‘सलाम वालेकुम’ भन्दै विमानस्थलमा ब’म राखेको छु भन्दै फोन गर्ने व्यक्ति को हुन् ?

कृष्णसिंह धामी/काठमाडौं, २१ वैशाख । बुधबार बिहान ९ः४० बजेतिर एक नेपाल बाहिरको नम्बरबाट फोन आयो । जुन फोन अफिसको एक्सचेन्ज नम्बरमा दुई पटक फोन आयो । त्रिभुवन विमानस्थलमा खटिएका टर्मिनल ड्युटी अफिसरले फोन उठाए ।

फोन उठाउने विक्तिकै उताबाट भनियो,– ‘सलाम वालेकुम । तपाईंको डोमेस्टिक टर्मिनल क्षेत्रको सात ठाउँमा बम राखिएको छ । दुई घण्टाभित्र विस्फोट हुन्छ ।’

त्यसको केही समय पुनः फोन आयो । यताबाट टर्मिनल ड्युटी अफिसरले प्रश्न गर्न नपाउँदै उताबाट सात ठाउँमा बम राखिएको र दुई घण्टाभित्र विस्फोट हुने कुरा दोहोर्‍याए ।

आन्तरिक उडानतर्फका ड्युटी अफिसरले तत्कालै नागरिक उड्डयन प्राधिकरणको कार्यालयका अधिकारीलाई जानकारी गराए । त्यसपछि तत्कालै सुरक्षा निकायलाई खबर गरियो । बिहान ९ः४० देखि ९ः५० को बीचमा बम राखेकोबारे सूचना पाएपछि विमानस्थल प्रशासनले एक्सन लियो ।

विदेशकै नम्बरबाट आएको फोनमा बोल्ने व्यक्ति भने नेपाली बोलिरहेका थिए । तुरुन्तै विमानस्थल प्रशासन, कार्यरत सुुरक्षा निकाय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली परिचालन भयो । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार डोमेस्टिक टर्मिनलको सम्पूर्ण क्षेत्रमा सर्च अप्रेशन चलायो ।

बम डिस्पोजल टोलीद्वारा यात्रु बस्ने क्षेत्र, सुरक्षा जाँच गरिने क्षेत्रमात्र नभएर शौचालयहरूमा समेत सर्च गरियो । सर्च गर्दा त्यस्तो शंकास्पद वस्तु केही पनि नपाइएको प्रवक्ता सिटौलाले जानकारी दिए । बम राखेको सूचना आएपछि १० बजेदेखि नै सर्च अप्रेशन सुरू गरिएको उनको भनाइ छ ।

सर्च अप्रेशन सुरु गर्नुअघि एयरपोर्ट इमरजेन्सी प्लानअनुसार अपनाउनुपर्ने सावधानी अपनाएर टर्मिनलभित्र रहेका यात्रु तथा सबै कर्मचारीलाई बाहिर निकालियो । र सबै विमानहरूको उडान बन्द गरियो ।

सुरक्षा निकायले तालिमप्राप्त कुकुरदेखि बम डिडेक्टरको सहायताले सर्च अप्रेशन चलाइएको थियो । तर, केही पनि शंकास्पद बस्तु फेला नपरेको प्रवक्ता सिटौलाले बताए ।

थ्रेट दिने व्यक्तिबारे सुरक्षा निकायलाई जानकारी गराइएको र सुरक्षा निकायले अनुसन्धान प्रक्रिाय अघि बढाइसकेको उनको भनाइ छ । शंकास्पद बस्तु फेला नपरेपछि बिहान ११ः१० बजेदेखि विमानस्थल सुचारु गरिएको उनको भनाइ छ ।

विमानस्थल सुरक्षा प्रहरी प्रमुख एसएसपी भीम ढकालले थ्रेटकलबारे अनुसन्धान थालिएको बताए । ‘फोन गर्ने व्यक्तिबारे अनुसन्धान थालिसकेका छौं । अनुसन्धानपछि नै थप कुराहरू खुल्नेछन्,’ ढकालले भने ।

विमानस्थलमा कुनै थ्रेट आएको खण्डमा बम नै राखिएको जस्तो मानेर अप्रेशन गर्नुपर्ने विमानस्थल प्रवक्ता सिटौलाले बताए । ‘बम थ्रेट आएपछि यसलाई मजाकको रूपमा नलिई साच्चिकै बम नै राखिएको हो भनेर हामीले त्यहीअनुसार काम गर्छौ,’ प्रवक्ता सिटौलाले भने, ‘किनकि त्यो थ्रेट साँच्चै हो कि झुटा हो भन्ने कुरा त हामीलाई थाहा हुँदैन । त्यसैले हामीले साँच्चै नै बमै हो भनेर काम गर्नुपर्छ ।’

यो बीचमा कुनै शंकास्पद बस्तु देखेमा तत्कालै सुरक्षा निकायलाई जानकारी दिन सबै यात्रुहरूलाई अनुरोध गरिएको उनको भनाइ छ । एक घण्टाभित्रै सर्च अप्रेशन सकिएको भन्दै डिले भएका सबै उडान आज दिनभर गन्तव्यमा पुर्‍याइसकिने बताए ।

‘केही विमानस्थल राति १२ बजेसम्म सञ्चालन हुन थालिसकेका छन् । एक घण्टा मात्रै डिले भएको हो । यसमा रातिसम्म भए पनि सबै उडान सक्नुपर्छ,’ प्रवक्ता सिटौलाले भने ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।