सहिद मुक्सन किरातको सालिक अनावरण
खोटाङ । खोटाङमा सहिद मुक्सन किरातको सालिक अनावरण गरिएको छ । सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही पक्षबाट २४ असोज २०५९ मा हत्या गरिएका मुक्सनको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको अर्चलेस्थित समाधिस्थलमा सालिक अनावरण गरिएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उपलव्ध गराएको ६ लाखमा स्थापना गरिएको सालिक सोमबार प्रतिनिधिसभा सदस्य एवं एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अनावरण गरेका हुन् । सहिद किरातको ४५औं जन्मदिनको अवसर पारेर उनकै जन्मथलोमा सालिक अनावरण गरिएको हो ।
सहिद मुक्सनको सालिक अनावरण कार्यक्रममा सहिद माता सम्पूरा राईलाई सम्मान गरिएको छ । सहिद मातालाई सहिद मुक्सन किरात स्मृति केन्द्रले दोसल्ला ओढाएर सम्मान–पत्र सहित सम्मान गरेको हो । सहिद पिता वीरबहादुर राईको गत वर्ष निधन भइसकेको छ । सालिक अनावरण कार्यक्रमका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, उपमेयर बिणादेबी राई लगायतको टोली लफ्याङ पुगेको थियो ।
नेकपा एमालेको तत्कालीन जिल्ला जिल्ला परिषद् सदस्य एवं अनेरास्ववियुका राष्ट्रिय परिषद् सदस्य रहेका किरातको २४ असोज २०५९ मा हत्या भएको थियो । किरातलाई माधव नेपाल प्रधानमन्त्री भएको बेला २०५९ सालमा सहिद घोषणा गरिएको थियो । किरात अपहरणमा परेकै बेलुका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाको ढुंगे भन्ने ठाउँको खेतपुछारमा रहेको उत्तिसघारीमा मृत फेला परेका थिए ।
जन्तरे भाइ विकल्प किरातका अनुसार मुक्सनलाई अपरिचित तीन जनाको समूहले बिहान घरबाट अपहरण गरेका थिए । किरातको शव धारिलो हतियार प्रयोग गरेको र दुवै हातमा रातो कपडाले बाँधेको अवस्थामा भेटिएको सहिद मुक्सन किरात स्मृति केन्द्रका अध्यक्ष एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङ बताउँछन् ।
सशस्त्र द्वन्द्व कालमा एमाले नेता भट्टराई (हाल प्रतिनिधिसभा सदस्य), रामप्रसाद दंगाल, शिवराज राई, नवीन राई लगायतका नेता पनि अ पहरणमा परेका थिए । अन्य नेता अ पहरणको केही समयपछि अ पहरणमुक्त भए तर २४ भदौ २०५९ मा अपहरणमा परेका भट्टराई ७ कात्तिकमा मात्र अ पहरणमुक्त भएका थिए ।
त्यही समयमा मुक्सनको अ पहरण लगत्तै ह त्या भएको थियो । मुक्सनको हत्या भएको खबर रेडियोबाट सुनेको भट्टराई सम्झन्छन् । ‘२०५९ असोज २४ का दिन हामी माओवादी अ पहरणको अज्ञात मुकाममा रहँदा एउटा दुःखद खबर सुनियो–एमाले कार्यकर्ता मुक्सन किरातको ह त्या भयो,’ प्रतिनिधिसभा सदस्य भट्टराईले फेसबुकमा लेखेका छन्, ‘आज फागुन १६ गते उनै मुक्सन किरातको ४५औं जन्मदिनको सन्दर्भमा सालिक अनावरणसहित श्रद्धाञ्जली कार्यक्रम आयोजना गरियो ।’


