भरतपुर महानगरपालिका : राष्ट्रिय ध्यान एकातर्फ जनताको अपेक्षा अर्काेतर्फ

चितवन, २८ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि यतिखेर भरतपुर महानगरले सबैको ध्यान आकर्षित गरिरहेको छ । देशभरिबाट राजनीतिक रुपमा भरतपुरको प्रमुख (मेयर) को बन्छ भनेर भरतपुरलाई हेरिरहँदा यहाँका जनताको अपेक्षा भने फरक छ । यहाँका जनताको अपेक्षा भने सुशासन, पूर्वाधार, रोजगारी, शिक्षा र स्वास्थ्यमा सहज पहुँच, कृषि उत्पादनमा अनुदान, व्यवस्थित बसोबास, पर्यटन प्रबद्र्धन, दिगो आर्थिक विकास जस्ता विषय जनताको चासोका विषय बनेका छन् ।

चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपाने शिक्षा र स्वास्थ्य निःशुल्क गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुहुन्छ । हुँदै नहुनेले शिक्षा र स्वास्थ्य निःशुल्क रुपमा पाउनुपर्ने भन्दै उहाँले हुनेखानेले सहज र सर्वसुलभ रुपमा शिक्षा र स्वास्थ्य पाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “महानगरले शिक्षा र स्वास्थ्य सकेसम्म निःशुल्क गर्नुपर्छ, पैसा लिनुपर्दा सर्वसुलभ हुनुपर्छ ।”

२१औँ शताब्दीमा पनि उपचार नपाएर कसैले पनि मर्न नहुने उहाँको भनाइ छ । रोजगारीका लागि आवश्यक शिक्षा र तालिमको प्रबन्ध महानगरले गर्नुपर्ने न्यौपानेले बताउनुभयो । उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्ष डा तिलचन्द्र भट्टराई दिगो आर्थिक विकासको रणनीतिअनुसार महानगरमा काम गर्नुपर्ने बताउनुहुन्छ । वातावरण संरक्षण गर्न महानगरले ध्यान दिनुपर्ने भन्दै उहाँले प्राथमिकतामा फोहरमैला व्यवस्थापन, महानगरवासीको प्रतिव्यक्ति आय वृद्धिका लागि काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “उद्योग व्यवसाय खोल्ने वातावरण सिर्जना गरेर रोजगारी दिने गरी काम गर्नुपर्छ ।”

पोल्ट्री व्यवसायी उहाँले पोल्ट्रीको हबका रुपमा परिचित यहाँबाट फार्म विस्थापित हुँदै गएको भन्दै पोल्ट्रीसँग सम्बन्धित उद्योग स्थापनामा सहजीकरण गर्नुपर्ने बताउनुभयो । उद्योग सङ्घ चितवनका निवर्तमान अध्यक्ष राजु पौडेल महानगरवासीको पहिलो अपेक्षा रोजगारी भएको बताउनुहुन्छ । सुशासनको प्रत्याभूति दिलाउँदै सहज सुविधा पाउने वातावरण सिर्जना गर्न उहाँको जोड छ । कृषि उत्पादनको आधारमा दिइने अनुदान प्रभावकारी भएको भन्दै उहाँले त्यस अनुरुपको काम गर्नुपर्ने बताउनुभयो । महानगरले प्रतिलिटर दूधमा रु तीन दिएको अनुदान प्रभावकारी भएको भन्दै यही मोडलमा काम गर्नुपर्ने उहाँले सुझाव दिनुभयो ।

ग्रामीण क्षेत्रमा सडक सञ्जाल राम्रो बनेको भन्दै उहाँले सार्वजनिक यातायात सहज बनाउनु, खेलकुदमा जोड दिन, खुल्ला विश्वविद्यालय स्थापनामा पहल गर्न, स्मार्ट सिटीको काम सम्पन्न गर्न नागरिकको माग रहेको बताउनुहुन्छ ।

व्यवसायी दिनेशकुमार चुके पूर्वाधार विकासमा फड्को मारेको भए पनि अपेक्षाकृत हुन अझै बाँकी रहेको बताउनुहुन्छ । रोजगारमूलक उद्योगको स्थापना गर्न, बाहिरबाट बसाइसराइ गरी आएकालाई सर्वसुलभ रुपमा आवासको व्यवस्था गर्न उहाँले जोड दिनुभयो । पर्यटन क्षेत्रको प्रचुर सम्भावना भएको भन्दै उहाँले यसको व्यवस्थित व्यवस्थापनमा जोड दिनुपर्ने बताउनुभयो । पर्यटकीय क्षेत्रमा लगानी आवश्यक रहेको उहाँको भनाइ छ ।

व्यवसायी राजन गौतम भरतपुर महानगरको विकासमा फरक ढङ्गले सोच्नुपर्ने बताउनुहुन्छ । महानगर नजिकै रहेको नगर वन झुक्किएर बनेको टापु भएको भन्दै नारायणीमा रहेका यस्ता टापुहरु निकालेर नदीलाई एउटै धारमा बगाउने व्यवस्था गर्नुपर्ने उहाँको तर्क छ । उहाँले भन्नुभयो, “नारायणी तटबन्धमा अरबौं खर्च गर्ने होइन, नदीजन्य पदार्थ निकालेर खर्बौको आम्दानी गर्नुपर्छ ।” यसबाट लाखौं बिघा जमिन निस्कन र भरतपुर महानगर बच्ने उहाँको तर्क छ ।

महानगरभित्र बाँझो जमिन राख्न नहुने भन्दै उहाँले बाँझो जमिन राख्नेलाई कारबाही गर्ने गरी ऐन नियम बनाउनुपर्ने बताउनुभयो । मौसम अनुसारको खेतीमा जोड दिनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “बेमौसमी खेती रोक्नुपर्छ ।” व्यावसायिक र कृषि क्षेत्रमा हुने दलालीतन्त्रको अन्त्य गर्नु उहाँको भनाइ छ । जमिनमा आधुनिक प्रविधि प्रयोग गरेर खेती गर्न प्रोत्साहन गर्नुपर्ने गौतमले बताउनुभयो ।(रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।