भोलिदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने
काठमाडौँ, १ माघ । सरकारले भोलिदेखि कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ मात्रा खोप दिने भएको छ । अग्रपङ्क्तिमा काम गर्ने व्यक्तिलाई माघ २ गतेदेखि र ६० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक र खोपको पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई माघ १४ गतेदेखि ‘बुस्टर’ मात्राको खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ‘बुस्टर’ डोजका लागि मन्त्रालयले प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको छ । ‘बुस्टर’ डोज कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छ महिना पूरा भएका व्यक्ति, अग्रपङ्क्ति र ६० वर्षभन्दा माथिका तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका सबैलाई दिइने मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।
रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीमा सक्रिय क्यान्सर रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरेका बिरामी पर्दछन् । कोरोना भाइरस सङ्क्रमण बढेसँगै सरकारले ‘बुस्टर’ डोज दिन थालेको हो । हिजो पुस ३० गते पाँच हजार ८७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । ‘बुस्टर’ डोजमा पहिले जुन खोप लगाएको हो सोही खोप लगाउनुपर्ने हुन्छ । कोभिड–१९ खोप सल्लाहाकार समितिले ‘बुस्टर’ डोज खोप लगाउन सरकारलाई सुझाव दिइसकेको छ।
नेपालगञ्जमा सुरु भयो वायुयान सङ्ग्रहालय
राँझा, १ माघ । नेपालगञ्जमा स्थापना गरिएको वायुयान सङ्ग्रहालय (एयरक्राफ्ट म्युजियम) आजबाट औपचारिकरुपमा सञ्चालनमा ल्याइएको छ । एक दशकदेखि सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा वैकल्पिक गन्तव्यका रुपमा आकर्षण बनिरहेको वायुयान सङ्ग्रहालय नेपालगञ्जमा स्थानान्तरण गरी सञ्चालनमा ल्याइएको सञ्चालक संस्था बेद उप्रेती ट्रष्टका प्रमुख क्याप्टेन बेद उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार, नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिको पहलमा सङ्ग्रहालय नेपालगञ्जमा ल्याएर सञ्चालन गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित बेलासपुरमा राखिएको उक्त सङ्ग्रहालय विशेषत विद्यार्थीका लागि अध्ययनस्थल बन्ने क्याप्टेन उप्रेतीको भनाइ छ ।
नौ वर्षअघि धनगढीमा रु डेढ करोड लागतमा स्थापित कस्मिक एयरको पुरानो जहाजमा तयार गरिएको सङ्ग्रहालय नेपालगञ्ज ल्याएर तयारी अवस्थामा पुु¥याउन करिब रु ३० लाख थप लगानी भएको छ । ग्राउन्डेड अवस्थामा रहेको कस्मिक एयरको फोकर–१०० विमानलाई सङ्ग्रहालय बनाइएको थियो ।नेपालगञ्ज उपमहानगरपालिका– १२ सँग १० वर्षका लागि सम्झौता गरेर चिल्ड्रेन पार्कको सुन्दरता र आकर्षण बढाउने अवधारणासहित सङ्ग्रहालय राखिएको छ । उपमहानगरपालिकाको सहमतिमा वायुयान सङ्ग्रहालयका लागि करिब सात कट्ठा जग्गा प्रयोग गर्न दिइएको हो । स्थानीयलाई रोजगारी र आन्तरिक गन्तव्यको नयाँ स्थान निर्माणका लागि एभियसन म्युजियम प्रभावकारी हुने ठानेर नेपालगञ्ज ल्याउन पहल गरिएको नेपालगञ्ज उपमहानगरपालिका–१२ का वडाध्यक्ष बुद्धिसागर सुवेदीले बताउनुभयो ।


