भारतमा थप एक लाख भन्दा बढी कोरोना सङ्क्रमित, ओमिक्रोनका सङ्क्रमति तीन हजार नाघ्यो
नयाँदिल्ली,२३ पुस । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख १७ हजार १०० सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ५२ लाख २६ हजार सङ्क्रमित भएका छन् । हाल यहाँ तीन हजार ७ जना ओमिक्रोनका सङ्क्रमित रहेका पनि सो मन्न्त्रालयले शुक्रबार जानकारी दिएको छ । ओमिक्रोनका ती सङ्क्रमितहरुमा एक हजार १९९ जना भने कोरोना मुक्त भएका जनाइएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ७१ हजार ३६३ रहेका छन् ।
गएको २४ घण्टामा भारतमा ३० हजार ८२६ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४३ लाख ७१ हजार ८४५ जना कोरोना सङ्क्रमण निको भएकाले कोरोना भाइरस निको हुने दर ९७.५७ प्रतिशत रहेको जनाइएको छ । सोही अवधिमा थप ३०२ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८३ हजार १७८ छ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ ।कोरोना सुरु भएदेखि हालसम्म ६८ करोड ६८ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ४९ करोड ६६ लाख ८१ हजार भन्दा बढी डोज खोप लगाइएको जनाइएको छ ।
यो पनि पढ्नुहोस …काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक आज मुलुकका सबै जिल्ला कमिटीका अधिवेशन गर्दैछ। महाधिवेशनपूर्व तोकिएको एकैदिनमा पालिकास्तरको अधिवेशन तथा प्रतिनिधि छनोट कार्य गरेको एमाले अब जिल्ला र प्रदेश अधिवेशनका लागि जुटेको छ।पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट आज पार्टीका ७७ वटै भूगोल र विशेष क्षेत्रका जिल्ला अधिवेशनको उद्घाटन थापाथालीस्थित केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअलरुपमा गर्ने तय भएको एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
गत मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा भएको दशौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको मङ्सिर २५ र २६ गते भक्तपुरमा सम्पन्न दोस्रो पूर्ण बैठकले आज पुस २३ गतेका लागि जिल्ला र आउँदो माघ ८ गतेका लागि पार्टीको प्रदेश अधिवेशन गर्ने निर्धारण गरेको थियो।महाधिवेशनमा ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदर्शनमा समाजवादका आधार निर्माण गरौँ’ भन्ने मूल नारा तय गरेको एमालेले जिल्ला अधिवेशनको तयारीका लागि सम्बन्धित कमिटीलाई परिचालन गरेको छ। ती जिल्लाबाट केन्द्रीय नेतृत्वमा पुगेका नेता तथा तोकिएका जिल्ला इञ्चार्ज गृहजिल्लामा पुगेका छन्।
जिल्ला अधिवेशनमा सदस्यताको आधार
एमालेले जिल्ला तथा प्रदेश अधिवेशनका लागि दशौँ राष्ट्रिय महाधिवेशनका लागि निर्धारण गरिएको पार्टी सदस्यतालाई नै आधार बनाउनेछ। अधिवेशनका लागि प्रतिनिधि चयनको अनुपात र मापदण्ड पार्टी विधानको व्यवस्थाअनुसार सम्बन्धित कमिटीले तय गर्नेछ। जिल्ला अध्यक्ष माथिल्लो कमिटीमा निर्वाचित भएको स्थितिमा निजकै अध्यक्षतामा जिल्ला अधिवेशन आयोजना गर्न सकिने भएको छ।मौसमी प्रतिकूलताका कारणले पुस २३ मा जिल्ला अधिवेशन आयोजना गर्न नसकिने हिमाली जिल्लाका हकमा केन्द्रीय कार्यालयसँगको परामर्शमा अर्को मिति तोक्न सकिने एमालेले जनाएको छ।
जिल्ला अधिवेशनका लागि अतिथि व्यवस्थापनको सहजीकरण प्रदेश सङ्गठन कमिटीले र प्रदेश अधिवेशनका लागि अतिथि व्यवस्थापनको सहजीकरण केन्द्रीय कार्यालयले गर्नेछ। अधिवेशनमा प्रतिनिधिलाई सर्वसम्मत नेतृत्व चयनका लागि प्रेरित गर्ने र सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विधि अवलम्बन गर्न एमालेले सर्कुलर गरेको छ। निर्वाचनको विधि र प्रक्रियाका हकमा पार्टीको केन्द्रीय निर्वाचन आयोगको निर्देशनअनुसार गर्न पनि भनिएको छ।
जनसङ्गठनको सुदृढीकरण अभियान
एमालेले जनसङ्गठनको सुदृढीकरणका लागि दशौँ राष्ट्रिय महाधिवेशनको राजनीतिक कार्यदिशाअनुरुप जनसङ्गठनलाई नीतिगतरुपमा परिचालित गर्नेगरी आवश्यक योजना बनाउन थालेको छ।जनसङ्गठनको कार्यक्षेत्रसँग सम्बद्ध अन्य सङ्गठनमा आबद्ध व्यक्तिको प्रवेशको सम्भावना आकलन गरी सम्बन्धित सङ्गठनमा प्रवेशको योजना अघि बढाउने र सबै जनसङ्गठनले आआफ्नो कामको आवश्यकताका आधारमा कमिटीको आकारलाई चुस्तदुरुस्त बनाउने गरी विधानमा आवश्यक संशोधन गर्न एमालेले निर्देशन दिइसकेको छ।एमालेको जनसङ्गठन संयन्त्रले ती सङ्गठनका काम गरेका नेता कार्यकर्ताको व्यवस्थापन र सङ्गठन परिचालनबारे नयाँ मापदण्ड पनि तयार गरिरहेको छ।लामो समयदेखि सम्बन्धित जनसङ्गठनको वैधानिक व्यवस्थाअनुरुप हुन बाँकी (आधारभूत तहदेखि राष्ट्रिय तहसम्मको) अधिवेशन-सम्मेलन-महाधिवेशन आगामी फागुन मसान्तसम्ममा आयोजना गर्नेगरी कार्ययोजना तयार गर्न पनि एमालेले निर्देशन दिएको छ । एमालेमा हाल २२ जनसङ्गठन छन्।


