‘टिस्यु कल्चर’ प्रविधिमा केरा किसान आकर्षित

झलनाथ खनाल/भजनी २९ भदौ (रासस) ः कैलालीको टीकापुर क्षेत्रमा ‘टिस्यु कल्चर’ प्रविधि भित्रिएपछि केरा खेति ‘हब’को रुपमा बिकसित हुदै गएको छ । पछिल्लो समय केरा खेतीका महत्वपूर्ण क्षेत्रको रुपमा बिकासहुँदै गएको टीकापुर क्षेत्रमा किसानले ‘टिस्यु कल्चर’ प्रविधिका बिरुवा लगाउन थालेपछि केरा खेति हबको रुपमा बिकसित भएको हो । ल्यावमा उत्पादन हुने ‘टिस्यु कल्चर’ प्रबिधिका बिरुवाले केरा उत्पादनमा वृद्धि हँुने भएपछि किसानहरु त्यस्तो प्रबिधिमा आकर्षित भएका हुन् ।

राष्ट्रिय गौरवको आयोजना रानी, जमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन इकाईले केरा किसानहरूलाई अनुदान कार्यक्रममा सहयोग पुर्याउदै आएको छ । अनुदान कार्यक्रमबाट किसानलाइ ‘टिस्यु कल्चर’ पबिधिका केराका बिरुवा स्थानीयस्तरमा पाउन थालेपछि यसको खेतीमा किसानहरुको थप आकर्षण बढ्दै गएको छ । केरा खेतीका लागि प्रख्यात रहेको टीकापुर क्षेत्रमै ‘टिस्यु कल्चर’ प्रविधिका बेर्नाहरु सहज रुपमा पाउन थालेपछि यहाँका किसानलाई सहज भएको छ । टीकापुरका केरा किसान टेकेन्द्र धामीले पाँचवर्ष पहिलेबाट ‘टिस्यु कल्चर’ प्रविधिबाट उत्पादित बिरुवाका लागि हाइटेक नर्सरी निर्माण गर्नु भएको छ । उक्त नर्सरीबाट उत्पादित बिरुवा टीकापुर लगायत नेपालका विभिन्न क्षेत्रमा बिक्रिवितरण हुने गरेको छ । “मैले सुरु गर्दा नवलपरासीसम्म बिरुवा निर्यात गरेको थिए ।,” व्यवसायी धामीले भन्नुभयो, “अहिले ‘टिस्यु कल्चर’ प्रविधिबाट केराको बिरुवा उत्पादन अन्य ठाउँमा पनि सुरु भएपछि निर्यात घटेको छ ।”

के हो टिस्युकल्चर प्रविधि?

‘टिस्यु कल्चर’ एउटा स्वास्थ्य विरुवाको निकै सानो कोष (सेल) बाट हजारौं विरुवा निकाल्न सकिने अत्याधुनिक प्रविधि हो । कुनै पनि स्वास्थ्य विरुवाको डाँठबाट सानो कोष निकालेर हाइटेक ल्यावमा बायोटेक इञ्जिनियर (प्राविधिक) ले विरुवा उत्पादन गर्दछन् । एउटा कोषलाई हाइटेक ल्यावमा नियमित ‘केमिकल’ को प्रयोग गरेर हुर्काउँदै साना साना कोषहरूमा विभाजन गरेर हजारौं विरुवा उत्पादन गर्न सकिने धामी बताउनुहुँन्छ ।

विरुवाको कोषलाई हुर्काउन एउटा ल्यावमा ६ महिनासम्म लाग्दछ । वातावरण सुहाउँदो बायोटेक नर्सरीमा ल्यावबाट निकालेर झण्डै ३ महिनासम्म विरुवा हुर्काइन्छ । तीन महिनासम्म ल्यावमा हुर्किएको विरुवालाई जहाँको माटोको लागि तयार गरिएको हो, त्यही ठाउँमा ‘ग्रिनहाउस’ निर्माण गरेर राख्ने गरिन्छ ।

झण्डै तीन महिना ‘ग्रिनहाउस’ नर्सरीमा हुर्किएपछि मात्र यो विरुवा रोप्नका लागि तयार हुन्छ । कृषि विज्ञ तथा रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख गोविन्दराज जोशीका अनुसार ‘टिस्यु कल्चर’ विरुवा रोप्नका लागि तयार हुन झण्डै एक वर्ष लाग्छ ।

“अत्याधुनिक बायोटेक ल्यावभित्र नियमित केमिकलको सहायताले हुर्किने हुनाले एक वर्षमा बिरुवा रोप्नको लागि तयार हुन्छ ।” जोशीले भन्नुभयो, “नर्सरीमै निकै सजगताका साथ हुर्किने हुनाले ‘टिस्यु कल्चर’ विरुवा अन्यको तुलनामा रोग कम लाग्ने, फल बढी दिने, रोगसँग लड्ने क्षमता बढी हुने हुन्छ । त्यसकारण पनि किसानको यस खालको प्रबिधिबाट केरा खेतिमा आकर्षण बढ्दै गएको देखिन्छ ।”

यसरी ‘टिस्यु कल्चर’ प्रबिधिबाट हुर्किएको विरुवालाई विभिन्न देशहरुमा पु¥याउन सजिलो हुन्छ । निकै सानो आकारमा विरुवा रहने भएकाले ढुवानीमा सजिलो हुने इकाई प्रमुख जोशी बताउनुहुँन्छ । केरा मात्र नभई फलफूलका अन्य विरुवाहरु समेत ‘टिस्यु कल्चर’ प्रविधिबाट उत्पादन गर्न सकिने जोशी बताउनुहुँन्छ ।

टीकापुरमा कसरी सुरु भयो ‘टिस्यु कल्चर’ बिरुवा ?

उन्नत बीउ अभावका कारण अपेक्षा अनुसार केराखेती फस्टाउन नसकेपछि टीकापुर नगरपालिका वडा नं. ४ का केरा किसान टेकेन्द्र धामीले केराको बिरुवा उत्पादनलाई प्राथमिकता दिनुभयो । सिँचाइ आयोजनाको समन्वयमा धामीले भारतको गुजरात स्थित अहमदाबादको एबीसी बायोटेक्नोलोजी कम्पनीबाट ‘टिस्यु कल्चर’ प्रविधि सम्बन्धी तालिम लिएर फर्केपछि यस प्रविधिबाट केराको बेर्ना उत्पादन सुरु गर्नुभएको हो । तालिम पश्चात आयोजनाले हाइटेक नर्सरी निर्माणका लागि ५० प्रतिशत अनुदानमा धामीले ‘टिस्यु कल्चर’ बिरुवा उत्पादन शुरु गर्नु भएको थियो ।

धामी आफूले यस क्षेत्रमै पहिलो पटक ‘टिस्यु कल्चर’ प्रविधिको बेर्ना बिरुवा लगाएको दाबी गर्नुहुन्छ । केराको बिरुवा उत्पादन सुरु गरेका धामीको आम्दानी मात्रै राम्रो छैन, उहाँले स्थानीय स्तरमै बिरुवा उपलब्ध गराउँदा कैयौं युवाहरु केरा खेतीमा आकर्षित भएका छन् । “पहिले ‘टिस्यु कल्चर’ प्रविधिबाट केरा खेती हुन्थेन, अहिले निकै लोकप्रिय बनेको छ,” धामीले भन्नुभयो, “यो वर्ष रु. दुई लाखपचास हजार बेर्ना बिक्री गरेका थियौं ।”

धामीका अुनसार अत्याधुनिक ल्यावबाट उपचारपछि उत्पादन गरिएका केराका बिरुवा रोग कमलाग्ने, रोगसँग लड्ने क्षमता बढी हुने, एकैनासको उत्पादन दिने हुनाले किसानको आकर्षण बढ्दै गइरहेको छ ।

‘टिस्यु कल्चर’ प्रविधिबाट उत्पादन गरिएको विरुवामा रोगसँग लड्ने क्षमता बढी हुँदा केराको उत्पादकत्व वृद्धि हुनाले यो प्रविधिमा किसानको निकै आकर्षण बढदै गएको केरा व्यवसायी हिक्मत विश्वकर्मा बताउँनुहुन्छ । नर्सरीले उत्पादन गरिरहेका ‘विलयम’ र ‘जीनाइन’ जातका केरा कम समय र लगानीमा धेरै उत्पादनहुने गरेको केरा किसानहरु बताउँछन् ।

“‘टिस्यु कल्चर’ प्रबिधिका विरुवाबाट छोटो समय र थोरै लगानीमा राम्रो उत्पादन पाएका छौं, केरा व्यवसायीकालागि यो प्रविधिनिकै लोकप्रियनै बन्यो,” केरा व्यवसायी विनोद शाहले भन्नुभयो । “‘टिस्यु कल्चर’ प्रविधि भित्रिएसँगै यस क्षेत्रमा केरा किसानहरुको संख्या समेत थपिँदै गएको छ ।” कृषि कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख गोविन्दराज जोशीले भन्नुभयो, “टीकापुरको हकमा यो प्रविधि भित्र्याउन आयोजनाले किसानलाई अनुदान समेत दिँदै आएका छौं ।” आयोजनाले किसानहरुलाई केराको बेर्ना खरिदमा ५० प्रतिशत अनुदान समेत प्रदानगर्दै आएको इकाइ प्रमुख जोशी बताउनुहुन्छ । उहाँले आयोजनाले टीकापुरलाई केरा खेतीको हवको रुपमा विकास गर्नकै लागि वार्षिक अनुदानदिँदै आएको बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖