थप आठ हजार १७ जनामा कोरोना, १५ जनाकाे मृ’त्यु
काठमाडौँ , १३ माघ/ पछिल्लो २४ घण्टामा थप आठ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्हमा दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २१ हजार ८०८ वटा नमुना परीक्षण गर्दा आठ हजार १७ जनामा कोरोना पोजेटिभ देखिएको हाे।
मन्त्रालयका अनुसार १५ हजार ७३६ जनामा पीसीआर परीक्षण गर्दा पाँच हजार ८१६ जनामा र छ हजार ७२ जनामा एन्टिजेन परीक्षण गर्दा दुई हजार २०१ जनामा काेराेना संक्रमण देखिएको हो ।
योसँगै देशभर सक्रिय संक्रमितको ९० हजार ५७६ रहेको छ । पछिल्लो २४ घण्टामा पाँच हजार २९२ जना डिस्चार्ज भएका छन् भने १५ जनाको मृ’त्यु भएको छ ।
बिचौलियालाई कार्यालयभित्र प्रवेश नदिनुस्ः मन्त्री दाहाल
काठमाडौँ, १३ माघ (रासस) :वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले बिचौलियालाई कार्यालयभित्र प्रवेश नदिन निर्देशन दिनुभएको छ ।
यातायात व्यवस्था कार्यालय एकान्तकुनाको अनुगमन गर्ने क्रममा उहाँले कर्मचारीलाई यस्तो निर्देशन दिनुभएको हो । “पहिलो कुरो त बिचौलियलाई कार्यालयभित्र पस्न नदिनुहोस् भन्छौँ, यदि त्यो भएन भने पुलिस लगाएर भए पनि उनीहरुलाई समाउँछौँ र कारबाही गछौँ”, उहाँले भन्नुभयो, “कानुनी कारबाहीमा आएपछि बिचौलियाको विगविगी कम हुने र गलत काम गर्ने कर्मचारी पनि हच्किएर सही बाटोमा आउनेछ ।”
मन्त्री दाहालले कार्यालयमा कहीँकतै सेटिङ रहेको पाएमा त्यसलाई निर्मम तरिकाले नियन्त्रण गर्ने उल्लेख गर्दै कार्यालयभित्र कहीँकतै कर्मचारीको सेटिङ छ भने हामी खोजी गर्नेछौँ र त्यसलाई निर्मम तरिकाले नियन्त्रण गछौँ भन्नुभयो ।
वाग्मती प्रदेश यातायात मन्त्रालयका सचिव अशोक शाहसहित मन्त्री दाहाल छड्के अनुगमनका लागि यातायात व्यवस्था कार्यालय पुग्नुभएको थियो । सेवाग्राहीको गुनासो आएपछि मन्त्री दाहालले छड्के अनुगमन गर्नुभएको हो । सो अवसरमा सचिव शाहले ढड्डा प्रणलीले गर्दा आएको समस्याको छिट्टै समाधान गरिने र यसका लागि अनलाइन प्रणालीको विकास गरिने बताउनुभयो । उहाँले वाग्मतीलई नमूना प्रदेश बनाउने गरी काम गरिने बताउँदै मन्त्रालयअन्तर्गतका कार्यालय तथा निकायमा विचौलियालाई रोक्ने र भ्रष्टाचार शून्य सहनशीलता नीति अवलम्बन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


