जिल्ला अस्पताल गाईघाटमा भेन्टिलेटरसहितको आइसियु सञ्चालन हुँदै

उदयपुर, जिल्ला अस्पताल गाईघाटमा जडान गरिएको आइसियुसहितको भेन्टिलेटर सञ्चालनको तयारी गरिएको छ । कोभिडको दोस्रो भेरियन्टको समयमा स्थापना गरिएको आइसियुसहितको भेन्टिलेटर जनशक्ति अभावमा सञ्चालनमा आउन सकेको थिएन । आइसियु तथा भेन्टिलेटर सञ्चालन गर्न एनेसथेसियलिष्ट विशेषज्ञ चिकित्सक चाहिने भएकाले सञ्चालनमा आउन सकेको थिए ।

दोस्रो भेरियन्टबाट कोभिड महामारीले धेरैको ज्यान लिन थालेपछि जटिल खालका बिरामीको उपचार जिल्लामै गर्ने योजनाका साथ गत वर्ष उदयपुर अस्पतालमा आइसियु र भेन्टिलेटर सेवा दिने तयारीका जडान गरिएको हो । त्यस बेला रातारात गरेको तयारी जनशक्ति अभावका कारण कार्यान्वयनमा आउन सकेको थिएन ।

आइसियु र भेन्टिलेटर जडान गरेको डेढ वर्षपछि आवश्यक जनशक्ति सरुवा भई आएपछि आइसियु सञ्चालन हुने भएका हुन् । जटिल खालका कोभिड संक्रमित बिरामीलाई विराटनगर, धरान र काठमाडौं रिफर गर्दा समस्या हुने र भनेका समयमा बेड नपाउने भएकाले जिल्लावासीलाई बचाउन नसकिएपछि जिल्लामै आइसियु र भेन्टिलेटर सुविधाको तयारी थालेका थिए ।

प्रदेश सरकारको १ करोड बजेटबाट आवश्यक सामग्री खरिद गरी अस्पतालमा आइसियु र भेन्टिलेटरका उपकरण जडान गरिए पनि पटक पटक प्रयास गर्दा समेत दक्ष जनशक्ति ल्याउन नसक्दा यन्त्र उपकरण सबै थन्केर बसेको थियो । अस्पतालमा केही दिन अघि मात्र दक्ष जनशक्ति आएपछि आइसियु सेवा सुरु लागेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. मुकेश झाले जानकारी दिए । डा. झासहित १० जना विशेषज्ञ (कन्सल्टेन्ट) डा. भर्खरै अस्पतालमा सरुवा भएर आएपछि आइसियु र भेन्टिलेटर सञ्चालनको तयारी थालेका हुन् ।

अस्पतालमा प्रसूति विशेषज्ञ डा. झा, हाडजोर्नी विशेषज्ञ डा. सशिरन्जन प्रधान, बिशेषज्ञद्वय एनेथेसिया (बेहोस पार्ने) डा. विशाल देव र कौशल तामाङ, जेनेरल फिँजिसिएन विशेषज्ञ डा. राहुल रौनियार सरुवा भई आएका छन् । त्यसगरी इन्टरनल मेडिसिन विशेषज्ञ डा. अमरेश महतो, डेन्टल सर्जन बिशेषज्ञद्वय डा. नारायण श्रेष्ठ र बेन्जु श्रेष्ठ तथा प्रसूतिकै विशेषज्ञ डा. रितेशराज कर्ण रहेका छन् । मेसु झा सहित जिल्ला अस्पतालमा विशेषज्ञ डा. को संख्या १० जना पुगेको छ ।

१० वर्ष अघि ५० शय्यामा स्तरोन्नति गरिएको अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक आएका थिए । विशेषज्ञ डा. दरबन्दी रहे पनि मन्त्रालयले सरुवा नपठाउँदा अस्पतालले क्षमता अनुसारको सेवा दिन सकेको थिएन ।

हाडजोर्नी, जेनेरल फिँजिसिएन समेत कन्सल्टेन्ट आएपछि गाइनोसँगै अन्य उपचार पनि सहज हुने क्रममा छ । मुटुरोग, नाक कान घाँटी तथा नशारोग विशेषज्ञ, बालरोग विशेषज्ञ भने अझै खाली रहेको छ । विशेषज्ञ चिकित्सकका लागि आवश्यक उपकरण र भौतिक संरचना उपलब्ध गराउन सके गाईघाटमै विराटनगर र धरानसरहको उपचार सेवा सुरु हुने डा. झा बताउँछन् ।

अस्पतालमा रहेको आइसियु र भेन्टिलेटरसेवा सञ्चालन तयारी तीव्र पारिएको छ । त्यसका लागि कोठा अभाव र केही उपकरण जडान गर्न बाँकी रहेकाले तत्काललाई बजेटको व्यवस्थापनसँगै सेवा सुरुवातको तयारी भइरहेको छ । आवश्यक बजेटका लागि अस्पतालले बैठक राखेर प्रदेश सरकार समक्ष माग गरी पठाइएको जनाएका छन् ।

अस्पताल भवनको माथिल्लो तल्लासम्म जान र्‍याम नभएका कारण कोठा खाली रहे पनि आइसियु सञ्चालन गर्न नमिलेको बताए । माथिल्लो तल्लाको कोठा प्रयोग गर्न नमिलेका कारण भुइँतलामा रहेको ओपिडीकै दुई वटा कोठा आइसियुका लागि प्रयोगमा ल्याउन लागिएको छ । र्‍याम निर्माण गर्न समय लाग्ने भएकाले आइसियु सञ्चालन सहज गर्न ओपिडी कक्षकै कोठाहरू प्रयोग गर्न लागिएको अस्पतालका सूचना अधिकृत बृखबहादुर खत्रीको भनाई छ ।

आइसियु सञ्चालन गर्न केही भौतिक उपकरण र नर्सिङ प्यारामेडिक (नर्स तथा एचए र अहेब) जनशक्ति पनि जुटाउनु भएकाले त्यसको पहल भई रहेको छ । तत्काल नै आइसियु भेन्टिलेटर सञ्चालनमा ल्याउने र बिस्तारै जनशक्ति र संरचनाको खोजी गर्ने योजना रहेको उनको भनाई रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।