तत्काल एमालेसँग गठबन्धनको सम्भावना छैन

लुम्बिनी, ३ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावमा गठबन्धन होला र जितौँला भन्ने मनस्थितिमा नबस्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ । उहाँले चुनावमा आफ्नै सङ्गठनलाई बलियो बनाएर जानुपर्ने र आफ्नै तागतमा जनताको मन जित्ने कुरालाई पहिलो प्राथमिकतामा राख्नसमेत कार्यकर्तालाई आग्रह गर्नुभएको छ । प्रेस सङ्गठन लुम्बिनीद्वारा आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले आगामी वैशाख ३० मा स्थानीय तहको निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो । उहाँले निर्वाचनमा तालमेल गर्ने र अधिकतम परिणाम निकाल्ने कुरालाई सहायक प्राथमिकतामा राखेर निर्वाचन तयारीमा लाग्न आग्रह गर्दै निर्वाचनका बारेमा कुनै आशङ्का नगर्नसमेत आग्रह गर्नुभयो ।

अध्यक्ष दाहालले सरकारमा सहभागी पाँचदलीय गठबन्धन नै निर्वाचनसम्म जोगाएर लैजाने पक्षमा रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले हामी गठबन्धनमा छौँ । तत्काल एमालेसँग गठबन्धनको सम्भावना छैन ।”पूर्वप्रधानमन्त्री दाहालले कांग्रेसका केही नेताले माओवादीसँग गठबन्धन हुँदैन भने पनि प्रधानमन्त्री देउवाले भने यो गठबन्धनलाई बचाएर लैजाने पक्षमा रहेको रहेको जनाउँदै भन्नुभयो, “कांग्रेसले लखेट्न थाल्यो भने परिस्थिति के हुन्छ भन्न सकिन्न ।”

उहाँले चुनाव हुन्छ वा हुँदैन भन्ने आशङ्का अवस्था अझै व्याप्त रहेको जनाउँदै आफूहरु चुनावको तयारीमा पूरै तागत लगाएर गइसकेको बताउनुभयो । पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसहितका नेतासँगै पत्रकार सम्मेलनमा आउनुभएका अध्यक्ष दाहालले पार्टीभित्र एमसिसीका कारण उत्पन्न विवाद समाधान भइसकेको र आफूहरु एकढिक्का भएर चुनावी अभियानमा हिँडिरहेको बताउनुभयो ।

यो पनि पढ्नुहोस…काठमाडौं चैत ३ एमालेले स्थानीय जनप्रतिनिधिलाई आगामी स्थानीय तहको चुनावको टिकट वितरणमा ससर्त प्राथमिकता दिने भएको छ । बुधबार बसेको संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी ओलीले ‘राम्रो काम गरेका’ प्रतिनिधिलाई निरन्तरता दिइने जानकारी दिएका छन् ।

संसद् अधिवेशन अन्त्य भएकै भोलिपल्ट बसेको दलको बैठकमा ओलीले चुनावमा राम्रा उम्मेदवार खडा गर्नुपर्ने तथा स्थानीय तहमा राम्रो काम गरेका जनप्रतिनिधिलाई टिकटमा प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए । ‘सकेसम्म सर्वसम्मतिका साथ योग्यतम उम्मेदवार खडा गरेर हामीले यो चुनावमा विजय प्राप्त गर्नुपर्छ,’ ओलीको भनाइ उद्धृत गर्दै प्रमुख सचेतक भट्टराईले भने, ‘परिस्थिति बिग्रिएको छैन भने राम्रो काम गरेका जनप्रतिनिधिलाई निरन्तरता दिनुपर्छ ।’

एमाले सचिवालय बैठकले चुनावमा पार्टीले टिकट दिने उम्मेदवार सिफारिस र निर्णयको विधि तथा प्रक्रियासम्बन्धी निर्णय गरेको थियो । सम्बन्धित वडा र पालिका कमिटीको सिफारिसमा वडाध्यक्ष र सदस्यको निर्णय जिल्ला कमिटीले गर्ने, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको मेयर र उपमेयरको सिफारिस जिल्ला कमिटीले गर्ने र प्रदेश कमिटीले अन्तिम निर्णय गर्ने एमाले सचिवालयले निर्णय गरिसकेको छ । महानगर र उपमहानगरको मेयर र उपमेयरको निर्णय भने जिल्ला र प्रदेशको सिफारिसमा केन्द्रीय कमिटीबाट गर्ने एमालेले निर्णय गरेको छ ।

मंगलबार संसद् अधिवेशन अन्त्य भएपछि बुधबार संसद् भवन बानेश्वरमा बसेको संसदीय दलको बैठकमा दलका नेतासमेत रहेका अध्यक्ष ओलीले स्थानीय चुनावलगायत समसामयिक विषयमा धारणा राखेका थिए । ओलीले सांसदलाई आसन्न स्थानीय तहको चुनावमा केन्द्रित हुन निर्देशन दिएका छन् । आ–आफ्नो क्षेत्र गएर पार्टीको उम्मेदवारका पक्षमा माहोल सिर्जना गर्न उनले संघीय संसद्का दुवै सदनका सदस्यलाई निर्देशन दिएका हुन् ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले चुनाव जित्ने गरी तयारीमा लाग्न अध्यक्ष ओलीले सांसदलाई निर्देशन दिएको बताए । ‘स्थानीय चुनावमा एमाले कसरी प्रस्तुत हुनुपर्छ र एमालेका सांसदहरूले कसरी आफ्नो चुनाव क्षेत्रमा पार्टीलाई विजयी गराउनका लागि लाग्नुपर्छ भन्ने सन्दर्भमा अध्यक्षज्यूले निर्देशन दिनुभएको छ,’ प्रमुख सचेतक भट्टराईले भने ।

चुनावमा ६५–७० प्रतिशत सिट एमालेले जित्ने ओलीको दाबी थियो । ‘३० वैशाखमा हुने चुनावका लागि ६५–७० प्रतिशत सिटमा एमालेले विजय प्राप्त गर्छ,’ ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले भने, ‘६,७४३ वडा, ७५३ वटा पालिकामा एक्लै चुनाव लडेर ६५ देखि ७० प्रतिशत सिटमा विजय प्राप्त गर्ने पूर्वानुमान छ ।’ । एमाले कहीँ कतै गठबन्धनबाहेक मूलतः एक्लै चुनाव लड्ने ओलीको भनाइ थियो । चुनावका लागि आफूहरू तयार अवस्थामा रहेको भट्टराईले बताए । चुनावी घोषणापत्र जारी गर्न र उम्मेदवार छान्न मात्रै बाँकी रहेको उनको भनाइ छ । दुवै काम शीघ्र सम्पन्न हुने उनले बताए ।

बैठकमा प्रमुख सचेतक भट्टराईले प्रतिपक्षसँग सल्लाह नगरी अधिवेशन अन्त्य गरेकोमा असन्तुष्टि व्यक्त गरेका थिए । दलको बैठक सुरु गर्दै उनले भनेका थिए, ‘सत्तापक्षले प्रतिपक्ष र अरू कसैसँग पनि परामर्श नगरी हठात् संसद् अधिवेशन अन्त्य ग-यो । यो हठात् अन्त्य भएपछि केही महत्वपूर्ण विषय अहिले यथावत् छन् ।’

दशौँ अधिवेशनमा जनताका समस्याका बारेमा छलफल गर्न सत्तारूढ गठबन्धन र सभामुखले प्रयास नगरेको एमालेको ठहर छ । संसद् चल्न नसकेको दोष सत्तारूढ दलहरूले एमालेमाथि लगाएकोमा पनि भट्टराईले असन्तुष्टि व्यक्त गरेका थिए ।एमाले अध्यक्ष ओलीले आसनग्रहण नगर्नलगायतका विषयमा सांसदहरूको ध्यानाकर्षण गराएका छन् । सांसदलाई चुनावी रणनीतिबारे जानकारी गराउँदै ओलीले भनेका थिए, ‘कार्यकर्ताजस्तो भएर जनताको घरदैलोमा जानुहोला । त्यहाँ आसनग्रहण नगर्नुहोला । स्थानीयस्तरमा हैसियत खोज्ने होइन । जनतासँग नङमासुको सम्बन्ध कायम गर्ने हो ।’

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।