गुरुङ भाषाको चलचित्र ‘फिच्यो’ को प्रदर्शन
काठमाडौ । गुरुङ भाषाको चलचित्र ‘फिच्यो’ को विशेष प्रर्दशनी गरिएको छ । रेड ओशिय ईन्टरटेन्टमेन्टको प्रस्तुति विकाश घले गुरुङद्वारा निर्देशीत ‘फिच्यो’ को विशेष प्रदर्शनी सामाखुशीस्थीत रानीदेवि पार्टीप्यालेशमा भएको थियो ।
उक्त समारोहमा चलचित्र हेर्न तमु कलाकार संघका निर्वतमान अध्यक्ष राजु गुरुङ, लमजुङ घले समाजका अध्यक्ष द्रुतराज घले, गायक एवं सञ्चारकर्मी सहज कुमार घले, वरिष्ठ चलचित्र पत्रकार शान्तिप्रिय, उत्तरी गोरखा सांस्कृतिक समाजका अध्यक्ष सुनिला गुरुङ, गुरुङ फ्लिमका अभिनेता वुद्ध गुरुङ, आनन्द गुरुङ, गायक तथा संगीतकार आँशु लामा, निर्देशक जनक गुरुङ एवं संगीतकार सन्तोष श्रेष्ठको सहभागीता रहेको थियो । सो अवसरमा अतिथीहरुले चलचित्रलाई शुभकामना दिएका थिए ।
चलचित्रमा विश्वास गुरुङ, कासी घले(इन्द्र), सु.मन्त्रीजंङग गुरुङ, टिकाराम घले, सीतादेवि गुरुङ, कल्याण थापामगर, कृष्ण गुरुङ, डिवी गुरुङ, विरुप घले, पेम्बाछिरिङ शेर्पाा, अन्जना गुरुङ र श्रृजना गुरुङको प्रमुख भुमिका रहेको छ । चलचित्रलाई विकाश घले गुरुङले निर्देशन गरेका छन् भने निर्माताका रुपमा शान्ति गुरुङ सु.मन्त्री गुरुङ, वुद्धिमाया गुरुङ एवं अभिनास माङसुम रहेका छन् । ‘फिच्यो’ को सह–निर्देशन सोम गुरुङ हुन् भने छायाङकन प्रकाश गुरुङले गरेका छन् ।
उक्त चलचित्रमा संगीत सन्तोष श्रेष्ठ र गणेश गुरुङको रहेको छ भने मेलिना राई, अन्जना गुरुङ, सुवास गुरुङ र अभिनास माङसुमको पाश्र्व स्वर रहेको छ । त्यस्तै गोरे गुरुङको निर्देशनको नृत्य निर्देशन, तारा थापा किम्बेको सम्पादन, सम्राट थापाको पाश्र्वसंगीत रहेको छ । ‘ फिच्यो’ लाई यसपछि अमेरिकाका विभिन्न स्थानमा विशेष प्रदर्शनी गर्ने तय भइसकेको छ ।
पूर्वमा बसोबास गर्ने लिम्बू समुदायले चासोक तङ्नाम मनाउँदै
दिलकुमार लिम्बू/ताप्लेजुङ, ४ पुस ।नेपालको पूर्वी क्षेत्रमा बसोबास गर्ने लिम्बू समुदायले आज चासोक तङनाम धुमधामका साथ मनाउँदै छन् । प्रत्येक वर्ष धान्य पूर्णिमा दिन लिम्बू समुदायले न्वागी पर्वको रुपमा चासोक तङ्नाम मनाउने गर्छन ।
खेती प्रणालीको विकासदेखि नै लिम्बू समुदायले चासोक तङ्नाम पर्व मनाउँदै आएको लिम्बू समुदायको जातिय संस्था (किराँत याङथुङ चुम्लुङ)ताप्लेजुङका शाखाका सचिव इदिरा मान्याङबोले बताए । धान पाक्न थालेसँगै थक्याउने समयभरि यो चाड मनाइन्छ । आजको दिन किरात समुदायमा बस्ती चासोक तङ्नाममय बनेको छ । प्रदेश १ मा किरात समुदायको बसोबास भएकाले आज सार्वजनिक विदा समेत दिएको छ ।
प्रायः पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, धनकुटा, झापा, मोरङ, सुनसरी चासोक तङ्नामन मनाउने गरेको मेन्याङबोले बताए । चासोक तङ्नामका बेला थान थापेर प्रकृतिदेवीलाई पुकार्दै नयाँ अन्नबाली पुजिन्छ । सारमा, बाली उब्जाइदिने प्रकृति– जल, जमिन, वायु, अग्नि (सूर्य) लाई विशेषले पुजिन्छ । चासोक तङ्नाम अन्नप्रति सम्मान व्यक्त गर्ने परम्परा पनि हो । लिम्बू जातिले अन्नलाई माङ् (देवता) मान्दै आएको किरात याक्थुङचुम्लुङका ताप्लेजुङका उपध्यक्ष डिपी बालुङबाले बताए ।
चासोक तङ्नामका बेला पैयुँ फूल्नुका साथै माछा, चरा दक्षिणतिर लागेको उँधौली याम (दक्षिणायण) को न्वागी पर्व चासोक तङ्नाम पर्वको रुपमा मनाउने गर्छन् । लिम्बू भाषामा ‘चासोक’को अर्थ नयाँ पाकेको शुद्ध अन्न पवित्र मनले पूजेर तागेरानिङ्वाभुमाङ (प्रकृतिदेवी) लाई अर्पण गर्नु भन्ने हुन्छ । तागेरानिङ्वाभुमाङ जल, जमिन, वायु, अग्नि वा सूर्यका जन्मदाता मानिन्छ । ‘तङ्नाम’ले पर्व अर्थात् उत्सव जनाउँछ ।
लिम्बू मुन्धुम (शास्त्र) अनुसार आदिम लिम्बू पुर्खा सावा येत्हाङहरूले काँचो कन्दमुल खोजी खाने गर्थ्यो । यसबाट उन्मुक्ति पाउन पुर्खाले तपस्या गर्नु भयो । यसको सुनुवाइ गर्दै तागेरानिङ्वाभुमाङले मानिसलाई आगोसहित पारामा (कोदो जातको पाङ्दुर), क्यावो (फापर), फामु (कागुनी) लगायत बिज दिएको लिम्बू शास्त्रमा उल्लेख छ । प्राप्त बिज सावा येत्हाङका चेली सिबेरा याक्थुङमा (लिम्बू महिला) ले संरक्षण गरेर कृषि युगको सुरुवात गरेकेा विश्वास छ । आगोले मानिस खाद्यान्न पकाएर खान अभ्यस्त भए । यसपछि मानिसले स्वास्थ्यकर खाद्यान्न पाउन थाले । यसपछि प्रकृतिसहित खाद्यान्नको बीउ दिने ‘तागरेनिङ्वाभुमाङ’लाई सधन्यवाद आफूले नखाई चोखो अन्न अर्पण गर्न थालियो । यसैको निरन्तरता ‘चासोक तङ्नाम’ अहिले पनि कायम रहेको लिम्बू समुदायकाे विश्वास छ ।
धान र कोदो पाकेपछि लिम्बू जातिले चासोक गर्नैपर्ने चलन छ । चासोक पूजा आ-आफ्नो घरमा फेदाङ्मा (लिम्बू पुरेत) बोलाई गर्नु पर्छ । फेदाङ्माले तागेर निङ्वाभुमाङलाई पुगार्दै नयाँ अन्न खान पाउने अनुमति माग गर्छन् । खादा, रोग व्याधी नलागोस्, स्वस्थ जीवन जिउन पाइयोस् भन्ने कामना पनि गरिन्छ । फेरी पनि धेरै अन्न फलाउन सहयोगको याचनासमेत गरिन्छ ।
चासोकका बेला कलात्मक रूपमा चिटिक्कको पुतली झलक दिने धानका बाला बुनिन्छ । यसलाई घरको पनि शोभा बढ्नेगरी ढोकाछेउमा झुन्ड्याइन्छ । यसरी आफूहरूको पहिचानसहितको सभ्यता बोक्ने चासोक तङ्नाम लिम्बू जातिले आफ्नो मौलिकताको मुख्य चाड लिने गर्छन् ।
‘चासोक तङ्नाम’ विभिन्न धार्मिक, ऐतिहासिक, साँस्कृतिक स्थलमा आयोजना गरिन्छ । संस्थागत चासोक तङ्नाम मनाउने क्रममा यसलाई साँस्कृतिक पर्यटनसँग पनि जोड्न थालिएको छ । चासोक पर्यटन प्रवद्र्धन गर्न लिम्बुवान क्षेत्रका विभिन्न ठाउँमा, मेलासमेत लाग्न लाग्छ । जहाँ लिम्बूजन्य अन्य संस्कृति पनि प्रवद्र्धन गरिन्छ ।


