सप्तरीमा मतदानस्थल परिवर्तन
सप्तरी, २८ वैशाख । जिल्लामा आज एउटा मतदानस्थल परिवर्तन गरिएको छ । जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार चार मतदान केन्द्र रहेको विष्णुपुर गाउँपालिकास्थित गाविस भवन जमुनी मधेपुराबाट मतदानस्थल फेरिएको हो ।सो मतदानस्थललाई शारदा मावि जमुनी मधेपुरामा सारिएको जिल्ला निर्वाचन अधिकारी रमेश जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार पुरानो ठाउँबाट उक्त मतदानस्थल एक सय मिटरको दूरीमा छ ।
पहिले तोकिएको मतदानस्थलमा स्थान अभावका कारण मतदान गर्न ज्यादै असहज हुने भएकाले निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकले नयाँ स्थल कायम गरेको निर्वाचन अधिकृत यादवप्रसाद न्यौपाने बताउनुभयो ।
आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लामा २९७ मतदानस्थल निर्धारण गरिएको छ । यसमा २०८ अतिसंवेदनशील, ८५ संवेदनशील र चार मतदानस्थल सामान्य रहेको छ । जिल्लाको नौ नगरपालिका र नौ गाउँपालिकाको २९७ मतदानस्थलमा व्यवस्था गरिएको ५३६ मतदान केन्द्रका लागि ५३६ मतदान अधिकृत र यतिकै सङ्ख्यामा सहायक मतदान अधिकृत खटिएका छन् ।मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगीहरु मतपत्र, मतपेटिकालगायत निर्वाचन सामग्री लिएर आ–आफ्नो मतदान केन्द्रमा हिँडिसक्नुभएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले बताउनुभयो ।
यो पनि पढ्नुहोस..रामपुर । आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय पाल्पाले दसवटै पालिकाका विभिन्न मतदान केन्द्रमा कर्मचारी खटाएको छ । जिल्लामा निर्वाचनको तयारी तीव्र पारिएको छ । निर्वाचनका लागि आवश्यक ७० प्रकारका सामग्री बुझेर कर्मचारी मतदान केन्द्रमा पुगिसकेका छन् । टोलीमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी, प्रहरी र म्यादी प्रहरी छन् । जिल्ला निर्वाचनको कार्यालयबाट मतदानका लागि चाहिने आवश्यक सामग्री र मुख्य निर्वाचन अधिकृतको कार्यालय तानसेनबाट मतपत्र बोकेर मतदान केन्द्रमा खटिएको कार्यालयले जनाएको छ । मतदानस्थमा घेराबार गर्ने, सर्वदलीय बैठक बसाल्ने, विभिन्न किसिमका निर्वाचन सूचना टाँस गर्ने, मतदाता परिचयपत्र वितरण गर्ने, मतदानस्थलमा मतदाता शिक्षा दिने जस्ता कार्यक्रम अगाडि बढाइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रुक्मागत अर्यालले जानकारी दिनुभयो ।
मतदानका लागि चाहिने मतपत्र रुजु गरेर मतदान अधिकृतहरुको जिम्मा लगाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत भेषराज खनालले बताउनुभयो । निर्वाचनका लागि २४७ मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित एक हजार ९७१ कर्मचारी, एक हजार ८० म्यादी प्रहरी, ७०४ नेपाल प्रहरी, २१८ जना सशस्त्र प्रहरी, ४१६ नेपाली सेना खटिएका छन् ।जिल्लामा एक लाख ९९ हजार ६९० मतदाता रहेका छन् । स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित बनाउन चारवटै सुरक्षा निकायको व्यवस्थापन तथा खटनपटनलाई चुस्तदुरुस्त पारिएको छ । जिल्लामा ११८ मतदानस्थलमध्ये ५७ सामान्य, ४५ संवेदनशील र १६ अति संवेदनशील रहेका जनाइएको छ ।


