खेल सामग्री अभावले थलिएको मोफसलको फुटबल

विवेक मिश्र/बेलबारी, १७ भदौ । नेपाली खेलकुद, त्यसमा पनि फुटबल राजधानी काठमाडौँकै सेरोफेरोमा घुमिरहेको छ । फुटबलको क्रेज भने मोफसलमा नै बढी देखिन्छ । मोफसलमा खेल मैदान जताततै छन् । मैदान देखेरै खेलाडी उत्साहित भए पनि खेल सामग्री अभावमा उनीहरु बिचलित भएका छन् ।

प्रशिक्षण, खेल सामग्री र प्रतियोगिता राजधानी केन्द्रित छ । राज्यको लगानी पनि काठमाडौँ केन्द्रित छ । तर मोफसलले हिम्मत हारेको छैन । प्रतियोगिता आयोजनामा पछि हटेको छैन मोफसल । खेलाडी पर्याप्त मात्रामा उत्पादन भइरहेका छन् । मोरङको बेलबारीमा मात्रै तीन ठूला फुटबल प्रतियोगिता सञ्चालन हुँदैआएका छन् । सङ्घीय सरकारले खेलकुदमा गरेको लगानी बेलबारीसम्म नआइपुगे पनि स्थानीयस्तरबाटै प्रतियोगिता गर्न लगानी भइरहेको छ ।

मोरङबाट उत्पादन भएका फुटबल खेलाडी रजीन धिमाल, आशिष चौधरी र विकास खवास हाल राष्ट्रिय टोलीमा आवद्ध छन् । मोरङ जिल्ला फुटबल सङ्घका अध्यक्ष सञ्जीव बुढाथोकीका अनुसार फुटबलमा आकर्षण बढ्दै गएको छ । “स्थानीय फुटबल क्लब र स्थानीय तहबीच प्रतियोगिताका लागि समन्वय हुँदैआएको छ”, उहाँले भन्नुभयो । जिल्ला फुटबल सङ्घ आर्थिकरुपमा कमजोर भएकाले स्थानीय खेलाडीको चाहनाअनुसार पर्याप्त खेल सामग्री उपलब्ध गराउन नसकिएको उहाँले बताउनुभयो ।

बुढाथोकीले भनेजस्तै खेलाडी पनि पर्याप्त खेल सामग्री अभाव रहेका बताउँछन् । बिहीबार लक्ष्मीमार्गस्थित खेलमैदानमा जुनियर खेलाडीलाई प्रशिक्षण दिँदै गरेका एनआरटी फुटबल क्लबका विक्रम धिमालको गुनासो थियो, “पर्याप्त खेल सामग्री पाए दक्ष खेलाडी उत्पादनमा समस्या हुने थिएन ।”

बेलबारीको लक्ष्मीमार्ग क्षेत्रलाई आधार मानेर डाँगीहाट युथ क्लब स्थापाना भएको छ । भाउन्ने क्षेत्रलाई आधार मानेर डाँगीहाट फुटबल क्लब तथा बेलबारी बजार क्षेत्रमा बेलबारी फुटबल क्लब छ । राधानगरमा एम्ब्रियो युवा क्लब खेल गतिविधिमा सक्रिय छ । पर्याप्त स्रोत साधनको अभावमा गोल्डकपको आयोजना गर्नु र एकेडेमी सञ्चालन गर्नु अत्यन्तै चुनौतीपूर्ण काम भएको डाँगीहाट फुटबल क्लबका अध्यक्ष छत्र लिम्बू बताउनुहुन्छ ।

विसं २०७० मा स्थापना भएको डाँगीहाट युथ क्लबले हालसम्म लक्ष्मी माविको खेलमैदानमा चार गोल्डकप भव्यरूपमा सम्पन्न गरिसकेको छ । क्लबका अध्यक्ष विक्रम बान्तवाका अनुसार एन्फा तथा जिल्ला खेलकुदबाट सहयोग प्राप्त भइरहेको छ । बेलबारी–११ स्थित खेलमैदानमा यसअघि राष्ट्रिय लिगअन्तर्गतका पाँच खेल भइसकेका छन् । प्रदेश नं १ स्तरीय महिला फुटबल, जिल्लास्तरीय प्याब्सन र जिल्लास्तरीय एनप्याब्सन खेल प्रतियोगिता पनि यही खेलमैदानमा सम्पन्न भएका छन् । प्रदेशका खेलमैदानमा राष्ट्रिय प्रतियोगिता गर्न सकिने मोरङ जिल्ला खेलकुद विकास समितिका पूर्व कोषाध्यक्ष सुजय गौतम बताउनुहुन्छ ।

विसं २०६६ मा स्थापना भएको डाँगीहाट फुटबल क्लब छोटो समयमै मोफसलमा आफ्नो छाप छाड्न सफल भएको छ । क्लबले तीन गोल्डकप सम्पन्न गरिसकेको छ । गोल्डकप सँगसँगै करिब एक दशक अघि सोही खेलमैदानमा राष्ट्रिय टोलीविरुद्ध मोरङ–११ को खेल भएको थियो । तेह्रवर्षे दौरानमा पाँचथर, झापा, मोरङ, सुनसरीलगायत ठाउँमा करिब ५० प्रतियोगिता जितिसकेको क्लबका अध्यक्ष छत्र लिम्बू बताउनुहुन्छ ।

बेलबारीकै बजार क्षेत्रलाई आधार बनाएर फुटबल गतिविधिलाई केन्द्र बनाइराख्ने अर्को क्लब हो बेलबारी फुटबल क्लब । त्यसैगरी उर्लावारीस्थित उर्लाबारी फुटबल क्लब, सम्राट स्टोटिङ क्लब, युनाइटेड युथ क्लब, मोतीराम स्पोर्टिङ क्लब, नव प्रगतिशील समाजसेवा क्लब जहदा, हरैचा स्पोर्टिङ क्लब, चारतारे युवा क्लब लेटाङ र साइनो स्पोर्टिङ गरी १० क्लब ए डिभिजन छनोट खेल्ने क्लब हुन् भने रानी युवा क्लब, त्रिवेणी युवा क्लब, एम्रियो युवा क्लब र रमाइलो युवा परिवार बी डिभिजन छनोट खेल्ने क्लबका रुपमा परिचित छन् ।

बेलबारी–८ राधानगरस्थित एम्ब्रियो फुटबल एकेडेमीमा हाल ५० विद्यार्थी रहेका छन् । रविन थापा सञ्चालक रहेको उक्त एकेडेमीको प्रगति पनि लोभलाग्दो छ । एकेडेमीमा पोशाकलगायत खेलाडीलाई चाहिने सामग्री निःशुल्क उपलब्ध गराउँदै आएको क्लबका अध्यक्ष रविन थापा बताउनुहुन्छ । “खेलकुदमा छुट्याइएको बजेटबाट देशलाई राम्रै उपलब्धि हासिल हुन्छ भनेर बुझ्न आवश्यक छ”, उहाँले भन्नुभयो । त्यसो त खेलकुद राष्ट्रिय एकताको विषय हुनाका साथै देशको सम्मान र गौरव बढाउने विषयसमेत हो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।