देश त्यसै कहाँ उभो लाग्छ ?
कविता
देश त्यसै कहाँ उभो लाग्छ ?
एउटा प्रहरी जवान
उस्को ईन्स्पेक्टर अगाडि हुँदाजस्तो सदाबहार हुनेभए
प्रहरी डिपार्ट उभो लाग्ने थियो ।
तर प्रहरीको उच्च कमान्डरले पनि
मेरै आखाँ अगाडी अख्तियार को हाकिम छ सोच्नुपर्छ
अनि पो पुलिस अधिकृतहरु अनुसन्धानमा दृण हुन्छन्
सुरक्षा त्यसै कहाँ उभो लाग्छ ?
एउटा शिक्षक
उस्को हेडसर अगाडि हुँदाजस्तो क्रियाशील हुनेभए
विद्यालय जीवन उभो लाग्ने थियो
तर हेडसरले पनि
विद्यालय व्यवस्थापन समितिसँग मिलेर
आँखा झिमिक माल गायब गर्नु हुँदैन
अनि पो स्कूलमा एउटा पारदर्शिताको वातावरण बन्छ
र सबैले होस्टेमा हैसें गर्छन्
त्यसो गरे पो सबैको उज्वल जिन्दगी निर्माण हुँदै जाला
नभए शिक्षालय त्यसै कहाँ उभो लाग्छ ?
एउटा कामदार
उस्को मालिक अगाडि हुँदाजस्तो श्रममा खटिने भए
देश उत्पादनमा उभो लाग्ने थियो
तर मालिकले पनि
उस्लाई दास सम्झेर तोरी पेले जस्तो पेल्नु हुँदैन
उचित ज्यालादारीले सम्मान गर्नुपर्छ
अनि पो श्रमिक वर्ग उत्पादनको आन्दोलनमा उभिन्छ
नत्र शोषण र दमन गरेको आरोपमा
सम्भ्रान्तहरुको काल बनेर उभिन्छ दासताको पाखुरा
उत्पादन त्यसै कहाँ उभो लाग्छ ?
एउटा स्वास्थ्यकर्मी
उस्को डाक्टर अगाडी हुँदाजस्तो स्वास्थ्यलयमा ब्यस्त हुनेभए
मधौरुहरुले धेरै दुख्नु पर्ने थिएन
तर अस्पतालले पनि औषधो उपचारका नाममा उस्को
उठीबास लगाउनु हुँदैन
र पो सन्च भएर ऊ उभो लाग्छ
ऊ निको भएर जादाँ खान मन लागेको सम्म खान नसक्ने
सुकुम्बासी बनाइदिएपछि
उस्ले बरु उतैको बाटो लगिदिएको भएपनि हुने भन्दै
पुर्पुरोमा हात लगाउने वातावरण को अन्तय भए
स्वास्थलयको जीवन सार्थक हुनेथियो
नत्र स्वस्थताका साथ बाँच्न पाउने अधिकार बोकेका
नागरिकको दैनिकी त्यसै कहाँ उभो लाग्छ ।
एउटा कार्यकर्ता
उस्को नेताको अगाडि जस्तो बफादार हुनेभए
गाउँमा सियो बन्ने थियो ,
सलाईको काटी बन्ने थियो
चक्लेट बन्ने थियो
नुन र सुन उत्खनन हुने थियो
तेल र ग्यास उत्खनन हुने थियो
अनि पो देश उभो लाग्ने थियो
तर यहाँ त नेताले उध्यमशीलता शीर्षकको बजेट
बाटोमा ल्याँउदाल्याँउदै खोलाले झोला बगाइदिन्छ !
फेरि औद्योगिक क्रान्तिका हुइयाँहरु चुनाबअघि कुब्भकर्ण भइदिन्छन्
सबैलाई जागृत गराउने स्कुलिङ भइदिए
अनि कसैले कहिंकेहि नबिराए त हामी उभो लाग्ने थियौ
हाम्रो नवपुस्ता उभो लाग्ने थियो
देश त्यसै कहाँ उभो लाग्छ ?
-पाख्रिबास, धनकुटा



