खोप लगाउन पाँच दिन विद्यालय खुलाइने
सर्लाही, १७ माघ । यहाँका छात्रछात्रालाई आजदेखि कोरोना विरुद्धको मोर्डना खोप लगाइने भएको छ । १२ देखि १७ वर्ष उमेर समूहका छात्रछात्रालाई दोस्रो मात्रा खोप लगाउन आजदेखि यही माघ २१ गतेसम्म विद्यालय खुलाइने छ । जिल्ला कोरोना सङ्कट व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले विद्यार्थीलाई मोर्डना खोपको दोस्रो डोज लगाउन पाँच दिन विद्यालय खोल्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयका पठनपाठन भने माघ मसान्तसम्म नै बन्द हुनेछ । जिल्लामा एक लाखभन्दा बढी विद्यार्थीले मोर्डना खोपको पहिलो डोज लगाएका छन् । सबै पालिकामा खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा नवलकिशोर झाले राससलाई बताउनुभयो ।
डीसीसीएमसीको बैठकले कतिपय निजी विद्यालयले अहिले पनि पठनपाठन गराइराखेकाले यसमा निगरानी गर्ने, आमसभा, जुलुस, भेला तथा धेरै मानिस भीडभाड हुने कार्यक्रम अर्को व्यवस्था नहुञ्जेल सञ्चालन नगर्नेसमेत निर्णय गरेकोे प्रजिअ गौतमले जानकारी दिनुभयो ।
जिल्लाका सामुदायिक विद्यालयमा १२ देखि १७ वर्ष उमेर समूहका ८८ हजार नौ विद्यार्थी रहेका शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीका निमित्त प्रमुख सुनिल कुशवाहले बताउनुभयो । उहाँका अनुसार जिल्लाका सामुदायिक, संस्थागत, धार्मिक तथा अन्य विद्यालय गरी कूल ६७५ विद्यालयले आफ्ना विद्यार्थीले खोप लगाउन फारम भरेका र सोहीअनुसार खोप लगाइने छ ।
तत्काल दूधको मूल्य बढाउन किसानको माग
चितवन, १७ माघ । यहाँका किसानले तत्काल दूधको मूल्य बढाउन माग गरेका छन् । उनीहरुले तत्काल मूल्य वृद्धि नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । चितवन दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले आइतबार यहाँ पत्रकार सम्मेलन गरी मूल्य बढाउन दबाब दिएको हो ।दूधको मूल्यमा प्रतिलिटर रु १५ देखि २० सम्म बढाउनुपर्ने उनीहरुको माग छ । सङ्घका अध्यक्ष रत्नमणि न्यौपानेले सरकारले यही माघ १ गतेदेखि मूल्य बढ्छ भने पनि अहिलेसम्म नबढेकाले आन्दोलनको तयारीमा लागेको बताउनुभयो । सरकारले एक लिटरमा रु १० मूल्य बढाएर किसानलाई रु.सात र डेरी उद्योगीलाई रु तीन दिने तयारी गरेको बताइएको छ ।
उहाँका अनुसार हाल दूधको मूल्य किसानले सरदर लिटरमा ५२.५० पर्ने गरेको छ । पशुलाई खुवाउने आहारको मूल्य अत्यधिक वृद्धि भएकाले यो मूल्यले लागत नउठ्ने उहाँले बताउनुभयो । अध्यक्ष न्यौपानेले भन्नुभयो, “दाना, चोक्कर, पराल र औषधिको मूल्य अत्यधिक बढेकाले अहिले उत्पादन लागत नै प्रतिलिटर रु ६३ किसानको पर्ने गरेको छ । त्यसैले किसानलाई लाभ पुग्नेगरी मूल्य बढाउनुपर्छ ।” सरकारले तीन वर्षदेखि दूधको मूल्य बढाएको छैन । हाल जिल्ला ६३ प्रतिशत दुग्ध उत्पादक किसान छन् । यसबाट दैनिक दुई लाख ९० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । ४३ प्रतिशत दूध बाहिरी जिल्ला काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की र मकवानपुरमा जाने सङ्घले जनाएको छ । सङ्घले जारी गरेको विज्ञप्तिमा पशुको उपभोग्य बस्तुमा १० देखि १५ प्रतिशत वृद्धि भएको जनाइएको छ ।


