‘कर्णालीमा प्रचलित दर्शन–परम्परा’ प्रकाशित
काठमाडौँ, १३ जेठ । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘कर्णालीमा प्रचलित दर्शन–परम्परा’ नामक पुस्तक प्रकाशन गरेको छ। नियात्रा विधामा साधनारत विष्णुप्रसाद शर्मा पराजुलीद्वारा लिखित सो पुस्तकमा जगत्को उत्पत्ति र मानव सभ्यताको विकासअन्तर्गत ब्रह्माण्ड, पृथ्वी र प्राणीको उत्पत्ति, मानव सभ्यताको विकास र बसोबास तथा नेपालको सामान्य चिनारी, नेपाली दर्शनका आधारमा दर्शनको आधार र परिचय तथा वेद र उपनिषद्मा हिमाली उपमहादेशको दर्शनको परिचय दिइएको छ । त्यस्तै मानव सभ्यता, कर्णालीमा दर्शन परम्परा, संस्कृति र मष्टो कुलायन परम्परा, कर्णालीमा प्रचलित दर्शन–परम्परामा लोकायत, बोन, शाक्त, शैव, वैष्णव, साङ्ख्य, बौद्ध, मीमांसा र ब्रह्म दर्शनबारे चर्चा गर्दै कर्णालीमा ती दर्शनको अवस्थाबारे जानकारी दिइएको छ ।
नेपालमा प्रचलनमा रहेका जैन, वैशेषिक, न्याय र योग दर्शन तथा कर्णालीको ऐतिहासिक पक्ष, खस साम्राज्य र संस्कृतिको परिचयसहित दर्शनमा प्रवेश गरेका हुनाले कर्णालीका लागि त पुस्तक सन्दर्भ ग्रन्थ बन्न पुगेको छ । सरल भाषामा मानवसहित दर्शनको विकाससम्मको चर्चा गरिएको हुनाले दर्शनबारे सामान्य जिज्ञासा राख्न चाहने पाठक तथा विद्यार्थीका लागि पुस्तक उपयोगी रहेको लेखकले जनाउनुभएको छ । कूल ४४८ पृष्ठ रहेको पुस्तकको मूल्य ४८५ छ । पराजुलीका यसअघि ‘तिब्बत यात्रा’(२०७२) (अङ्ग्रेजी र नेपाली), ‘डोल्पोः विश्वको जीवित सङ्ग्रहालय’ (२०७४) र ‘श्वेत पर्वत’(२०७८) प्रकाशित भइसकेका छन् ।
शैक्षिक सत्र सुरु भयो, पाठ्यपुस्तक छैन
उदयपुर, १३ जेठ । समयमा पाठ्यपुस्तक प्राप्त नहुँदा उदयपुरको विद्यालयमा पठनपाठनमा समस्या भएको छ । नयाँ शैक्षिकसत्र सुरुआत भएसँगै अहिले जिल्लाको विद्यालयमा भर्ना अभियान जारी छ । भर्ना भएका बालबालिकाको हातमा अध्ययन गर्ने पाठ्यपुस्तक प्राप्त हुन नक्दा पठनपाठनमा समस्या भएको हो । बालबालिका विद्यालय पुगेर उपस्थित भई घर फर्किन थालेका छन् ।
जिल्लाको उत्तरी क्षेत्रको लिम्चुङबुङ गाउँपालिका–४ बलाम्ताको पर्शुरामपद्मा माविका कक्षा १० मा अध्ययनत छात्र सुरेन्द्र राईले पढ्ने पुस्तक नभएको गुनासो गर्नुभयो । जिल्ला सदरमुकाम गाईघाटमा पुस्तक लिन आउनुभएका उहाँले भन्नुभयो, “विद्यालयमा पठनपाठन सुरु भइसक्यो । पुस्तक लिन गाईघाट आएँ । तर कहीँ पाइएन । रित्तै घर फर्कँदैछु ।”
रौतामाई गाउँपालिका–४ मलबासेका ५५ वर्षीय जीतबहादुर मङ्ग्राती आफ्ना छोराहरूका लागि पुस्तक नपाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “यसपटक समयमै स्कुल त खुल्यो, अहिलेसम्म किताब छैन । कसरी पढाउने, चिन्ता लाग्न थालेको छ ।” अहिले जिल्लाका सरकारी र अधिकांश निजी विद्यालयमा पुस्तक अभाव रहेको शिक्षकले जनाएका छन् । जिल्लाका केही निजी विद्यालयमा भने ६० प्रतिशत पाठ्यपुस्तक उपलब्ध भइसकेको भए पनि सरकारी विद्यालयमा भने पाठ्यपुस्तक प्राप्त गर्न नसकेको शिक्षक तथा विद्यार्थीको गुनासो छ।
बालमन्दिर मावि गाईघाट बोक्सेका प्राचार्य जङ्गबहादुर खड्का भन्नुभयो, “नयाँ शैक्षिकसत्र सुरु भयो । स्थानीय तहको निर्वाचनका कारण केही दिन विद्यालय बन्द भए । अब सञ्चालन हुन थालेका छन् । विद्यालयमा पाठ्यपुस्तक प्राप्त हुन नकसकेको कारण पठनपाठनमा समस्या भएको छ ।”पुस्तक पसल सञ्चालक विष्णु न्यौपानेले भन्नुभयो, “आफूहरूले त चैतदेखि नै काठमाडौँका पुस्तक प्रकाशक र डिलरहरूसँग पुस्तक मगाए पनि कतिपय पुस्तक अझै प्रकाशन हुन बाँकी रहेको भन्ने उत्तर पाएको कारण अझै पुस्तक उपलब्ध हुन दुई÷चार हप्ता लाग्न सक्छ।”


