सामाजिक सुरक्षा भत्ता अनियमितताका विषयमा अख्तियार पुग्यो फिल्डमा

खोटाङ, १८ फागुन । खोटाङको साकेला गाउँपालिकामा सामाजिक सुरक्षाभत्ता अनियमितता भएको विषयमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले फिल्डमै पुगेर छानबिन थालेको छ । मृ त्यु भइसकेका, कतिपय बसाई सरिसकेका तथा कतिपय हुँदै नभएका व्यक्तिको नाममा ‘फेक डकुमेन्ट’ बनाएर सामाजिक सुरक्षा चुहावट भइरहेको पाइएपछि स्वयं गाउँपालिकाले दिएको उजुरीका आधारमा आयोगले फिल्डमै उपस्थित भएर छानबिन थालेको हो ।

आयाेगको टोलीले मंगलबार साकेला गाउँपालिका-४ मात्तिम र साकेला गाउँपालिका-५ मात्तिम मानेभञ्ज्याङबाट छानबिन थालेको हो । एकै आर्थिक वर्ष ८७ लाखभन्दा बढी सामाजिक सुरक्षाभत्ता अनियमितता भएको प्रतिवेदन सार्वजनिक भएपछि साकेला गाउँपालिका आफैले कारबाहीका लागि १२ पुस २०७७ मा सोसँग सम्वन्धित कागजातको फायल अख्तियारकाे कार्यालय इटहरीलाई पठाएको थियो ।

आर्थिक वर्ष २०७६-०७७ भित्र मात्रै पाँच वडामा ८७ लाख ४१ हजार ६ सय रुपैयाँ रकम चुहावट भएको प्रतिवेदन सार्वजनिक भएको थियो । गाउँपालिकाले पठाएको प्रतिवेदनमा उल्लेखित लाभग्राहीको नामावलीमाथि अख्तियारले विस्तृत अनुसन्धान थालेको साकेला गाउँपालिका अध्यक्ष अर्जुन खड्काले बताए ।

‘गाउँपालिकाबाट लेखेर पठाइएको प्रतिवेदनको आधारमा देखिएको नामावलीमाथि थप छानबिन थालेको हो,’ अध्यक्ष खड्काले भने, ‘फिल्डमा मान्छे छन् वा छैनन्, भए कुन प्रकृतिको हो ? त्यसको भेरीफाइ गर्न आएको हो ।’

मृत्यु भइसकेका, कतिपय बसाई सरिसकेका तथा कतिपय हुँदै नभएका व्यक्तिको नाममा ‘फेक डकुमेन्ट’ बनाएर सामाजिक सुरक्षा भत्तामा अनियमितता भइरहेको विषय बाहिरिएपछि गाउँपालिकाकी उपाध्यक्ष सरिता खड्काको संयोजकत्वमा गठित छानबिन समितिले एकै आर्थिक वर्ष लाखौं रकम अनियमितता भएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

सामाजिक सुरक्षा भत्ता दुरुपयोगका विषयमा १४ असोज २०७७ मा गठित समितिले २३ मंसिर २०७७ मा अन्तिम छानबिन प्रतिवेदन सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष खड्कालाई बुझाएको थियो ।

सामाजिक सुरक्षाभत्ता पाउने कतिपय लाभग्राहीको एउटै नाम, एउटै नागरिकता नम्बर, एउटै ठेगाना, एउटै जन्ममिति उल्लेख गरेर नक्कली लाभग्राही खडा गरिएको पाइएको छ । एकै व्यक्तिको नाममा विधवा र एकल महिलाको सामाजिक सुरक्षा भत्ता बाँडिएको तथ्या पनि फेला परेको छ ।

सामाजिक सुरक्षा भत्तामा अनियमितता भएको प्रतिवेदन सार्वजनिक भएपछि वडा तथा गाउँपालिकाका जनप्रतिनिधिसमेत नैतिक प्रश्नको कठघरामा परेका छन् । किनकि यतिको मात्रामा भइरहेको रकम दुरुपयोगमा कर्मचारी मात्रको हात नरहेको कतिपयको आशंका छ । तर, छानबिनका क्रममा कतिपय मृतक वा बसाई सरिसकेका व्यक्तिका आफन्तले नै निरन्तर सामाजिक सुरक्षाभत्ता लिइरहेको पनि पाइएको जनाइएको छ ।

सामाजिक सुरक्षाभत्ता शीर्षकको लाखौं रकम चुहावट भइरहेको प्रतिवेदन सार्वजनिक भएलगत्तै गाउँपालिकाले आर्थिक वर्ष २०७७-०७८ को दोस्राे चौमासिकदेखि ‘सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७५’ बमोजिम नेपाल एसबीआई बैंक साकेला शाखामार्फत सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था मिलाइसकेको छ ।

सामाजिक सुरक्षा भत्तामा भइरहेका अनियमितता नियन्त्रणका लागि बैंकिङ प्रणाली अपनाइएपछि आर्थिक वर्ष २०७७-०७८ को दोस्राे र तेस्राे चौमासिकमा ४६ लाख ७४ हजार ७६६ रुपैयाँ रकम बेरुजु खातामा फिर्ता गएको गाउँपालिकाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।