धनकुटाको महालक्ष्मीमा नेपाली कम्युनिष्ट पार्टीको नगर समिति गठन, संयोजकमा मगर
धनकुटा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) महालक्ष्मी नगर समितिको एकता बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। बुधबार सम्पन्न बैठकबाट संयोजकमा पदम रखाल मगर र सह- संयोजकमा लोक नेपाल, लाल बहादुर महतरा, रिस्ता गुरुङ, दुर्गा भूजेल र बिक्रम तिगेला सहित ९९ सदस्यीय नगर कमिटीको घोषणा गरिएको थियो।
नेकपाका केन्द्रीय सदस्य तथा धनकुटा जिल्ला इन्चार्ज धर्मराज पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा प्रदेश सदस्य एवं नेकपा महालक्ष्मी नगर सह- इन्चार्ज द्वय हर्कजंग बुढाथोकी र सानु कार्की बस्नेतको उपस्थिति रहेको थियो । बैठकको अध्यक्षता नगर संयोजक पदम रखाल मगरले गर्नु भएको थियो भने संचालन लोक नेपालले गर्नु भएको थियो।
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) लगायत बामपन्थी घटकको गत २०८२ कार्तिक १९ मा पार्टी संयोजक क.पुष्प कमल दाहाल “प्रचण्ड” र सहसंयोजकमा क. माधवकुमार नेपाल रहने र चुनाव चिन्ह “तारा” रहने गरी एकिकरण भै नेपाली कम्युनिष्ट पार्टीको गठन भएको थियो।
नेकपाले एकताको संदेश पार्टी पङ्क्ति र जनस्तरमा प्रवाह गर्न र संगठन सुदृढीकरण गर्न एकता बैठक तथा प्रशिक्षण कार्यक्रम गरिएको भनी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश कमिटी सदस्य एवं महालक्ष्मी नगर सह- इन्चार्ज क. सानु कार्की बस्नेतले जानकारी दिनुभएको छ।
उहाँले केन्द्रीय समिति बैठकबाट पार्टी नियमावली, पार्टीको आचार संहिता-२०८३ जारी भएको र हाल पार्टीको अनलाइनबाट वडास्तर समेतमा सदस्यता नवीकरण तथा वितरणको कार्य समेत भइरहेको जानकारी दिनुभयो।

