घट्यो सुनको मूल्य
काठमाडौँ, १८ जेठ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार २०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९८ हजारमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु ८०० ले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले घटेर रु एक हजार २५० तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८३१ डलर आसपास कारोबार भइरहेको छ ।
मनाङका स्थानीय तहलाई रु३७ करोड ३६ लाख बजेट
मनाङ, १८ जेठ । हिमाली जिल्ला मनाङका चार स्थानीय तहलाई सङ्घीय सरकारबाट रु३७ करोड ३६ लाख बजेट विनियोजन भएको छ । जिल्लाका चार पालिकालाई सङ्घ सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेट बाँडफाँट गरेको हो ।सबैभन्दा बढी मनाङ प्रवेश पालिका नासों गाउँपालिकालाई रु१९ करोड ७१ लाख बजेट विनियोजन गरिएको छ । चामे गाउँपालिकालाई रु१६ करोड ९७ लाख, मनाङ ङिस्याङ गाउँपालिकालाई रु१६ करोड ४४ लाख र नार्पाभूमि गाउँपालिकालाईरु१४ करोड २४ लाख बजेट विनियोजन भएको मनाङ ङिस्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीनारायण यादवले जानकारी दिनुभयो ।
सङ्घीय सरकारले सशर्त, विशेष अनुदान, समपूरक अनुदान, राजस्व बाँडफाँटलगायत शीर्षकमा स्थानीय तहलाई अनुदान दिने गरेको छ । सङ्घ सरकारले रणनीतिक (मनाङको मेरुदण्ड) डुम्रे–बेँसीसहर–चामे मनाङ सडक निर्माणका लागि बजेट विनियोजन गरेको छ । बहुवर्षीय योजनाका रूपमा सङ्घ सरकारले रु६१ करोड २८ लाख बजेट विनियोजन गरेको छ।
प्रदेश सरकारले दिने अनुदान, सङ्घीय अनुदान र स्थानीय स्रोतसमेत समावेश गरेर स्थानीय तहले बजेट निर्धारण गरेको छ । सङ्घीय सरकारको बजेट आएसँगै मनाङका स्थानीय तहले धमाधम नीति तथा कार्यक्रम र बजेट निर्धारणका लागि योजना तर्जुमा भेला गरी सुझाव सङ्कलन गरिरहेका छन् ।


