हलेसी मन्दिर व्यवस्थापन समितिको कार्यालयमा चार वर्षअघि लागेको ताला खुल्यो
खोटाङ, २ साउन । खोटाङको त्रि–धार्मिकस्थल हलेसीको हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको कार्यालयमा चार वर्षअघि लागेको ताला खुलेको छ । हलेसी तुवाचुङ नगरपालिकाले बनाएको एउटा र गुठी संस्थानले बनाएको अर्को मन्दिर व्यवस्थापन समिति अस्तित्वमा आएपछि विवाद चर्किदा २६ भदौ २०७५ मा लागेको ताला आइतबार खोलिएको हो । हलेसी महादेव मन्दीर व्यवस्थापन समितिको कार्यालयमा लागेको ताला हलेसी तुवाचुङ नगरपालिकाको मेयर बिमला राईको पहलमा खुलाइएको हो ।
उपमेयर रमेश राउत, वडाध्यक्ष कमल गिरी, हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेल, इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरिक्षक सुनिल धाँजु लगायतको उपस्थिति रहेको हलेसी महादेव मन्दिरको व्यवस्थापन सम्वन्धी छलफलमा मेयर राईले राखेको प्रस्ताव अनुसार ताला खोलिएको हो । हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसीमा ताला लागेको विषयले नकरात्मक सन्देश गइरहेकाले ताला खोल्न ‘कन्भिन्स’ गरेको मेयर राईले बताइन् ।
कामपाको प्रवक्तामा मानन्धर
काठमाडौँ, २ साउन । काठमाडौँ महानगरपालिकाले प्रवक्ताका रुपमा वडा नं १७ का अध्यक्ष नवीन मानन्धरलाई नियुक्त गरेको छ । उहाँकामपाको सूचना प्रविधि समितिका संयोजकसमेत हुनुहुन्छ । कामपाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा आइतबार बसेको छैटौँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।
साथै बैठकले वर्षको इन्द्रजात्रा अवलोकन गर्न कामपासँग भगिनी सम्बन्ध भएका नगरबाट प्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गर्ने निर्णयसमेत गरेको छ । यसअघि २०७६ सालको इन्द्रजात्रामा अवलोकन गर्न कामपाले छवटा देशका १३ नगरबाट प्रमुख, उपप्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गरेको थियो ।
तत्कालीन समयमा पाँचवटा देशका ११ वटा नगरबाट चार जना प्रमुख, उपप्रमुखसहित ४१ पाहुना सहभागी हुनुभएको थियो । बैठकले महानगरको सार्वजनिक खरिद नियमावली संशोधनका लागि सहमति दिएको छ । चालु अर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार यस वर्षदेखि वडाबाट खुला प्रतिस्पर्धात्मक विधिबाट सेवा खरिद हुनेछ । यसका लागि खरिद नियमावली संशोधन गर्नुपर्ने भएको हो । बैठकका राजस्व विभागका प्रमुख डा शिवराज अधिकारीले अहिलेसम्म खाद्य संस्थान र बीमा संस्थाने राजस्व नतिरेको जानकारी गराउनुभएको थियो ।


