कोरोनाका कारण त्रिविको सञ्चालन भइरहेका सबै परीक्षा स्थगित
काठमाडौं, ६ माघ /त्रिभुवन विश्वविद्यालयले सञ्चालन भइरहेका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । त्रिविको बिहीबार बसेको बैठकले ९ माघ आइतबारदेखि अर्काे सूचना जारी नभएसम्मका लागि वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।
विद्यार्थी, कर्मचारी र प्राध्यापकहरूलाई नै कोरोना संक्रमण भएकाले ९ माघदेखि अर्काे सूचना जारी नभएसम्मका लागि त्रिविले सञ्चालन गरेका वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरू स्थगित गर्ने निर्णय भएको त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्ति :
त्रिभुवन विश्वविद्यालय अन्तर्गत हाल संचालन भईरहेका अधिकांश परीक्षाहरु सम्पन्न भईसकेका, केही परीक्षा सम्पन्न हुने क्रममा र संचालनको पूर्व तयारी अवस्थामा रहेको र विश्वव्यापी रुपमा फैलिएको ओमिक्रोन भेरियण्टको तीब्र संक्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवम् प्राध्यापक समेत संक्रमित भएका कारण त्रि.वि केन्द्रीय परीक्षा संचालक समितिको मिति २०७८।१०।६ गते बसेको बैठकबाट हाल त्रि.वि द्वारा संचालित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु यही मिति २०७८ माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

भोलिदेखि मौसममा सुधार हुने
काठमाडौँ, ६ माघ (रासस) ःपश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही हल्का वर्षा र हिमपात भइरेहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
उक्त प्रणालीको प्रभावले पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागका वरिष्ठ मौसमविद् वरुणा पौडेलले बताउनुभयो । “सो मौसमी प्रणाली भोलिदेखि कमजोर हँुदै जाने भएकाले शुक्रबारबाट मौसममा सुधार हुनेछ”, उहाँले भन्नुभयो ।
भोलि देशभर आंशिकदेखि सामान्यतया बदली रही हरेक प्रदेशका केही स्थानमा हल्का वर्षा तथा देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ । विभागले आगामी २४ घण्टाको लागि चेतावनी तथा परामर्श जारी गर्दै देशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । साथै देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले यसबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव ६ डिग्री र अधिकतम तापक्रम १८ दशमलव चार डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस एक दशमलव चार डिग्री र सबै भन्दा धेरै दिपायलको अधिकतम तापक्रम २२ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।


