निलम्बित प्रधानन्यायाधीशविरुद्ध महाअभियोग पारित गर्न माग
काठमाडौँ, ३० फागुन । मानव अधिकार तथा शान्ति समाजले निलम्बित प्रधान न्यायधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव पारित गरी कानुनी कारबाही अघि बढाउन माग गरेको छ ।समाजको चौबिसौँ बैठकले यस्तो माग गरेको अध्यक्ष गोविन्द खनालले आज जारी गर्नुभएको वक्तव्यमा उल्लेख छ । कपिलवस्तुको वाणगङ्गामा फागुन २७ र २८ गते सम्पन्न बैठकमा विभिन्न जिल्लाबाट आएका २०० भन्दा बढी अधिकारकर्मी सहभागी थिए । ‘बैठकले गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा ः सबैको अधिकार’ भन्ने आह्वानसहित आठ वटा प्रस्ताव पारित गरेको उहाँले जानकारी दिनुभयो ।
न्यायालय शुिद्धकरणका लागि विशेष पहल थाल्न आग्रहसहित निलम्बित प्रधान न्यायाधीश राणाविरुद्ध संसद्मा दर्ता भएको महाभियोगको प्रस्ताव पारित गरी निजलाई पदच्युत गर्न र अनेकौँ अनियमिततामा संलग्न भएकाले छानबिन गरी कानुनी कारबाही गर्नसमेत बैठकले माग गरेको थियो । बैठकले रुसलाई तत्काल सेना फिर्ता गरी युद्ध रोक्न र युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षाका लागि योगदान गर्न आह्वान गरेको थियो । एक निष्पक्ष संस्थाको रुपमा शान्ति समाजको केन्द्रीय कार्यसमिति र जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यको विभिन्न निकायमा संलग्नताको सीमा सम्बन्धमा पनि बैठकले प्रस्ताव पारित गरेको थियो ।फागुन २८ गते बिहान साङ्केतिक रुपमा वाणगङ्गा नदीमा सफाइ कार्यक्रमसहित बैठक समापन गरिएको थियो । यसै सेरोफेरोमा रक्तदान, शान्ति ¥याली, शान्ति दीप प्रज्वलनसहित आधादर्जन कार्यक्रम आयोजना गरिएको जनाइएको छ । कार्यक्रमको सबै खर्च कपिलवस्तु शाखाले स्थानीयस्तरमा सङ्कलन गरी व्यहोरेको थियो ।
यो पनि पढ्नुहोस..गलेश्वर, ३० फागुन । पश्चिम म्याग्दीका पाँच गाउँमा खानेपानीको समस्या समाधान भएपछि अहिले दैनिकी फेरिएको छ ।मालिका गाउँपालिकाको विम, देवीस्थान, रुम, मङ्गला गाउँपालिकाको बरङ्जा र अर्मनमा स्थानीय सरकारले खानेपानी आयोजना सञ्चालन गरेपछि यहाँको दैनिक सहज भएको हो । गाउँगाउँमा पानी पुगेपछि अहिले सबेरै खानेपानीकै निम्ति भौतारिनुपर्ने बाध्यताबाट मुक्त भएको वरंजाका इन्द्रबहादुर रोकाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “केही वर्षअघिसम्म हामी खानेपानीको जोहो गर्दैमा दिन बित्थे । भालेको डाकसँगै खानेपानी लिन धारा पधेँरीमा पुग्नुपथ्र्यो तर, अहिले खानेपानीको समस्या टरेको छ । घरमै पानी आउँछ खानेपानीबाट बचेको पानीले करेसाबारीमा तरकारीलाई सिँचाइ गर्दै आएका छौँ ।” बस्तीबस्तीमा खानोपानी पुगेसँगै यहाँका स्थानीयवासीको घरको करेसाबारी हरियाली देखिन थालेको छ । आयोजना सञ्चालनपछि खानेपानीको समस्या टर्नुका साथै आफ्नै करेसाबारीमा तरकारी उत्पादन गर्दै आएको अर्मनकी राधिका सापकोटाले बताउनुभयो।
“पहिले पहिले खानेपानी अभाव हुँदा मानिसलाई पिउने पानी पाउन नै सकस थियो, पशुचौपायालाई त कुरै थिएन तर, अहिले घरमा तरकारी खेती गर्दै आएका छौँ । तरकारी किन्नु पर्दैन । खानेपानी आयोजनाले गाउँ नै फेरिएको झैँ लागेको छ”, उहाँले भन्नुभयो ।जिल्लाका मध्य भाग र म्याग्दी तथा कालीगण्डकी नदीका तटीय क्षेत्रमा पर्ने गाउँहरु वर्षाैंदेखि खानेपानीको समस्याले ग्रसित बन्दै आएका थिए । नागरिकको समस्यालाई समाधानका निम्ति स्थानीय सरकारले चासो दिँदै आएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । पश्चिम म्याग्दीमा खानेपानी आयोजना सञ्चालनभएसँगै यस क्षेत्रका आठ हजार बढी घर परिवार लाभान्वित बनेका उहाँले जानकारी दिनुभयो ।
जिल्लाका केही स्थानीय तहहरुमा खानेपानीको सहज पहुँच पुगेर स्थानीयको जनजीवन सरल र सहज बनेको भए पनि बेनी नगरपालिकाकाका अधिकांश वडामा खानेपानीको समस्या विकराल बन्दै गइरहेको स्थानीयले बताएका छन् । बढ्दो जनसङ्ख्या र घट्दो पानीका स्रोतका कारण नगरपालिका क्षेत्रमा खानेपानीको समस्या बढ्दै गइरहेको हो । नगरपालिकाले एक घर एक घाराको अवधारणा लिएको भए पनि पानीको स्रोतको अभावमा योजना प्रभावकारी हुन नसकेको पाइएको छ ।


