खोटाङको हलेसीमा ‘सौर्य फोटोभोल्टेइक वाटर पम्पिङ सिस्टम डिजाइन’ तालिम

खोटाङ, ७ वैशाख । प्रदेश सरकार १ नं प्रदेश खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय विराटनगरले खोटाङको हलेसीमा ‘सौर्य फोटोभोल्टेइक वाटर पम्पिङ सिस्टम डिजाइन’सम्बन्धी तालिम सञ्चालन गरेको छ ।

प्रदेश मन्त्रालयले खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुर, उदयपुर र सङ्खुवासभाका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमा कार्यरत २४ इञ्जिनीयरलाई सहभागी गराएर तालिमको आयोजना गरेको हो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र जीआइजेड नेपालद्वारा संयुक्तरुपमा सञ्चालित नवीकरणीय ऊर्जा तथा दक्षता कार्यक्रम (आरइइ)को सहयोगमा सञ्चालित तीनदिने तालिम मङ्गलबार १ नं प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राईले औपचारिकरुपमा शुभारम्भ गर्नुभएको थियो । वैशाख–६ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने तालिमलाई सम्बोधन गर्नुहुँदै उहाँले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न सहभागी इञ्जिनीयलाई आग्रह गर्नुभएको छ ।

विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीस्थित लोलेसुङ रिसोर्टमा जारी तालिममा जीवन वैद्य, सर्वज्ञरत्न तुलाधर र भोला पोखरेललगायत नवीकरणीय ऊर्जासम्बन्धी विज्ञले तालिमको सहजीकरण गरिरहनुभएको छ । तालिममा सहभागी इञ्जिनीयरलाई सौर्य ऊर्जा तथा विद्युतीय प्रविधिको खानेपानी एवं सिँचाइ आयोजना सञ्चालनका लागि तयार गर्नुपर्ने प्राविधिक इष्टिमेट, सौर्य ऊर्जा तथा विद्युत् खपत, आर्थिक लगानीलगायतका बारेमा जानकारी दिइने आयोजकले जनाएको छ ।

पहाडी जिल्लामा बसोबास गर्ने हरेक स्थानीय बासिन्दालाई खानेपानी तथा सिँचाइ सुविधा उपलब्ध गराउन पम्पिङ प्रविधिको योजना सञ्चालन गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको मन्त्रालयका प्रवक्ता रमेशप्रसाद पौडेलले जानकारी दिनुभयो । “पहाडी जिल्ला बढी रहेको १ नं प्रदेशमा तल कोसी बगिरहेको र माथिल्लो भेगमा बसोबास गर्ने स्थानीय बासिन्दालाई खानेपानी तथा सिँचाइ अभाव भएको देखिएको छ”, उहाँले भन्नुभयो, “आगामी आर्थिक वर्षबाट १ नं प्रदेशभित्र पर्ने सुक्खाग्रस्त क्षेत्रमा सहजरुपमा पम्पिङ प्रविधिबाट खानेपानी तथा सिँचाइ सुविधा उपलब्ध गराउन उद्देश्यका साथ पूर्वतयारीस्वरुप इञ्जिनीयरका लागि सौर्य फोटोभोल्टेइक वाटर पम्पिङ सिस्टम डिजाइनसम्बन्धी तालिम आयोजना गरिएको हो ।”

तालिममा सहभागी इञ्जिनीयरलाई हलेसी क्षेत्रमा सञ्चालित बृहत् पम्पिङ खानेपानी आयोजनाको स्थलगत प्रतिवेदनसमेत तयार गर्न लगाइने जनाइएको छ । एघार वडा रहेको हलेसी तुवाचुङ नगरपालिकाका उपभोक्तालाई दूधकोसीको पानी विद्युतीय प्रविधिमार्फत गाउँमा वितरण गर्ने उद्देश्यले सुरु गरिएको बृहत् पम्पिङ खानेपानी आयोजनाको काम करिब ७५ प्रतिशत सम्पन्न भएको ठेकेदार कम्पनीले जनाएको छ ।

तालिमपश्चात दूधकोसी, सुनकोसी, अरुण, तमुरलगायतका नदीमा १ नं प्रदेश सरकारले पम्पिङ प्रविधिको खानेपानी तथा सिँचाइ आयोजना सञ्चालन गर्ने योजना बनाएको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयका सचिव नवीनराज सिंहले बताउनुभयो । यसका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलगायत साझेदार संस्थासँग समन्वय भइरहेको उहाँले जानकारी दिनुभएको छ ।

पहिलो चरणमा छ जिल्लाका इञ्जिनीयर तथा सव–इञ्जिनीयरलाई सहभागी गराएर दिइएको तालिम दोस्रो चरणमा बाँकी रहेका आठ जिल्लाका इञ्जिनीयरलाई सहभागी गराइने जनाइएको छ ।

प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्रमा पम्पिङ प्रविधिको खानेपानी तथा सिँचाइ योजना सञ्चालन गर्नका लागि पहल थालेपछि जिल्लावासी हर्षित भएका छन् । दश स्थानीय तह रहेको पूर्वी पहाडी जिल्ला खोटाङका अधिकांश स्थानीय तहमा खानेपानी तथा सिँचाइको समस्या रहेको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित कालापानीमा पम्पिङ प्रविधिको खानेपानी योजना सञ्चालन भइसकेको छ भने रावाबेंसी गाउँपालिका–४ डुम्रेधारापानीमा निर्माणाधीन अवस्थामा छ । पम्पिङ प्रविधिको खानेपानी योजना सञ्चालन गर्दा विद्युत् महशुल बढी उठ्ने भएकाले उपभोक्तालाई समस्या हुने गरेको उपभोक्ता समितिले जनाएको छ । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।