पूर्वको प्रसिद्ध त्रिपुरेश्वर महादेवको संरक्षण थालियो

युवराज विष्ट/भोजपुर, २५ भदौ । प्रसिद्ध धार्मिकस्थल त्रिपुरेश्वर महादेवको संरक्षण थालिएको छ । पूर्वको पशुपति भनेर चिनिएको तथा खोटाङ हलेसीको दोस्रो स्वरुपको पहिचान बनाएको भोजपुरको पौवादुङमा गाउँपालिका–१ तिलाहरमा रहेको त्रिपुरेश्वर महादेवस्थल संरक्षणविहीन बनेकाले स्थानीयवासी संरक्षणमा जुटेका हुन् ।

बयालीस वर्षअघि अर्थात् विसं २०२८ मा उत्पत्ति भएको यो देवस्थल अहिले संरक्षण र प्रचार–प्रसारको पर्खाइमा छ । विगतका दिनमा संरक्षण नहुँदा हसेलीको जस्तै गुफाभित्रका ढुङ्गामा देवताको अनेक रूप देख्न सकिने यो स्थानबाट अहिले कतिपय मूर्ति हराइसकिएका छन् । यहाँ शिव, पार्वती, राम, सीता, हनुमान, गौरी, गणेशलगायत देवताको मूर्तिसँगै आश्चर्यको गुफासमेत छ ।

करिब दुई रोपनी क्षेत्रमा फैलिएको यो देवस्थलको संरक्षण गर्न अहिले स्थानीय जनता जागरुक भएका छन् । स्थानीय युवा योगेश श्रेष्ठ र प्रमेश तामाङले आफ्नो व्यक्तिगत खर्चमा शिवको मूर्ति र १० फुटको त्रिशूल राख्नुभएको छ ।

त्यस्तै उहाँहरूकै पहलमा चन्दा सङ्कलन गरेर रु ८० हजारको लागतमा घण्टी र रु २४ हजारको लागतमा चन्दा बाकस राखिएको छ । चन्दा सङ्कलनबाट नै मन्दिरसम्म पुग्नका लागि बाटो निर्माण गरिएको संरक्षणको अगुवाइ गरिरहनुभएका युवक श्रेष्ठले जानकारी दिनुभयो । अहिले पनि विभिन्न निकाय तथा व्यक्तिबाट सहयोग सङ्कलन गर्ने काम जारी रहेको उहाँले बताउनुभयो ।

स्थानीयवासीले विभिन्न निकायबाट सहयोग सङ्कलन गरेर मन्दिर निर्माण गरेका छन् । युवाहरूले पहल थालेपछि यहाँ पौवादुङमा गाउँपालिका–१मा श्यामशिलको रु चार लाखको लागतमा मन्दिर निर्माण गरिएको छ । श्रेष्ठले भन्नुभयो, “हामी दुई जनाले व्यक्तिगतरूपमा रु एक लाख ५० हजारभन्दा बढीे सहयोग गरेका छौँ । अहिले हामीले यसको संरक्षणका लागि काठमाडौँमा पनि अभियान चलाएका छौँ । विभिन्न क्षेत्रबाट सहयोग सङ्कलन गरेर घण्टी र दान पेटिका स्थापना गरेका छौँ ।”

हलेसीमा झै गाईका थुनजस्तो देखिने ढुङ्गाका आकृति, नागका चित्र, हात्तीको चित्र, दियो, ढुङ्गामा कुँदिएको अवस्थामा फेला परेको र गुफाभित्र पोखरीसमेत रहेको ९२ वर्षीय स्थानीयवासी गङ्गाबहादुर श्रेष्ठले बताउनुभयो । “यसलाई हलेसीको अर्काे स्वरुपले पनि चिनिन्छ”, उहाँले भन्नुभयो, “उत्पत्ति गर्ने व्यक्तिहरूको देहवसान भएपछि यसको संरक्षण भएन । गुफाभित्र रहेका कतिपय मूर्ति हराए । कति तोडफोड भए । अहिले भने संरक्षणको काम भइरहेको छ ।”

यहाँ दर्शन गरे सन्तान नहुनेको सन्तान प्राप्ति हुने, सोचे–चिताएको पुग्ने धार्मिक विश्वास रहेको बृद्ध श्रेष्ठले जानकारी दिनुभयो । कुनै बालबालिकाको बोली नआएमा यहाँ ल्याएर दर्शन गराए वाक्य आउनेसमेत उहाँले बताउनुभयो । “यहाँ आएर दर्शन गरे धेरै कुरा पूरा हुने धार्मिक विश्वास छ । चार दशक अघिसम्म यहाँ दर्शन गर्नुहुने बृद्ध श्रेष्ठले भन्नुभयो ।

यहाँ वर्षमा तीनपटक रामनवमी, बालाचतुर्दशी र शिवरात्रिमा सात दिनसम्म भव्य मेला लाग्ने गरेको अर्का वृद्ध केशरबहादुर श्रेष्ठले बताउनुभयो । तत्कालीन माओवादी द्वन्द्वकालका बेलामा अधिकांश स्थानीयवासीले बसाइँसराइ गरेपछि यो स्थल संरक्षणविहीन बनेको उहाँको भनाइ थियो ।

“धेरै अघिसम्म यो त्रिपुरेश्वर महादेवस्थल देशमा कहलिएको देवस्थल थियो । यहाँ वर्षमा तीनपटक भव्य मेला लाग्थ्यो । विभिन्न काल परिस्थितिले यो ठाउँ अहिले आझेलमा प¥यो, संरक्षण भएन । अहिले कतिपय गुफाका प्वाल थुनिएका छन्”, श्रेष्ठले भन्नुभयो, “यहाँ देशभरका साथै भारतबाट समेत मानिस दर्शन गर्न आउँथे । सात दिनसम्म त मेला नै लाथ्यो ।” अहिले विगतका दिनमा लगाएको ढोका तथा गेटहरू भत्किएका छन् । देवस्थलको घेराबारा नहुँदा यहाँका विभिन्न ठाउँमा क्षति पुगेको छ ।

विसं २०२८ मा यहाँका इच्छाबहादुर श्रेष्ठ र धनपाल तामाङले त्रिपुरेश्वर महादेवको उत्पत्ति गराएको मन्दिरका पुजारी रितबहादुर श्रेष्ठले बताउनुभयो । विसं २०३६ सम्म यहाँ नेपालका विभिन्न ठाउँसँगै भारत तथा अन्य मुलुकहरूबाटसमेत धार्मिक पर्यटक आउने गरेको पुजारी श्रेष्ठले बताउनुभयो ।

यहाँको झाराली गुफाभित्र प्राकृतिकरूपमा बनेका दियो, नागको चित्र, गाईको थुनबाट दूध आउने स्थान, पोखरीसँगै ५० जनासम्म बस्न मिल्ने ठाउँ रहेको र हलेसीको जस्तै पापद्वार र धर्मद्वार पनि रहेको पुजारी उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, “यहाँ हलेसीको जस्तै देवी–देवताका मूर्ति छन् । कतिपय ठाउँका गुफा २०७२ को भूकम्पका कारण थुनिएको छ । भित्र पोखरी छ । तर संरक्षण र प्रचारको अभाव यो स्थान पछिल्लो समय ओझेलमा प¥यो ।”

यस स्थलको विकासका लागि स्थानीयवासीले संरक्षण समिति गठन गरेर काम गरिरहेको बताए । आफँैले पैसा सङ्कलन गर्दै वडा कार्यालय तथा गाउँपालिकाबाट बजेट माग गरेर संरक्षणको काम थालिएको संरक्षण समितिका अध्यक्ष सीताराम श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले हामी युवाहरूको अगुवाइमा संरक्षणको काम थालेका छौँ । कतिपय पुराना संरचना बिग्रिएका छन् ।” थप संरक्षण गर्नका लागि यस वर्ष गाउँपालिकाले रु पाँच लाख बजेट विनियोजन गरेको थियो।

जीर्ण अवस्थामा पुगेको यो स्थानको संरक्षणसँगै प्रचार–प्रसार गर्न सके धार्मिक पर्यटक भित्र्याएर राम्रो आम्दानी लिन सकिने अर्का स्थानीयवासी वीरबहादुर तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ यति ठूलो देवस्थल छ । यसको संरक्षणसँगै प्रचार–प्रसारमा कसैको ध्यान गएन । यसलाई देश–विदेशमा चिनाउन सके फूल बेचेर नै यहाँका स्थानीयवासीले गुजारा गर्न सक्थे ।

यो स्थल संरक्षणका लागि घेराबारा गर्न, गुफामा बत्ती जडान गर्न र पानीको धारासँगै अन्य आवश्यक संरचना निर्माण गर्न रकमको आवश्यकता भएको स्थानीयवासीले बताए । यस्ता संरचनाको संरक्षण तथा विकासमा सरकारको सहयोग हुनुपर्ने उनीहरूको माग थियो । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।