प्रतिकूल मौसमले उडान प्रभावित
काठमाडौँ, १७ वैशाख । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान सामान्य प्रभावित भएको छ । मौसमको खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा एयरलाइन्सलाई उडान अवतरणमा असहजता पैदा भएको छ । काठमाडौँ बाहिरका विभिन्न विमानस्थलमा पनि उडान सामान्य प्रभावित बनेको जनाइएको छ । विशेषगरी देशको पूर्वी भेगमा बढी वर्षा भएकाले उडान प्रभावित भएको छ । बुद्ध एयरको तुम्लिङटार उडान रद्द भएको कम्पनीका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिनुभयो । विराटनगर विमानस्थल भर्खरै खुलेको छ । अन्य विमानस्थल पनि उडानमा सहजता भइरहेको एयरलान्सले जनाएका छन् ।
यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले मौसम खराबीले काठमाडौँसहित देशभरका विभिन्न विमानस्थलमा उडान प्रभावित भएको बताउनुभयो । “प्रतिकूल मौसमले ठाउँठाउँका विमानस्थलमा उडान समस्या आएको थियो, अहिले बिस्तारै सहज बन्दै गएको छ । बर्षाका बेला आइएफआर उडान मात्रै भएका थिए”, उहाँले भन्नुभयो । उहाँका अनुसार यती एयरलाइन्सका कुनै पनि जहाज रद्द नभएको तर धेरै उडान ‘डाइभर्ड’ भएका थिए । अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ हेलिकप्टरसहित २० वायुसेवा प्रदायकले उडान भर्दै आएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालसम्मको न्यूनचापीय प्रणाली र स्थानीय वायु गरी तीन वटा संयुक्त मौसमी प्रणालीको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले थप केही दिन बदली र वर्षा हुने महाशाखाको अनुमान छ ।
यो पनि पढ्नुहोस..गण्डकी, पोखरा विश्वविद्यालयले पोखरा महानगरपालिका–३०, खुदी, ढुङ्गेपाटनमा आफ्नो १०० शय्याको शिक्षण अस्पताल निर्माणका लागि विस्तृत प्रारम्भिक वातावरणीय परीक्षण (आइई) अध्ययन प्रतिवेदन तयार गर्न सम्झौता गरेको छ ।
विश्वविद्यालयका रजिष्ट्रार डा दीपकबहादुर भण्डारी र श्रेष्ठ कन्सल्टेन्ट प्रालि, ललितपुरका प्रबन्ध निर्देशक इन्द्रलाल श्रेष्ठबीच उक्त सम्झौता भएको विश्वविद्यालयका सूचना अधिकृत लोकप्रसाद ढकालले जानकारी दिनुभयो । वातावरणीय परीक्षणबाट अस्पतालको स्थापनाले स्थानीय क्षेत्रमा भौतिक, जैविक, सामाजिक–आर्थिक, जनस्वास्थ्य र सांस्कृतिक पक्षमा पर्नसक्ने सम्भावित वातावरणीय प्रभावका पहिचान, सम्भावना र विश्लेषण गर्नेछ ।
प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्नेतर्फ अध्ययन प्रतिवेदन केन्द्रित हुने र यस कार्यले परियोजना वा अस्पताल क्षेत्र तथा यसको वरपरका समुदायलाई पर्यावरणीय स्रोत, सामाजिक–आर्थिक र स्वास्थ्य लाभमा सुधार पहुँच गर्नसमेत मद्दत पुग्ने विश्वास लिइएको छ । वातावरणीय परीक्षण अध्ययन प्रतिवेदन चार महिनाभित्र पूरा गर्नुपर्ने छ ।पोखरा विश्वविद्यालय अस्पताल निर्माण एउटा बृहत् योजना भएको र यसका आवश्यक पूर्वाधार निर्माण गर्न अझै केही वर्ष लाग्ने भएकाले विश्वविद्यालयले हालको छात्रावासलाई परिमार्जन गरी अस्पताल सञ्चालनको तयारी गरिरहेको ढकालले जानकारी दिनुभयो । छात्रावासलाई स्थायी अस्पताल भवन नबनेसम्म १०० शय्याको अस्पतालको रूपमा प्रयोग गर्ने योजनास्वरूप विश्वविद्यालयले बोलपत्र आह्वान गरिसकेको छ ।


