सरकारी सम्पत्तिमा मनपरि गर्नेलाई कदापि छुट दिने छैन -प्रेम आले
काठमाडौं, १७ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल सबै जातजाती तथा धर्मावलम्बीहरुको साझा फूलबारी भएको बताएका छन् ।नेपाल विश्व हिन्दू महासङ्घले आज काठमाडौँमा आयोजना गरेको हिन्दू अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले हाम्रो संविधानले सबै जातिको अधिकार समान रहने गरी धर्मनिरपेक्ष राष्ट्रको परिकल्पना गरेकाले यो राष्ट्र सबैको साझा फूलबारी भएको बताए । उनले भने, “हाम्रो राष्ट्र सबै जातजाति तथा धर्मावलम्बीहरुको अधिकार समान रहने गरी धर्मनिरपेक्ष राष्ट्र घोषित भएको छ, अब यो कुनै एक जातजाति र धर्मावलम्बीको मात्रै देश होइन सबैको साझा देश हो ।”
मन्त्री आलेले नेपाल एक बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक तथा विशेषतायुक्त राष्ट्र भएकाले यहाँ सबैले सामाजिक सद्भाव कायम राखी आ–आफ्ना कला, संस्कृति तथा धार्मिक कार्यहरु गर्न पाउने अधिकार भएको बताए । पछिल्लो समय धार्मिक स्थलमा रहेका जग्गा, जमिन तथा भवनहरु अतिक्रमण गर्ने क्रम बढेकाले ती अतिक्रमण भएका जग्गा, मठ, मन्दिरहरु सबै फिर्ता ल्याउने काम भइरहेको समेत मन्त्री आलेले जिकिर गरे ।उनले भने, “म सरकारी सम्पत्ति हडप्नेका विरुद्धमा खरो रुपमा उत्रिएको छु, राम्रो काम गरेकाले मैले नागरिकको साथ र सहयोग पाइरहेको छु, सरकारी सम्पत्तिमा मनपरि गर्नेलाई कदापि छुट दिने छैन ।”नेपाल विश्व हिन्दू महासङ्घले आयोजना गरेको हिन्दू अन्तर्राष्ट्रिय सम्मेलन दुई दिनसम्म सञ्चालन गरिने आयोजकले जनाएको छ
यो पनि पढ्नुहोस..गलेश्वर,हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङमा कोभिड सङ्क्रमणको अवस्था सामान्य बन्दै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ । स्थलमार्ग र हवाईमार्गबाट गरी दैनिक करिब तीन हजार पर्यटक मुस्ताङ भित्रिन थालेपछि व्यवसायी उत्साहित बनेका छन् । साथै मुस्ताङको रौनक पनि फेरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्रका रूपमा रहेको मुस्ताङमा दैनिक १५ हवाई उडान हुन थालेका जोमसोम विमानस्थलले जनाएको छ । त्यसैगरी म्याग्दी सदरमुकाम बेनीदेखि यातायातका साधनमार्फत मुस्ताङ जानेका कारण बेनी–जोमसोम सडकमा सवारी साधनको बाक्लो लाइन देखिन्छ ।
विगत दुई वर्षयता कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण सुनसान बनेको मुस्ताङमा अहिले पर्यटकको उपस्थिति हवाई र स्थलमार्ग दुवैबाट बाक्लो बनेको पर्यटन व्यवसायीले बताएका छन् । विगतका वर्षमा यो बेलामा कोभिडको जोखिमका कारण पर्यटक जान नपाएको भए पनि यस वर्ष घुम्ने मौसम सुरु भएको छ भने कोभिडको जोखिम कम हुँदै गएको छ ।चैतेदसैँ नजिकिएसँगै मुस्ताङको कागबेनीमा आफ्ना पितृलाई तर्पण र पिण्डदान गर्नेको समेत मुस्ताङमा बाक्लो उपस्थिति देखिन्छ । केही दिन मुस्ताङ घुम्ने र तिथिमा पिण्डदान गरेर फर्कने मनसायले २२ जनाको टोली लिएर मुस्ताङ आउनुभएका नवलपुरको गैँडाकोट नगरपालिका–१२ हर्कपुरका देवलाल पौडेलले मुस्ताङ आफूले सोचेभन्दा धेरै सुन्दर रहेको र अहिले पर्यटकको चाप बढेका कारण होटल पाउनै मुस्किल परेको बताउनुभयो ।
मुस्ताङ घुम्नका लागि उपयुक्त मौसम सुरु भएकाले पनि आन्तरिक तथा बाह्य पर्यटकको यहाँ भीड बढ्न थालेको जोमसोमका तीर्थबहादुर शेरचनको भनाइ छ । त्यसैगरी उपल्लो मुस्ताङको लोमान्थाङमा लगाउने तिजी मेलाको रौनक पनि सुरु भएकाले देश विदेशमा रहेका मुस्ताङ्गी पनि जिल्ला फर्कन थालेका छन् ।मुस्ताङको जोमसोम विमानस्थलका प्रमुख पुस्कलराज शर्माले गत फागुन २२ गतेबाट मुस्ताङ–पोखरा उडान पुनः सञ्चालनमा आएपछि अहिले दैनिक १५ सम्म उडान भएको जानकारी दिनुभयो ।
एउटा उडानमा १८ जनाको क्षमता रहेकाले हवाई मार्गबाट मात्रै दैनिक साढे दुई सयभन्दा बढी पर्यटक मुस्ताङ प्रवेश गरिरहेको उँहाको भनाइ छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार स्थलमार्गबाट मुस्ताङ छिर्नेको पनि उस्तै भीड छ । केही दिनयता दैनिक दुई हजार बढी पर्यटक बस, जिप र मोटरसाइकलमा मुस्ताङ आइरहेको उँहाले जानकारी दिनुभयो ।कोभिडका कारण पर्यटक नआएपछि लामो समयसम्म सुनसान बनेको मुस्ताङको पर्यटन र होटेल व्यवसाय अहिले पुरानै लयमा फर्किन थालेको कागबेनीका होटल व्यवसायी छेप्तेन गुरुङले बताउनुभयो ।
पाहुनाको आगमन बढेसँगै होटेलमा बास बस्न नपाउन सक्ने भएकाले मुस्ताङ आउन लागेकाले पहिले नै बुकिङ गर्ने क्रम बढेको पनि उहाँको भनाइ छ । होटलमा भित्रिएका पर्यटकमध्ये धेरैको सङ्ख्यामा भारतीय र नेपाली रहेको जानकारी दिँदै गुरुङले अन्य मुलुकका पर्यटक पनि विस्तारै देखिन थालेको बताउनुभयो । पर्यटकको आगमन बढेपछि विगत दुई वर्षदेखि सुस्ताएको मुस्ताङको होटल व्यवसायले पुर्नजीवन पाएको व्यवासायीले बताएका छन् ।


