अध्यक्ष ओली -राष्ट्र निर्माण एमालेको प्राथमिकतामा
गण्डकी, २४ फागुन । (नेकपा एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणको अभिभारा आफ्नो दलको प्राथमिकता रहेको बताउनुभएको छ । नेकपा एमाले गण्डकी प्रदेश कमिटिद्वारा आज पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले एमालेका कार्यकर्ता पद तथा ओहोदाका लागि नभइ समाज निर्माणमा क्रियाशील हुनुपर्नेमा जोड दिनुभयोे । जनतालाई मनपर्ने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिँदै अध्यक्ष ओलीले सामाजिक न्याय र समानताका क्षेत्रमा पार्टी निरन्तर लागिरहेको बताउनुभयो । आफ्नो दल लोकतन्त्रको मूल्य मान्यता, स्वच्छता, पारदर्शीता आदिलाई आत्मसात् गर्दै अघि बढिरहेको छ भन्दै उहाँले एमालेको विचार, व्यवहार र निष्ठा अन्यसँग तुलना गर्न नमिल्ने जिकिर गर्नुभयो।
विभिन्न दलबाट एमाले प्रवेश गरेका कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष ओलीले पार्टीको सिद्धान्त बमोजिम देश र जनताका पक्षमा क्रियाशील हुन आग्रह गर्नुभयो ।
अन्तर्राष्ट्रिय नारी दिवसबारे चर्चा गर्दै अध्यक्ष ओलीले नेपालमा महिला सशक्तिकरण बढेको र आफूलाई प्राप्त जिम्मेवारीलाई उनीहरूले सफलताका साथ बहन गरिरहेको बताउनुभयो । कार्यक्रम नेकपा एमाले गण्डकी प्रदेश कमिटिका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको थियो ।
यो पनि पढ्नुहोस. ..काठमाडाैं। प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ मनाउन लागिएको ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन्।उनले शुभकामना सन्देशमार्फत महिलाका हक, अधिकार र न्याय सुनिश्चित गर्न योगदान गर्ने तथा जीवन समर्पण गर्ने महिला योद्धाहरूलाई विशेष सम्मानका साथ स्मरणसमेत गरेका छन्।
नारी मुक्ति आन्दोलनका अभियन्ताहरूको पहलमा सन् १९१० को मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरण गर्न तथा महिला हक अधिकार स्थापित गर्न सङ्घर्ष सुरु गरेको दिनका रूपमा विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिएको छ। प्रधानमन्त्री देउवाले महिलालाई सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक अवसरहरूमा विना कुनै भेदभाव समान अवसर उपलब्ध गराउन र लैङ्गिक समानताको बाटोमा अघि बढ्न आजको दिनले सबैलाई उत्प्रेरित गर्दै आएको उल्लेख गरेका छन्।
“नेपालको संविधानले महिलाउपर हुने सबै प्रकारका भेदभावहरूको अन्त्य गर्दै समानुपातिक, समावेशी एवं समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ। संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा स्थापित गरी महिलालाई लैङ्गिक भेदभावविना समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजननसम्बन्धी हक, पैतृक सम्पत्तिलगायत सबै विषयमा समान हक आदिको प्रत्याभूति गरेको छ । राज्यका सबै निकायमा महिलाहरूको समानुपातिक समावेशितालाई सुनिश्चित गरेको छ । महिलाविरुद्ध हुने कुनै पनि किसिमको हिंसाजन्य कार्य र शोषणलाई दण्डनीय बनाएको छ,” उनले उल्लेख गरेका छन्।
महिला सशक्तीकरण हामी सबैको साझा सरोकारको विषय भएकाले तीनवटै तहका सरकारले आ-आफ्नो क्षेत्रबाट समन्वयात्मक तवरले पहलकदमी लिन आवश्यक रहेको उल्लेख गर्दै उनले देशको मूल कानूनले गरेका समस्त व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयन गरी महिलाको लैङ्गिक, सामाजिक, आर्थिक र राजनीतिक अधिकार सुनिश्चित गर्न हामी सबै प्रतिबद्ध हुन आवश्यक रहेकामा जोड दिएका छन्।
प्रधानमन्त्री देउवाले लैङ्गिक समानता र महिला विकासका लागि राज्यका तर्फबाट भएका नीतिगत, कानूनी, संरचनागत एवं प्रक्रियागत सुधारको फलस्वरूप राजनीति र प्रशासनको क्षेत्रमा महिलाको प्रतिनिधित्व र सहभागिता उल्लेखनीय रूपमा वृद्धि भएको बताउँदै नेपालको लैङ्गिक विकास सूचकाङ्कमा भएको सुधारबाट राज्यले महिला हक अधिकारको क्षेत्रमा अवलम्बन गरेका नीति र कार्यक्रमहरूले राम्रो प्रतिफल दिएको मान्न सकिन्छ भनी उल्लेख गरेका छन्।उनले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी, महिला अधिकारकर्मीलगायत महिला हक, अधिकारको संरक्षण र प्रवद्र्धनका क्षेत्रमा कार्य गर्नुहुने सम्पूर्ण व्यक्ति तथा सङ्घसंस्थाहरूमा शुभकामना व्यक्त गरेका छन्।


