विद्युत् प्राधिकरणको सामान नेपाल एयरलाइन्सबाट ल्याइने
काठमाडौं, १९ पुस /नेपाल विद्युत प्राधिकरण र नेपाल एयरलाइन्स (एनएसी) बीच हवाई सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सोमबार भएको यससम्बन्धी सम्झौतमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज घिमिरेले हस्ताक्षर गरे । सम्झौताअनुसार एनएसीमार्फत यात्रा गर्दा प्राधिकरणका कर्मचारी तथा उनीहरूका परिवारले टिकटमा १५ प्रतिशत र सामान ढुवानीमा ५-१० प्रतिशत छुट पाउनेछन् ।
सम्झौता कार्यक्रममा बोल्दै पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री प्रेम आलेले प्राधिकरणले अब वायुसेवा निगम प्रयोग गर्ने र यसबाट डुब्न लागेको उकास्न सहयोग पुग्ने बताए । सचिव महेश्वर न्यौपानेले विद्युत प्राधिकरणजस्तै एनएसीलाई पनि माथि उठाउनुपर्ने उल्लेख गरे ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ सम्भव भएसम्म अफिसियल काममा वायुसेवा निगम नै प्रयोग प्रतिबद्धता व्यक्त गरे । एनएसीका क्याप्टेन विजय लामाले कुलमानबाट प्रभावित भएको भन्दै निगम सुधारका लागि समेत साथ दिन आग्रह गरे ।
डोल्पामा टेलिफोन सेवा लिन १२ घण्टा पर्खनुपर्ने
हेमन्त केसी/ जाजरकोट , १९ पुस/मध्य डोल्पाका सर्वसाधारणले फोन सेवा पाउन प्रत्येक दिन १२ घण्टा पर्खनुपर्ने बाध्यता छ । ठूलीभेरी नगरपालिका त्रिपुरासुन्दरी नगरपालिका भित्र कभरेज रहने गरी सञ्चालनमा रहेको ठूलीभेरी नगरपालिका-७ जुफालस्थित टावर १२ घण्टा बन्द हुने गर्दछ ।घाम लाग्ने समयभित्र मात्र टावरले काम गर्ने र अन्य समय टावर बन्द हुने गरेको ठूलीभेरी नगरपालिका–९ का स्थानीय अमर कठायतले बताए । टावर सञ्चालन गर्न राखिएका सोलारले काम नगर्दा घाम लाग्ने समयमा मात्र टावर सञ्चालनमा रहने कठायतले जानकारी दिए ।
दुनैमा रहेको जैरीगाड जलविद्युत आयोजनामा प्राविधिक समस्या आएर बन्द भएपछि विद्युत आपूर्ति बन्द भएसँगै त्यसको मारमा टेलिफोन टावर पनि परेको नेपाल टेलिकम डोल्पाले जनाएको छ ।
आकाश हैर्दै फोनको प्रतिक्षा
जुफाल टावरबाट उपलब्ध फोन सेवा लिन सर्वसाधारणहरू हिजोआज आकाश हेर्न बाध्य भएका छन् । ब्याट्री ब्याकअपको अभावमा प्रत्येक दिन बिहान बेलुकीनै टावर जाने गरेपछि सर्वसाधारणहरू आकाश हेर्न बाध्य भएका हुन् । बिहान घाम लागेर छिप्पिएपछि मात्र टावर आउने भएकाले फोनमा कुरा गर्न सबैभन्दा पहिला आकाशमा बादल छ कि छैन भनेर हेर्नुपर्ने त्रिपुरासुन्दरी नगरपालिका १ का स्थानीय रमानन्द उपाध्यायकाे भनाइ छ ।
‘आकाशमा बादल भएमा टावर आउँदैन्, ब्याट्री चार्ज नहुने भएकाले टावर जाने गरेको हो, जनताले यस्तो असुविधा भोग्दा पनि कसैले वास्ता गरेका छैनन्’, उनले भने, ‘हिजोआज सर्वसाधारणहरू फोनमा कुरा गर्न पनि बिहानै उठेर आकाश हेर्छन्, अनिमात्र फोनमा कुरा गर्न पाउने कुरामा ढुक्क हुन्छन् ।’


