आचारसंहिताको गम्भीर उल्लङ्घन पाइए जरिवाना र कारबाही हुन्छ : आयुक्त भण्डारी

प्रकाश सिलवाल/काठमाडौँ, २९ वैशाख । निर्वाचन आयोगले शुक्रबार हुने स्थानीय तह निर्वाचनको मौन अवधिमा आचारसंहिताको पालनामा कडाइ गर्दै सुक्ष्म अनुगमन संयन्त्र सक्रिय तुल्याएको छ । गत चैत २५ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिता, २०७८ निर्वाचन हुने ४८ घण्टा अघि सुरु भएको मौन अवधिका लागि थप कडाइ गरिएको हो ।

यस अवधिमा आफ्ना पक्षका उम्मेदवारलाई सामाजिक सञ्जालबाट मत मागेको विषयमा नेकपा (एमाले)का उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र नेकपा (माओवादी केन्द्र)का बागमती प्रदेश कमिटी सदस्य गङ्गा दाहाललाई आचारसंहिता उल्लङ्घन हुने गरी मौन अवधिमा क्रियाकलाप गरेको विषयमा आयोगले वैशाख २८ गते २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

आयोगले आचारसंहिताविपरीत दल र उम्मेदवार तथा अन्य पक्षले गर्न सक्ने क्रियाकलापको अनुगमनका लागि विभिन्न तहमा संरचना बनाएको छ । आयोगका अनुगमन हेर्ने आयुक्तको संयोजकत्वमा केन्द्रीय आचारसंहिता अनुगममन समिति, जिल्लामा मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय तहमा निर्वाचन अधिकृतको संयोजकत्वमा स्थानीय तहको आचारसंहिता अनुगमन समितिको प्रबन्ध गरिएको छ । सहायक निर्वाचन अधिकृतलाई अनुगमन अधिकृत तोकेको छ । यी संरचनाका अतिरिक्त विशेष संवेदनशील मानिएका जिल्ला र पालिकामा विशेष अनुगमनका लागि अधिकार प्रत्योजनसहित १७ वटा विशेष अनुगमन टोली खटाइएको छ । सो टोलीले आचारसंहिताविपरीत दल र उम्मेदवारले झण्डा, गाडी प्रयोग गरेमा, अनाधिकृत सामानको ओसारपसार वा रकम वितरण गरेको पाइएमा कब्जामा लिएर तत्काल कारबाही गर्न वा कुनै समस्या परेमा आयोगलाई तत्काल जानकारी गराउनेछ । आयोगले आचारसंहिता कार्यान्वयन भएयता विभिन्न पार्टीका शीर्ष नेता, मुख्यमन्त्री, उम्मेदवार, सरकारी ओहोदामा रहेका व्यक्ति, पत्रकारका सङ्गठन र सञ्चारमाध्यमलाई गरी करिब एक सय स्पष्टीकरण सोधको छ ।

त्यसमध्ये केहीलाई ध्यानाकर्षण र सचेत गराइएको छ भने अनुगमन र छानविनको क्रम जारी राखेको छ । आयोगमा अनुगमन हेर्ने निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको संयोजकत्वमा केन्द्रीय अनुगमन समिति गठन गरिएको छ । आयुक्त भण्डारीले रासससँगको कुराकानीमा हालसम्मको जानकारीमा उम्मेदवारले दिएका द्वेशपूर्ण अभिव्यक्ति दिएको, सञ्चारमाध्यम र पत्रकारले पालना गर्नुपर्ने आचरण पालना नगरेको, निर्वाचन प्रचारका क्रममा बालबालिकाको प्रयोग गरेको, आर्थिक प्रलोभन देखाइएको, कतिपय सरकारी कर्मचारीले कुनै दलको पक्षधरता देखाएको जस्ता प्रकृतिका उजुरी प्राप्त भएको भएको बताउनुभयो ।

आचारसंहिता उलङ्घन गर्नेलाई आयोगले स्पष्टीकरण मात्र सोध्ने हो कि अन्य कारबाही पनि गर्ने हो ? भन्ने प्रश्नमा आयुक्त भण्डारीले भन्नुभयो, “प्राकृतिक न्यायका आधारमा उलङ्घनकर्ता वा त्यसको आरोप लागेका व्यक्तिलाई सफाइको मौका दिनका लागि पनि स्पष्टीकरण सोध्नुपर्ने हुन्छ । प्राप्त जवाफ र तथ्य, प्रमाणका आधारमा सामान्य घटना भएमा तामेलीमा राख्ने, गल्ती गरेको अवस्थामा जवाफकर्ताले आत्मालोचना गरेमा वा गल्ती नगर्ने प्रतिबद्धता जनाएमा सचेत गराउने कारबाही हुन्छ ।

गम्भीर प्रकृतिको उलङ्घन भएको पाइएमा जरिवाना र अन्य कारबाहीबारे निर्णय गरिन्छ । भण्डारीका अनुसार आचारसंहिता सबैका लागि उत्तिकै लागू हुने र आयोगको स्रोत साधनले सबैतिर अनुगमन गर्न पहुँच नपुगेको हुन सक्ने भएकाले यसमा सचेत नागरिक, जिम्मेवार सबै पक्षले सघाउनुपर्छ । उहाँले राजनीतिक दलहरुले पालना गर्ने हो भने धेरै हदसम्म उलङ्घनका घटना नहुने जनाउँदै भन्नुभयो, “आचारसंहिता एक नैतिक र कानुनी बन्धन हो । कतिपय सन्दर्भमा पालनामा असहयोग गर्ने प्रवृत्ति रहेको हुनसक्छ । तर सबैले इमानदारिताका साथ लागू गर्ने हो भने समस्या आउँदैन । मूलत आचारसंहिता प्रभावकारीरुपमा कार्यान्वयन गर्नकै लागि जारी भएको हो ।”

मौन अवधिमा कुनै माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने किसिमका कुनै पनि गतिविधि गर्न नपाइने हुँदा सो अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिको सम्बन्धमा निगरानी राखी त्यस्तो गतिविधि हुन नदिने तथा मतदानको दिन मतदातालाई सुरक्षित रुपमा मतदान केन्द्रसम्म पुग्न र मतदान केन्द्रबाट फर्किनसक्ने बातावरण निर्माण गर्न आयोगले आह्वान गरेको छ ।

सो अवधिमा मतदातालाई कुनै पनि प्रकारको अवरोध हुन नदिन आवश्यक व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा सबै स्थानीय प्रशासनलाई आयोगले निर्देशनसमेत दिएको छ । निर्वाचनको व्यवस्थापकीय कार्यलाई थप सहज बनाउन, राजनीतिक दल तथा उम्मेदवारबाट हुने अवाञ्छित गतिविधिलाई रोक्न तथा मतदानका लागि सुरक्षित तथा भयरहित वातावरण सिर्जना गर्न निर्वाचनमा मौन अवधि आवश्यक हुन्छ ।

मौन अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने, राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री राखिएको भए तत्काल हटाउनुपर्ने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार प्रसारका सामग्री पोष्ट वा शेयर गर्न, गराउन हुँदैन ।रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।