उखु किसानले अझै पाएनन् अनुदान रकम

सर्लाही, २५ भदौ । सर्लाहीका उखु किसानले समयमै अनुदानको रकम पाउन नसक्दा मर्कामा परेका छन् । जिल्लामा एकमात्र नगदे बालीको उखुखेती लामो समयदेखि गर्दै आएका किसानलाई सरकारले अनुदान दिने घोषणा गरे पनि राज्यबाट पाउनुपर्ने अनुदान रकम समयमा सरकारले भुक्तानी नपठाउँदा किसान मर्कामा परेका हुन् ।

जिल्लामा सञ्चालित केही उद्योगले किसानलाई उखु खरिद गरेको रकम भुक्तानी दिएको भए पनि केही उद्योगले किसानको उखु खरिदवापतको रकम नदिएको भन्दै जिल्लाका किसान आन्दोलनमा जानुपरेको थियो । आन्दोलित किसानका माग पूरा गर्न प्रशासनको पहलमा केही रकम भुक्तानी भएको जिल्लाका उखु उत्पादक किसान रामेश्वर महतोले बताउनुभयो । उहाँका अनुसार जिल्लाका केही उद्योगले किसानको रकम समयमै भुक्तानी गरे पनि केही उद्योगले रकम भुक्तानी नगर्दा आफूहरूले पटक–पटक आन्दोलन गर्नुपरेको बताउनुभयो ।

उद्योगहरूले दिने रकम किसानको आन्दोलन, सरोकारवाला निकायको पहलबाट रकम उठ्ने क्रम जारी रहेको भए पनि सरकारले दिने अनुदान रकम नपाउँदा आफूहरू मारमा परेको उखु उत्पादक किसान रामकेशव साहले बताउनुभयो । गत वर्ष उखु बेचेका उखु किसानले हालसम्म पनि अनुदान रकम भुक्तानी नपाउँदा घर–व्यवहार चलाउन गाह्रो भएको जिल्लाका किसानको गुनासो छ ।

नेपाल सरकारले दिने भनेको अनुदानको रकमसमेत समयमा उपलब्ध नगराउँदा किसानलाई मल तथा उखुखेतीका लागि आवश्यक सामग्री बजारबाट खरिद गर्न समस्या परेको नेपाल उखु उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष कपिलमुनी मैनाली बताउनुहुन्छ ।

गत आर्थिक वर्षका लागि नेपाल सरकारले उद्योग र किसान प्रतिनिधिबीच भएको सहमतिअनुसार उद्योगले प्रतिक्विन्टल रु पाँच सय २० र नेपाल सरकारले रु ७० अनुदान रकम दिने सहमति भएको तर रकम पाउन नसकेको उखु किसान राजकुमार उप्रेतीले बताउनुभयो ।

यता चिनी उद्योगीले समयमा किसानको उखु बिक्रीको तथ्याङ्क उपलब्ध नगराएकाले किसानको खातामा पैसा पठाउन नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीका प्रमुख कोष नियन्त्रक जीवन पुरीले बताउनुभयो । उहाँले उद्योगीलाई चाँडै किसानले उखु बिक्रीको तथ्याङ्क पठाउन ताकेता गरिएको र उद्योगले तथ्याङ्क पठाएलगत्तै अनुदान रकम पठाउने प्रक्रिया अघि बढाइने बताउनुभयो ।जिल्लामा तीनवटा उखु मिल रहेका छन् । जसमा इन्दुशङ्कर चिनी उद्योग हरिवनले सबै रकम भुक्तानी गरिसकेको छ भने महालक्ष्मी सुगर मिल र धनकौल सुगर मिलले भुक्तानी गर्न बाँकी नै रहेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।