गृहमन्त्रीद्वारा धन्यवाद व्यक्त
काठमाडौँ, १६ फागुन । गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी अनुदान सहयोगसम्बन्धी परियोजना सम्झौता(एमसीसी)का विषयसँग जोडेर भएको आन्दोलनमा संयमता अपनाई सुरक्षा व्यवस्था प्रदान गरेकोमा गृह प्रशासन, सुरक्षा निकायका प्रमुख, काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारी र उपत्यकाका सुरक्षा प्रमुखलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।
गृहमन्त्री खाँणले प्रतिनिधि सभाबाट बहुमतले एमसीसी पास भएपछि गृहसचिव टेकनारायण पाण्डे, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, गृहमन्त्रालयको सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणीन्द्रमणि पोखरेल, काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख अधिकारी क्रमशः गोविन्द रिजाल, घनश्याम उपाध्याय र रुद्रादेवी शर्मा तथा उपत्यकाका सुरक्षा निकायका प्रमुखलाई आइतबार राति टेलिफोन गरेर धन्यवाद व्यक्त गर्नुभएको उहाँका प्रेस संयोजनक मधुसुधन भट्टराईले जानकारी दिनुभयो ।
उहाँले सुरक्षाकर्मी साथी घाइते हुँदासमेत संयमता अपनाएर सुरक्षा दिने काममा अहोरात्र खटिएकोमा प्रशंसा पनि गर्नुभएको छ । “एमसीसीबारे भएको आन्दोलनमा संयमता अपनाएर नागरिकलाई सुरक्षा प्रदान गरेको, आन्दोलनमा आएकाह उत्तेजित हुँदासमेत संयम भएर सुरक्षा दिएकोमा धन्यवाद दिनुभएको हो”, गृहमन्त्रालयका प्रवक्तासमेत रहनुभएका सुरक्षा समन्वय महाशाखाका प्रमुख सहसचिव पोखरेलले बताउनुभयो ।गृहमन्त्री खाँणले आन्दोलनका क्रममा घाइते भएका सुरक्षाकर्मी र आन्दोलनकारीको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ ।
यो पनि पढ्नुहोस्…कञ्चनपुर । थारू भाषा, साहित्य, संस्कृतिको विकासका लागि थारु साहित्यिक सङ्घसंस्था, भाषाप्रेमी, लेखक, प्रकाशक, सम्पादक एकजुट भइ सहकार्य गर्ने प्रतिवद्धता सहित छैटौँ थारू राष्ट्रिय साहित्य सम्मेलन सम्पन्न भएको छ । कृष्णपुर नगरपालिका–५ सिंहपुरमा आयोजित सो सम्मेलन १० बुँदे घोषणापत्र जारी गरेको छ। थारू मातृ भाषामा पठनपाठन कार्यान्वयनका लागि थारूबाहुल्य पालिकामा विद्यालयमा पठनपाठनका लागि सहकार्य गर्ने, थारू लोक साहित्य तथा संस्कृतिको संरक्षण र प्रवद्र्धनसँगै दस्तावेजीकरणका लागि कार्य अगाडि बढाउने घोषणापत्र उल्लेख छ ।
घोषणापत्रमा भनिएको छ, “थारू समुदायका विषयवस्तु उठानका साथै आख्यान विधाका स्रष्टालाई आकर्षित गर्ने खालका कार्यक्रम सञ्चालन गरिने छन् ।”थारू लेखक सङ्घ नेपालद्वारा स्थापित थारू भाषा र साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान दिने स्रष्टालाई सम्मान र पुरस्कारका लागि अक्षयकोष रकम बढाउने सम्मेलनले निर्णय गरेको छ । थारू भाषाको विकासका लागि आफ्नो भाषा बोल्ने, लेख्ने र छाप्ने, छपाउने काममा आएको तीव्रतालाई निरन्तरता दिने र सिर्जनशील लेखनलाई प्रोत्साहन गरिने सम्मेलनबाट निर्णय पारित भएको छ ।
सम्मेलन आयोजक समितिका सहसंयोजक वीरबहादुर राजवंशीले थरुहट क्षेत्रका प्रत्येक पालिकालाई थारू भाषा, साहित्य र संस्कृतिको संरक्षण, विकासका लागि बजेट विनियोजन गर्न लगाउनका लागि दबाब सिर्जना गरिने निर्णय समेत सम्मेलनले गरेको छ । उहाँका अनुसार साहित्य सम्मेलनको स्मारिका प्रकाशित गर्नेे घोषणापत्रमा जनाइएको छ । आगामी सातौँ राष्ट्रिय थारू साहित्य सम्मेलन बाँके जिल्लामा गर्ने निर्णयसमेत गरिएको छ । थारू लेखक सङ्घ नेपाल, थारू कल्याणकारिणी सभा, गोचाली परिवार, सिंहपुर युवाक्लबको आयोजनामा यही फागुन १२ देखि १४ गतेसम्म सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा थारू बुद्धिजिवी, साहित्यकार, कवि, लेखक, संस्कृतविद्को जमघट थियो ।


