ओलीले शुक्रबार एमालेको ७७ रै जिल्ला अधिवेशनलाई केन्द्रीय कार्यालयबाट सम्बोधन गर्ने
काठमाडौं, २२ पुस/एमालेका अध्यक्ष केपी ओलीबीट पार्टीका ७७ वटै जिल्ला अधिवेशनलाई शुक्रबार भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका छन् ।
ओलीले २३ पुस बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । एमालेको १०औं महाधिवेशन गत मंसिरमै सकिए पनि जिल्ला अधिवेशन एकसाथ भोलि उदघाटन हुन लागेको हो ।
एमाले अधिवेशन : हुम्लामा प्रतिनिधि छनोट सम्पन्न
सुरेश परियार/हुम्ला, २२ पुस । नेकपा एमालेको जिल्ला अधिवेशनका लागि हुम्लामा प्रतिनिधि छनोट सम्पन्न भएको छ । एमालेको जिल्ला अधिवेशन शुक्रबार हुँदै छ । यसका लागि हुम्लाले अधिवेशन छनोट सम्पन्न गरेको हो । ४४ वटा वडा रहेको हुम्लामा लिमीबाहेक पार्टीको सदस्यको अनुपातको संख्याको आधारमा प्रतिनिधि छनोट कार्य सम्पन्न भएको एमाले जिल्ला पार्टी सचिव पूर्ण ढकालले जानकारी दिए ।
अदानुलीबाट २२, चंखेलीबाट १४, ताजकोटबाट २१, सर्केगाड गाउँपालिकाबाट ३०, खार्पुनाथबाट १३, सिमकोटबाट १८ र नाम्खाबाट ६ जना शुक्रबार हुने जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट भएका छन् । पार्टीकाको संगठित सदस्यका आधारमा गाउँपालिकाबाट छनोट भएको र १३ जना जिल्ला कार्य समितिले मनोनीत गरेको पार्टी सचिव पूर्ण ढकालले जानकारी दिए ।
एमाले जिल्ला कमिटी बैठकले ४० जना संगठित सदस्य बराबर एक जना प्रतिनिधि र दलितका लागि ३० जना बराबर एक जना प्रतिनिधि छनोट हुने मापदण्ड निर्धारण गरेको थियो ।
अधिवेशनका लागि ३३ प्रतिशत महिला प्रतिनिधि र १३ प्रतिशत दलित प्रतिनिधि छनोट भएका छन् । प्रतिशत उल्लेख नभए पनि युवा र जनजातिको संख्या पनि प्रतिनिधिमा राम्रो छनोट भएको एमालेले जनाएको छ ।


