चिस्यान केन्द्र निर्माण

खोटाङ, २७ चैत । किसानले उत्पादन गरेका कृषि उपज भण्डारण गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोमा कोल्डस्टोर (चिस्यान केन्द्र) निर्माण गरिएको छ । सङ्घीय सांसद निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा ३० टन भार क्षमताको कोल्डस्टोर निर्माण गरिएको हो ।

स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रमको रु ५० लाख र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रु ४० लाख गरी कूल रु ९० लाखको लागतमा निर्माण गरिएको चिस्यान केन्द्र शुक्रबारबाट सञ्चालनमा ल्याइएको छ । लाखौँको कृषि उपज कारोबार हुने बुइपास्थित पञ्चदोबाटोको शुक्रबारे हटियामा यसअघि चिस्यान केन्द्र नहुँदा किसानलाई भण्डारणमा ठुलो समस्या हुने गरेको थियो ।

चिस्यान केन्द्र सञ्चालनमा आएसँगै वर्षौँदेखि कृषकले भोग्दै आएको भण्डारण सम्बन्धी समस्या अन्त्य भएको बुइपाका वडाध्यक्ष दिनेश राईले बताउनुभयो । चिस्यान केन्द्रमा किसानले उत्पादन गरेका कृषि उपज न्यूनतम मूल्यमा भण्डारण गरेर राख्ने र बाहिरी जिल्लामासमेत निर्यात गर्ने योजना बनाइएको छ ।

चिस्यान केन्द्रमा भण्डारण गरेर राखिएका हरियो तरकारी महिनादिनसम्म र फलफूल चारदेखि छ महिनासम्म सुरक्षित रहने बताइएको छ । किसानको उत्पादनको सुरक्षा र मूल्यमा स्थिरता कायम गर्ने अवधारणा अनुरूप चिस्यान केन्द्र निर्माण गरेर सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको स्वामित्वमा रहने चिस्यान केन्द्रको रेखदेख वडा कार्यालयले गर्ने कार्यविधि बनाइएको छ । नगरपालिकाले निर्माण गरेको कार्यविधि अनुसार केही समयपछि बुइपाका कृषक समूहमध्ये उत्कृष्ट समूह छनोट गरेर चिस्यान केन्द्र सञ्चालनको जिम्मा दिइने वडाध्यक्ष राईले जानकारी दिनुभयो ।

कृषक समूहले किसानका कृषि उपज भण्डारण गरे बापत मासिक रूपमा नगरपालिकालाई न्यूनतम भाडा बुझाउनुपर्ने जनाइएको छ । पञ्चदोबाटोको दुई रोपनी सार्वजनिक जग्गामा निर्माण गरिएको चिस्यान केन्द्र औपचारिक रुपमा सञ्चालनमा आएपछि स्थानीय कृषकहरुसमेत हर्षित भएका छन् ।

निर्माण उपभोक्तामार्फत निर्माण गरिएको चिस्यान केन्द्र शुक्रबार नेकपा (एमाले) प्रमुख सचेतक विशाल भट्टराईले औपचारिक रुपमा शुभारम्भ गर्नुभयो । जिल्लाका किसान तथा कृषक समूहले उत्पादन गरेका हरियो तरकारी, आलुको बीउ, फलफूल लगायतका कृषि उपज भण्डारण गर्नेगरी बुइपामा निर्माण गरिएको चिस्यान केन्द्र जिल्लाकै पहिलो हो ।

यसैबीच ऐसेलुखर्क गाउँपालिकामा १०० जना मानिस अटाउने क्षमताको सुविधा सम्पन्न सभाहल निर्माण गरिएको छ । गाउँपालिकाले रु ७६ लाख ८२ हजार ९८२ को ठेक्का आह्वान गरेकोमा सक्षम निर्माण सेवा, सुनसरीले रु ४७ लाख ७६ हजार ८०८ मा गाउँपालिकाको सभाहल निर्माण गरेको हो ।

चैत मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी गाउँपालिका र निर्माण कम्पनीबीच सम्झौता भएकोमा निर्माण कम्पनीले सम्झौता मिति अगावै निर्माणको काम सकेर गाउँपालिकालाई हस्तान्तरण गरेको छ । सभाहलमा दुईवटा भण्डारण गृहसमेत निर्माण गरिएको छ भने सभाहल बाहिर तीन हात धुने धारा पनि जडान गरिएको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।