भारतमा ओमिक्रोनः २१ राज्यका ७८१ जना संक्रमित
नयाँ दिल्ली, १४ पुस/भारतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाईरसबाट संक्रमित हुनेको संख्या ७८१ पुगेको छ । दक्षिण अफ्रिकामा नोभेम्बरमा पहिलो पटक देखिएको सो भेरियन्ट अहिले भारतका २१ राज्यमा देखिएको छ ।
नयाँ भेरियन्टबाट संक्रमितमध्ये सबैभन्दा धेरै नयाँ दिल्लीका छन् । पछिल्लो तथ्यांकअनुसार दिल्लीमा २३८ र महाराष्ट्रमा १६७ जनामा नयाँ भेरियन्ट देखिएको छ । भारतमा पछिल्लो २४ घन्टामा नौ हजार १९५ जनाम कोभिड देखिएको छ ।
यो संख्या अघिल्लो दिनको तुलनामा ४४ प्रतिशतले बढी हो । सरकारले खोप अभियानलाई तीव्र पारेको छ । भारतमा अहिलेसम्म एक अर्ब ४३ करोड डोज कोभिड खोप खपत भएको छ ।
एकैपटक ११ कर्मचारीको सरुवा भएपछि गाउँपालिकाले दिने सेवा प्रभावित
सीपी लोहिया/बैतडीको दोगडाकेदार गाउँपालिकाका एकैपटक ११ जना कर्मचारीहरूको सरुवा हुँदा पालिकाले दिने सेवा प्रभावित भएकाे छ । संघीय सरकारले स्थानीय तहका कर्मचारीकाे सरुवा खुला गरेपछि दोगडाकेदार गाउँपालिकाका ११ जना कर्मचारीको सरुवा भएको हो । गाउँपालिकामा कार्यरत एकजना इन्जिनियर, दुईजना ओभरसियर तथा एकजना सवओभरसियर, पाँचजना वडा सचिव, एकजना आइटी अफिसर र एकजना आन्तरिक लेखा परीक्षकको सरुवा भएको गाउँपालिकाले जनाएको छ ।
कर्मचारीहरूको अन्यत्रै सरुवा भएपछि नियमित काम चलाउन मुक्सिल भएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए । ‘बैतडी जिल्लाका पालिकाहरूमध्ये पहिलो पटक कर्मचारी भर्ना गर्ने हाम्रो पालिका हो । हालसम्म सरुवा रोकेकाले कर्मचारीको अभाव थिएन् । तर अहिले संघीय सरकारले नयाँ नीति ल्याउँदा कर्मचारीहरूको सरुवा भयो । अहिले हामीलाई काम गर्न निकै असहज भएको छ,’ उनले भने ।
केही पदमा करारका कर्मचारी भर्ना गर्न सकिने भए पनि इन्जिनियर र वडा सचिवहरूको पदपूर्तिमा समस्या हुने अध्यक्ष कार्कीले बताए । नयाँ भर्ना गरेकामध्ये तीनजनाबाहेक सबै कर्मचारी सरुवा भएको उनले बताए ।दोगडाकेदार गाउँपालिकाका आठ वडामध्ये वडा नम्बर १ बाहेकका सबै वडा सचिवविहीन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर धामीले बताए ।


