माओवादी आफ्नै बलमा पहिलो शक्ति हुन्छः अध्यक्ष दाहाल
कास्की, ६ चैत । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आफ्नै बलबुतामा आसन्न निर्वाचनमा पहिलो शक्ति बन्ने बताउनुभएको छ ।प्रेस सेन्टर गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले गठबन्धनको वैशाखी टेकेर नभइ आफ्नै शक्ति, सङ्गठन र मुद्दाका आधारमा माओवादीले निर्वाचन लड्ने तयारी गरेको उहाँले उल्लेख गर्नुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो,“देशव्यापी माओवादीप्रति सकारात्मक जनमत बढ्दै गएको छ, कार्यक्रममा उभार देखिएको छ । केही समयपछि अन्य पार्टीहरु माओवादीसँग तालमेलका लागि आउने परिस्थिति आउँदैछ अरु पार्टीसँग जाने होइन । माओवादी पहिलो शक्ति बन्ने सम्भावना देखिएको छ ।”
उहाँले केही दिनअघि एक कार्यक्रममा आफूले राजनीतिक र सैद्धान्तिक रुपमा एमालेसँग गठबन्धन हुन्छ भने पनि तत्कालका लागि भने गठबन्धन सम्भव नभएको उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुने र निर्वाचनका बारेमा कुनै पनि दुविधा नरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कतिपय वृत्तमा अझै पनि निर्वाचन के हुन्छ भन्ने छ तर निर्वाचन तोकिएको मितिमै हुन्छ, सम्पूर्ण रुपले निर्वाचन प्रक्रियामा सामेल हुन र तयारीमा लाग्न सबैमा म अपिल गर्दछु ।” स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरेर माओवादीले प्रदेशस्तरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम अघि बढाएको बताउँदै उहाँले निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।
आदिवासी जनजाति महासङ्घ सप्तरीमा प्रधान
सप्तरी, ६ चैत । आदिवासी जनजाति महासङ्घ सप्तरीको जिल्ला अधिबेशनले अरुणकुमार प्रधानलाई अध्यक्षमा चयन गरेको छ । शम्भुनाथ नगरपालिकास्थित आदिवासी जनजाति भवन कठौनामा आयोजित चौथो जिल्ला अधिवेशनले प्रधानको अध्यक्षतामा २१ सदस्यीय समिति निर्माण गरेको हो ।नवनिर्वाचित समितिका उपाध्यक्षमा उपेशकुमार सिंह, इन्द्रनारायण मण्डल र शर्मिला चौधरी, सचिवमा अरबिन्दकुमार चौधरी, सहसचिवहरूमा रवीना तामाङ, उद्धवकुमार भुजेल र रञ्जना खपाङ्गी मगर तथा कोषाध्यक्षमा सूर्यमान तामाङ चयन हुनुभएको छ ।
यसैगरी सदस्यहरूमा उज्वल चौधरी, दीपेन्द्रकुमार चौधरी, मनमाया थोकर, कुशवाहाकान्त मण्डल, गोपालप्रसाद चौधरी र देवी जोशी रहनुभएको छ । जिल्ला समितिमा बाँकी छ सदस्य मनोनित गरिने निर्णय भएको निर्वाचन समिति सदस्य एवं महासङ्घका पूर्वअध्यक्ष यमबहादुर खपाङ्गी मगरले जानकारी दिनुभयो । यसअघि शनिबार मधेस प्रदेश सरकारका सामाजिक विकासमन्त्री नवलकिशोर साहले अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।


