उत्कृष्ट अंक ल्याएर एसइई उत्तीर्ण गर्ने छात्र/छात्रालाई छात्रवृत्ति
खोटाङ, २ भदौ । बौद्धिक समूह नेपाल (आइसिएन) काठमाडौंले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारस्थित च्यास्मीटार माविबाट उत्कृष्ट अंक ल्याएर एसइई उत्तीर्ण गर्ने दुई विद्यार्थीलाई छात्रवृत्ति उपलव्ध गराएको छ ।
बौद्धिक समूह नेपालले २०७८ सालमा च्यास्मीटार माविबाट उत्कृष्ट अंक ल्याएर एसइई उत्तीर्ण गर्ने छात्रा जीवना राई र छात्र दिलीप राईलाई कक्षा ११ अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको हो । छात्रवृत्ति पाएपछि जीवना धरानको पव्लिक मावि र दिलीप दिक्तेलको सरस्वती माविमा कक्षा ११ मा भर्ना भएका छन् । दुवैले व्यवस्थापन विषय अध्ययन सुरु गरेको बौद्धिक समूह नेपालका अध्यक्ष भविन्द्रकुमार राईले बताए । उत्कृष्ट अंक, जेहेन्दार, लगनशील र आर्थिक अवस्थालाई मध्यनजर गर्दै उनीहरूलाई छात्रवृत्तिका लागि छनाेट गरिएको हो ।
चिकित्सकविहीन मुगुमा प्रतिष्ठानले पठायो विशेषज्ञ
कर्णाली, २ भदौ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एक वर्षदेखि चिकित्सकविहीन मुगुमा विशेषज्ञ डाक्टर पठाएको छ । विशेषज्ञ चिकित्सक अभावका कारण मुगुका सुत्केरीले सास्ती भोग्दै आएका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा मङ्गल रावलका अनुसार डा जीतेन्द्र कँडेलले छोडेपश्चात् प्रतिष्ठानले पठाएका विशेषज्ञ डा सिद्धार्थ खातीले दुई वर्ष सेवा दिनुभएको थियो । उहाँले छोडेपछि विशेषज्ञ चिकित्सकविहीन मुगुका बिरामी मारमा परेका थिए ।
डा रावलले भन्नुभयो, “अस्पताल चिकित्सकविहीन हुँदा त्यहाँका सात सुत्केरीलाई हेलिकप्टरबाट बाहिर पठाउनु प¥यो । यही समस्या समाधानका लागि स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसी, स्वास्थ्य सचिव डा रोशन पोख्रेल, प्रजिअ रोमबहादुर महतलगायतको पहलमा बुधबार डा सुरेन्द्र शाक्यलाई पठाएर सेवा दिन थालिएको छ ।”
डा शाक्यको उपस्थितिले आकस्मिक र जटिल खालका रोगको उपचारका लागि हेलिकप्टरबाट उद्धार गर्नुपर्ने सङ्कट हट्ने उहाँले बताउनुभयो । उपकुलपति डा रावलका अनुसार प्रतिष्ठानका बायोमेडिकल इञ्जिनियर अर्जुन सिंह नेतृत्वको टोलीले बुधबार नै जिल्ला अस्पतालका सम्पूर्ण उपकरण मर्मतसम्भार थालेको छ ।


