने भनाइ पनि छ ।
यःमरि पर्वका दिन अन्न भण्डारमा यःमरि, लक्ष्मी, गणेश, कुबेर आदिको प्रतीक÷प्रतिमा बनाई चढाउने पनि गरिन्छ । यसरी अन्नभण्डारमा चढाएको यःमरि चार दिनपछि निकालेर बाँडेर खाने गरिन्छ । यःमरि पुन्हिका दिन घरघरमा गएर यःमरि गीत गाउँदै यःमरि माग्ने चलन पनि छ ।

नेपाल बहुभाषिक, बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक मुलुक हो । यो कुरालाई संविधानले पनि स्वीकारेको छ । अथवा, संविधानमार्फत सबैले स्वीकारेको छ । यो विविधिता हाम्रो विशिष्टता हो र हाम्रो सम्पत्ति पनि हो । विविधताबीचको एकता हाम्रो सुन्दरता र हाम्रो शक्ति पनि हो । त्यसैले एक अर्काकोे भाषा, धर्म, संस्कृति, पर्व आदिलाई सम्मान र स्वीकार गर्दै राष्ट्रिय एकतालाई सुदृढ गर्नु सबै नेपालीको कर्तव्य हो, दायित्व हो ।

उधौली र यःमरि पुन्हि जस्ता पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस्, यी पर्वहरूले सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने कामना र अपेक्षासहति फेरि पनि सन्सारभरि फैलिएर रहेका तमाम नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई उधौली र यःमरि पुन्हिका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।