धनकुटामा ६ सहित प्रदेश १ मा आज ६९३ जनामा कोरोना संक्रमण पुष्टि
विराटनगर, १४ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६९३ जनामा कोरोना संक्रमण भएको छ । ८४१ जनाको पीसीआर परीक्षण गर्दा ३८३ र ८१० जनाको एन्टिजेन परीक्षण गर्दा ३१० जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १७६, सुनसरीमा ८७, झापामा ६६, उदयपुरमा १५, इलाम र धनकुटामा ६–६, भोजपुरमा २, ताप्लेजुङ, संखुवासभा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २२ जनामा संक्रमण भएको हो ।
मोरङको विराटनगरमा १३५, पथरीशनिश्चरे र सुन्दरहरैचामा ८–८, बुढीगंगामा ५, बेलबारी र उर्लाबारीमा ४–४, केराबारीमा ३, रतुवामाई र कटहरीमा २–२, कानेपोखरी, ग्रामथान, सुनबर्षी, जहदा र धनपालथानमा १–१, सुनसरीको धरानमा ३७, इटहरीमा ३२, इनरुवामा ५, रामधुनी र दुहवीमा ३–३, देवानगञ्ज र स्थानीय तह नखुलेका २–२, गढी, बराहक्षेत्र र कोशी गाउँपालिकामा १–१, झापाको विर्तामोड र दमकमा १३–१३, कनकाईमा ११, भद्रपुरमा ८, अर्जुनधारामा ५, गौरादह र शिवसताक्षीमा ४–४, कमल गाउँपालिकामा ३, बुद्धशान्ति र बाहृदशीमा २–२, मेचीनगरमा १, उदयपुरको कटारीमा ७, बेलकामा ३, त्रियुगा र स्थानीय तह नखुलेका २–२, चौदण्डीगढीमा १, इलामको इलाम नगरपालिकामा २, माई, मांसेबुङ, सुर्योदय र माई जोगमाईमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ६, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको फक्ताङलुङ, संखुवासभाको मादी र खोटाङको दिप्रुङमा १–१ र प्रदेश १ बाहिरका २२ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ३२९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १५१ महिला र १७८ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ महिलाको मृ त्यु भएको छ । सक्रिय संक्रमितको संख्या ७ हजार ४१६ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सिरक डसनाको बिक्री बढ्यो
इनरुवा, १४ माघ (रासस) ः सुनसरीमा बढेको अत्यधिक चिसो र शीतलहरका कारण न्यानो लुगाको कारोबारमा वृद्धि भएको छ । सिरक, डसना, रुवा, ऊनीको सर्टको कपडा, कुर्ता सुरुवाल टोपी, ब्ल्याङ्केट लगायतका लुगाको कारोबारीमा वृद्धि भएको सुनसरी सदरमुकाम इनरुवा–१ का व्यापारी शम्भु मेहताले बताउनुभयो ।
चिसोबाट जोगिनलाई न्यानो कपडा आवश्यक पर्ने भएकाले यसको कारोबार वृद्धि भएको हो । सदरमुकाम इनरुवामा मात्रै दैनिक पचासौँ लाखको न्यानो कपडा बिक्री भइरहेको उद्योग वाणिज्य सङ्घ इनरुवाले जनाएको छ । करिब एक सय कपडा पसलमा सेवाग्राहीको दैनिक चाप बढ्दो क्रममा रहेको व्यपारीले जनाएका छन् ।
यसैगरी तयारी पोसाकमा ज्याकेट, स्वेटर, गलबन्दी, टोपी ट्र्याकसुट, टाउजर, जम्फर लगायतका बिक्री बढ्नाका साथै सिरक, डसना बनाउने क्रमसमेत बढेको जनाइएको छ ।
व्यवसायीका अनुसार जाडोमा घरभित्र सिरक डसनाको आवश्यकता बढी हुने भएकाले सिरक बनाउन आउने र कपास किन्नेहरुको समेत भीड बढेको छ । इनरुवामा सिरक डसना बनाउँदै आएका व्यपारीका अनुसार गत पुषको दोस्रो सातादेखि हालसम्म दैनिक तीनदेखि बढीमा १० वटासम्म बनाउने गरेको जनाइएको छ । चिसोका बेला सिरक र डसनाको माग बढेपछि व्यापारीले मूल्यसमेत वृद्धि गरेको स्थानीय उपभोक्ता मन्दीपकुमार साहले बताउनुभयो ।


