माओवादी स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु
काठमाडौं, ९ पुस/नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बिहान सुरु भएको छ । ११ पुसबाट काठमाडाैंमा सुरु हुने राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे छलफल गर्न बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएकाे हाे ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यले दिने सुझावलाई समेटेर पूर्णता दिने तयारी गरिएको छ । माओवादीले यसपटक राष्ट्रिय सम्मेलनमा विचारको बहस हुने बताएको छ ।
लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा
काठमाडौं, ९ पुस/नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्न घोषणा गरेको लाभांश पारित गर्न ३० पुसमा साधारणसभा बोलाएको छ ।बैंकले ३७ औँ वार्षिक साधारणसभा आह्वान गरेको हो ।
सभामा बैंकले हाल कायम चुक्ता पुँजीको ३३ दशमलव ६० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनसहित ४.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, अधिकृत पुँजी १० अर्ब पुर्याउने लगायतका एजेण्डा छन् ।
सभा प्रयोजनका लागि बैंकले १६ पुसमा बुकक्लोज गर्ने भएको छ। यसर्थ, १५ पुससम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।


