बारको मतगणना आज बिहान ९ बजेदेखि

काठमाडौँ, २२ चैत । नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन लागि आज बिहान ९ बजेदेखि मतगणना सुरु हुने भएको छ । नेपाल बार एशोसिएशन, २०७८ को प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार ३४ केन्द्रबाटै मतपेटिका काठमाडौँ केन्द्रमा आइपुगेको र आज बिहान ९ः०० बजेबाट मतगणना सुरु हुनेछ ।बारको यही चैत १९ गते काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानबाट शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको थियो । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ अधिवक्ता मतदाताले मतदान गरेका थिए । त्यसमध्ये उपत्यकामा पाँच हजार ७०० र उपत्यका बाहिर तीन हजार ५०० रहेका थिए ।

नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच प्रतिस्पर्धा हुने भएको छ । उक्त समूहमध्ये प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गर्नुभएको छ ।

बारमा अध्यक्षका लागि व्यक्तिगतरूपमा र समूहगतरूपमा गरी आठ जनाको उम्मेदवारी परेको छ । संसद्मा प्रतिनिधि नभएको साना राजनीतिक सम्बद्ध समूहबाट पृथ्वीनाथ राईले प्रतिनिधित्व गर्नुभएको छ । नेमतिपा कानुन अध्ययन समाज नेपाल समूहबाट अनिता जोघारीले गर्नुभएको छ । व्यक्तिगतरूपमा उत्तमबहादुर श्रेष्ठ र कमलप्रसाद मलेगाले अध्यक्षको उम्मेदवारी दिनुभएको छ । संसद्मा प्रतिनिधि नभएको साना राजनीतिक दलसम्बद्ध समूहबाट अमिता लक्ष्मी सैजू श्रेष्ठले र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल सम्बद्ध समूहको नेतृत्व उद्धवचन्द्र घिमिरेले गर्नुभएको छ ।

यो पनि पढ्नुहोस…कपिलवस्तु, जिल्लाको सबैभन्दा ठूलो बाणगङ्गा नदीले बनाएको बगर क्षेत्रमा स्थानीय कृषकले खेती गर्दै आएका छन् । नदीको किनारमा रहेको सुक्खा बालुवामय बगरमा उनीहरुले खेती गरी जीवन निर्वाह गर्दै आएका हुन् । चिसो फल तरबुजा, खरबुजा, काँक्रो, घिराँैला, लौका, फर्सी तथा तरकारी उत्पादन गरी आफूहरुले जीवन निर्वाहको माध्यम बनाएको सिहोखोरका किसान रामअसरे केवटले बताउनुभयो । बगरबाट जीविकोपार्जन गर्न बाध्य रहेका भूमिहीन अन्य किसानले त्यसबाट राम्रो आम्दानीसमेत गर्न सफल भएको बताए ।

जिल्लाको बुद्धभूमि, कपिलवस्तु र महाराजगञ्ज नगरपालिका तथा यशोधरा गाउँपालिकाका किसान बगरे खेतीमा सम्लग्न भएको पाइन्छ । जिल्लामा बाणगङ्गाा नदी किनारमा रहेको धनकौली, चेतरादेइ, विजगौरी, बरगदी, बरगदा, पडरिया, पारसडिहवा र हरदौनालगायत गाउँका कृषक पनि बगर खेतीमा सम्लग्न छन् । पडरियाका शिवशङ्कर लोनिया भन्नुहुन्छ, “नदीको बगरमा काँक्रो, तरबुजा तथा लौका, घिरौँला, करेला, फर्सीलगायतको खेतीबाट एक याममा रु ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेको छु ।” चैतको गर्मीमा पनि बालुवाको तापलाई पन्छाउँदै यतिखेर बढी माग भएका फलफूल र तरकारीको स्याहारमा जुटेका बरगदीका पल्टन मुराउले आफूहरुले उत्पादन गरेका फल तथा तरकारीेले राम्रो भाउसमेत पाएको बताउनुभयो ।

यो बगरमा जस्तै जिल्लाको करिब तीन सय बिघा जमिनमा बगरे खेती हुने गरेको जिल्ला कृषि समन्वय इकाइले जनाएको छ । जिल्लाका किसान यो समयमा बाणगङ्गा नदीको किनारमा रहेको बगरे खेतीतर्फ आकर्षित भएका हुन् । छोटो समयमा विभिन्न तरकारीका जातहरु लगाएर उत्पादन गर्न सकिने भएकाले किसानहरु उक्त खेतीतर्फ आकर्षित भएका हुन् । ती स्थानमा मात्र बगरे खेती भइरहेकामा भारतसँग जोडिएका दक्षिणी गाउँहरुमा समेत यस वर्षदेखि बगरे खेती गर्न थालिएकोे छ ।

हरदैना र कजरहवा, धनकौली महाराजगञ्ज, सिसवा, सिहोखोरलगायत स्थानमा समेत खेती गर्न थालिएको छ । खेर गइरहेको नदी किनारामा सानो लगानी गरेर उत्पादन लिन सकिने भएकाले बगरे खेतीको अवधारणाअनुसार कार्यक्रम सुरु गरिएको किसानहरुले बताए । अझ बीउबिजन सिँचाइ, तालिम पाए तरकारी खेती राम्रो हुने उनीहरुको अपेक्षा थियो । जिल्लाको धनकौलीमा सबैभन्दा बढी मात्रामा तरकारी गरिएकामा बिस्तारै अन्य ठाउँमा समेत यसको प्रभाव पर्दै जान थालेको छ । बगरमा बेमौसमी तरकारी र तरबुजाको खेतीबाट बालबच्चाको पढाइलेखाइ र घरखर्च गरेर पनि वर्षमा ५० हजारदेखि एक लाखसम्म जम्मा हुने गरेका किसानहरुले बताए । नदी किनारमा बलौटे माटो भएकाले तरबुजा, खरबुजा, लौका, करेला, काँक्रा, खुर्सानी, भान्टा, गोलभेँडालगायत विभिन्न किसिमका फलफूल तथा तरकारी खेती यहाँ लगाउने गरिएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।