भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप ३७ हजार ३७९ सङ्क्रमित
नयाँदिल्ली ,२० पुस । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप ३७ हजार ३७९ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना शुरु भएदेखि हालसम्म तीन करोड ४८ लाख ८ हजार ८८६ जना सङ्क्रमित भएका छन् । गत २४ घण्टामा भएका सङ्क्रमित मध्ये एक हजार ८९२ जना भने ओमिक्रोन भेरियन्टका सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ । ती मध्ये पनि ७६६ जना भने निको भएका छन् । सोही अवधिमा थप १२४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ८२ हजार १७ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ ।
भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या एक लाख ७१ हजार ८३० रहेको छ । अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कूल सङ्क्रमितको सङ्ख्याको ०.४९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा भारतमा एघार हजार ७ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४३ लाख ६ हजार ४१४ जनालाई कोरोना सङ्क्रमण निको भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९८.१३ प्रतिशत रहेको जनाइएको छ । भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६८ करोड २४ लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ४६ करोड ७० लाख भन्दा बढी डोज खोप लगाइएको जनाइएको छ ।
यो पनि पढ्नुहोस ..काभ्रेपलाञ्चोक, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत सामाजवादी)ले काभ्रेपलाञ्चोकमा आफ्नो सङ्गठन विस्तारलाई तीव्रता दिएको छ । उसले दैनिकजसो वडा कमिटी गठनसँगै जनवर्गीय सङ्गठन विस्तार अभियानलाई तीव्र बनाएको हो । आइतबार धुलिखेल–१२ वडा कमिटी गठन ग¥यो भने पार्टीले शनिबार चौँरीदेउराली–८ मा वडा कमिटी गठन र पनौती नगरमा युवासङ्घ गठन गरेको छ । समाजवादीले युवासङ्घ, किसान र महिला सङ्गठनलाई वडास्तरमा लगिरहेको हो । काभ्रेपलाञ्चोकमा धमाधम पार्टी वडा कमिटी तथा जनवर्गीय सङ्गठन निर्माण भइरहेको जिल्ला सचिव दीपक गौतमले बताउनुभयो । उहाँले छ नगरपालिका र सात गाउँपालिका तथा १३५ वडा रहेको काभ्रेपलाञ्चोकको हालसम्म ८७ वडामा कमिटी गठन गरिएको जानकारी दिनुभयो ।
गौतमका अनुसार यही पुस मसान्तसम्म सबै वडामा कमिटी गठन सक्ने अभियान रहेको छ । उहाँले हालसम्म महिलाको पालिकास्तरमा सात तथा ६१ वडामा सङ्गठन विस्तार भइसकेको बताउनुभयो । उहाँका अनुसार युवाको नौ स्थानीय तहमा र ७२ वडामा, किसानको २५ वडामा तथा विद्यार्थीको १७ विद्यालय÷क्याम्पसमा कमिटी गठन भएको छ । साथै १७ जनवर्गीय सङ्गठनको पालिकास्तरमा कमिटी गठन भइसकेको जनाइएको छ । पार्टीले विशेषगरी वडास्तरमा पार्टी कमिटीसँगै युवा, महिला र किसान जनवर्गीय सङ्गठन घोषणा गरिरहेको छ ।
केही वडा कमिटी गठन गर्न पार्टीका सङ्घीय तथा प्रदेशमन्त्रीसमेतलाई उपस्थित गराइएको छ । गत महिना स्थानीय तहमा पार्टीको कमिटी निर्माणपछि काभ्रेपलाञ्चोकमा सङ्गठन विस्तारको अभियानलाई थप तीव्रता पारिएको जनाइएको छ । “वडा कमिटी गठन गर्न जिल्ला तथा केन्द्रीय नेतालाई जिम्मेवारी तोकिएअनुसार तीव्ररूपमा भइरहेको छ, आउँदो पुस मसान्तसम्म सक्ने योजनाअनुसार गाउँस्तरमा लागेका छौँ”, जिल्ला अध्यक्ष टोकबहादुर वाइवाले भन्नुभयो । मण्डनदेउपुर नगरमा भने सबै वडामा कमिटी निर्माण भइसकेको छ । वाइवा उक्त नगरको प्रमुखसमेत रहनुभएको छ । उहाँले क्रमैसँग जनवर्गीय सङ्गठनसमेत गठन गर्दै गएको बताउनुभयो ।
नेकपा (एमाले)सँग विभाजन भएसँगै निर्माण भएको उक्त पार्टीमा गत भदौ अन्तिम साता काभ्रेपलाञ्चोकमा निर्वाचित ५६ जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालय धुलिखेलमा सनाखत गर्नुभएको थियो । तत्कालीन एमाले नेतृत्वले एकलौटी ढङ्गले पार्टी सञ्चालन र मनोमानीरूपमा एकल निर्णय गर्दै एकोहोरो अघि बढेकाले वरिष्ठ नेता माधवकुमार नेपालसँगै नयाँ कम्युनिष्ट पार्टी निर्माणको अभियानमा लाग्नुपरेको वाइवाले बताउनुभयो । एकीकृत समाजवादीमा काभ्रेपलाञ्चोबाट नेतृत्व गर्नुभएका एमालेबाट निर्वाचित पूर्व सांसदत्रय शिवबहादुर देउजा, कृष्णप्रसाद सापकोटा र विदुर सापकोटा रहनुभएको छ । देउजा हाल समाजवादीमा केन्द्रीय अनुशासन आयोग अध्यक्ष हुनुहुन्छ भने कृष्णप्रसाद सापकोटा पोलिटब्यूरो सदस्य र अर्का सापकोटा केन्द्रीय सदस्य रहनुभएको छ । जिल्लामा हालका दुई प्रदेश सांसद पनि समाजवादीका हुनुहुन्छ ।


