जहाज बेपत्ता अपडेटः १९ यात्रु लिएर उडेको थियो

पोखरा, १५ जेठ । जोमसोमका लागि पोखराबाट तारा एयरको ट्वीनअटर विमान ९ बजेर ५५ मिनेटमा उडेको थियो । यहाँ १७ देखि बढीमा २० मिनेटमा जहाज पुग्छ । तर, जहाज उडेको १ घण्टासम्म पनि सम्पर्क हुन सकेको छैन ।

विमानस्थलका अनुसार जहाजमा १९ यात्रु थिए । अहिले हेलिकोप्टर पठाउने तयारी भइरहेको छ । एउटा हेलिकोप्टर जोमसोममै भए पनि मौसम खराबीका कारण उड्न नसकेको बताइएको छ ।अहिले यो रुटमा बादल लागिरहेको बताइएको छ । यसअघि बिहान समिट एयरको २ जहाज जोमसोम पुगिसकेको थियो ।

सगरमाथा दिवस मनाइयो
काठमाडौँ, १५ जेठ (रासस) ःआज १५औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानव पाइला टेकिएको ६९ वर्ष पूरा भएको छ । सन् १९५३ मे २९ तारिख आजकै दिन दुई पर्वतारोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलो पटक सगरमाथामाको शिखरमा पुगी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिएका थिए । यस घटनाले विश्वभर नै ठूलो चर्चा पायो र नेपालले सगरमाथाको देश भनेर संसारभर ख्याति पायो ।

दुई साहसी आरोही शेर्पा र हिलारीले सगरमाथा आरोहण गरेको दिन (मे २९ तारिक) को स्मरणमा सरकारले हरेक वर्ष जेठ १५ लाई सगरमाथा दिवसका रूपमा मनाउने गरेको छ । आरोही हिलारीको सन् २००८ जनवरी ११ मा निधन भएको थियो । नोर्गेको सन् १९८६ मे ९ मा निधन भएको थियो । संयोग नेपालमा गणतन्त्र दिवस र सगरमाथा दिवस एकै दिन परेको छ ।

सोही ऐतिहासिक घटनाको स्मरण गर्दै मे २९ लाई अन्तरराष्ट्रिय सगरमाथा दिवसका रूपमा नेपाल र विदेशमा समेत विभिन्न कार्यक्रमका साथ मनाउँदै आएको छ । नेपालमा सन् २००८ मा साहसी आरोही हिलारीको निधन भएको सन्दर्भ पारेर पर्यटन मन्त्रालयले अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउदैँ आएको छ ।

मूल आयोजक समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, पर्यटन सचिव महेश्वर न्यौपाने, पर्यटन क्षेत्रका अगुवा व्यक्तित्व, कीर्तिमानी आरोही, पर्यटन व्यवसायीलगायतको सहभागीता रहेको छ ।

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामाले पर्वतारोहणलाई सुरक्षित र व्यावसायिक बनाइनुपर्नेमा जोड दिनुभयो ।कीर्तिमानी आरोही कामीरिता शेर्पाले पर्वतारोही शेर्पा पथ प्रदर्शकको समस्यालाई सम्बोधन गर्न सरोकारवाला निकायले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले दिवस मनाउनुको औचित्यबारे प्रकाश पार्दै पुरस्कृत आरोहीको विवरण घोषणा गर्नुभएको थियो ।

कार्यक्रममा रु एक लाख राशिको अन्तरराष्ट्रिय सगरमाथा पुरस्कार प्रख्यात आरोही निर्मल पुर्जालाई प्रदान गरिएको छ । यस्तै रु ५० हजार राशिको तेञ्जिङ हिलारी पुरस्कार पर्वतीय पर्यटनमा उल्लेखनीय योगदान गर्ने र विभिन्न कीर्तिमान कायम गर्ने टासीलाक्पा शेर्पा, मिङमा ग्याल्जेन शेर्पा, खिमलाल गौतम र दाबा शेर्पालाई प्रदान गरिएको छ । ती सबै पुरस्कार पर्यटनमन्त्री आलेले वितरण गर्नुभएको थियो । औपचारिक कार्यक्रमअघि पर्यटन व्यवसायी एवं सरोकारवालाहरूको अगुवाइमा ठमेलदेखि कार्यक्रमस्थल कमलादीसम्म प्रभातफेरी आयोजना गरिएको थियो ।

सगरमाथा आरोहणको इतिहासमा हालसम्म करिब सात हजार स्वदेशी तथा विदेशी पर्वतारोहीले सर्वोच्च शिखरको साहसिक विजययात्रा पूरा गरिसकेका छन् भने सगरमाथा चढ्ने होडबाजीका साथै आरोहीहरूले नयाँनयाँ कीर्तिमानसमेत थप्दै आएका छन् । पछिल्लो पटक कामीरिता शेर्पाले २६ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाएका छन् । शेर्पाले सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गर्नुभएको थियो । आप्पा शेर्पाले २१ पटक तथा अन्य कीर्तिमानी आरोहीले नयाँ रेकर्ड बनाएका थिए ।

पर्यटन विभागले प्रकाशन गरेको ‘माउन्टेनियरिङ इन नेपाल, फ्याक्ट्स एन्ड फिगर–२०२०’ का अनुसार नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एडमण्ड हिलारीले आरोहण सुरु गरेयता हालसम्म ६ हजार ५०७ आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । हालसम्म सगरमाथा आरोहण गर्ने महिला मात्र ४७१ जना पुगेका छन् । सन् १९७५ मे १६ तारिखका दिन जापानी आरोही जुनको तावेईले सगरमाथा आरोहण गरेर पहिलो महिला सगरमाथा आरोहीको उपमा पाउनु भएको थियो ।

सोलुखुम्बुकी पासाङ ल्हामु शेर्पाले विसं २०५० वैशाख १० गते सगरमाथाको आरोहण गरी सगरमाथा चढ्ने प्रथम महिला आरोहीको कीर्तिमान कायम गर्नुभएको थियो । जापानी नागरिक जुन्को तावेई विश्वकै पहिलो महिला सगरमाथा आरोहीको रेकर्ड छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।